काठमाडौं- ठाउँको नाममा मात्रै सीमित छैन चितवनको बाँदरझुला। ३१ वर्षदेखि बाँदरझुलाका स्थानीयको जिन्दगी पनि झुलिएको छ। आफूले कमाएको जग्गाको लालपुर्जा पाउन उनीहरुले वर्षौंदेखि संघर्ष गर्दै आए पनि हातलाग्यो शून्य। ३१ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा माग गर्दै आइतबार चितवनको बाँदरझुलाबाट ४० जनाको टोली काठमाडौं आएको छ। लालपुर्जा माग्न आउनेमध्ये एक हुन् ७५ वर्षीय नारायण महतो।
महतोका आँखाले संसार मधुरो देख्न थालेको थुप्रै वर्ष भयो। तर, आफूले दुःख गरी कमाएको जग्गाको लालपुर्जा हातमा नपरेसम्म उनका न आँखा थाक्छन् र ज्यान गल्छ। अक्षर नचिने पनि सरकारको सेतो कागज छाम्न मन छ उनलाई। र त पुसको कठ्यांग्रिँदो जाडोमा वृद्ध शरीर काठमाडौं आइपुगेको छ।
‘मेरो त संसार अनि सपना त्यही बाँदरझुलामै छ। त्यहाँबाट अन्त कहाँ जानु?', उनले भने,‘सरकारले लालपुर्जा थमाए ढुक्कसँग सास जान्थ्यो।’ महतोका शरीर चाउरी परिसकेको छ। तर उनको लालपुर्जा पाउने सपनाचाहिँ बलियो छ। रसाएका आँखाले उनले काठमाडौंको माइतीघर नियालिरहेका छन्। चितवनबाट कहिल्यै काठमाडौं आएका थिएनन् उनी। यसपटक जग्गाधनी बन्ने ठूलो सपना बोकेर काठमाडौं आएको बताउँछन्। माइतीघर मण्डलामा कहिले रुखमा अडेस लाएर उभिन्छन् त कहिल्य थुचुक्क बस्छन् उनी। नागरिकता पनि साथैमा बोकेर ल्याएका छन् महतोले।
चारपाँच कठ्ठा जमिन थियो महतोको। बिस्तारै जमिन खोलाले बगाउँदै लग्यो। अहिले बचेको भनेको घर मात्रै हो। जसका लागि उनी चितवनबाट लालपुर्जा माग्न काठमाडौं आएका हुन्।
‘हामी घर खोजिरहेछौं तिमीहरु बस्ती जलाउँछौं', उनी भन्छन्, ‘हामीलाई टाउको लुकाउन घर अनि आकाश हेर्न जमिन चाहिँदैन?’ अर्काको घरमा काम गर्दागर्दै हातखुट्टा कालाम्मे भएका छन् उनका। जग्गाको लालपुर्जा कस्तो हुन्छ उनलाई थाहा छैन। तर मर्नुअघि लालपुर्जा हेर्न र छुन चाहन्छन् महतो।
बुढेसकालमा उनको दौडधुप एक कठ्ठा जमिनमा बनेको घरका लागि हो। चारपाँच कठ्ठा जमिन थियो महतोको। बिस्तारै जमिन खोलाले बगाउँदै लग्यो। अहिले बचेको भनेको घर मात्रै हो। जसका लागि उनी चितवनबाट लालपुर्जा माग्न काठमाडौं आएका हुन्।
‘भएको एक घरको लालपुर्जा पाए अरुकै घर खेतमा काम गरेर भए पनि गुजारा चलाउँथें, तर यहाँ त न घर आफ्नो रहने भयो न जग्गा’,उनले लामो सास फेर्दै पीडा सुनाए।
चुनाव आउँदा नेताले खुट्टामा ढोगेर तपाईंलाई लालपुर्जा दिलाएरै छाड्छौं भन्ने गरेको तितो विगत उनले धेरैपल्ट भोगेका छन्। लालपुर्जा पाउने आसमा भोट दिएका उनीहरुका सपना सधैंका जसरी निराशामा परिणत भइदिन्छन्। महतोले कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीलाई ५ कक्षा भन्दा बढी पढाउन सकेनन्। उनका तीन छोरा र तीन छोरी छन्।
१ हजार ५ सय रुपैयाँ लिएर आएका महतो 'काठमाडौंको भाडा यति आइतबार साँझ खाना खाएको यति' भन्दै हिसाब गरिरहेका थिए। पैसा सकिएपछि के गर्ने उनी आफैंलाई थाहा छैन। बाँदरझुलाभन्दा काठमाडौंको चिसो बेसी लागेको छ महतोलाई। ‘एक जोरभन्दा बढी कपडा पनि नबोकी आएँ यहाँ त निकै चिसो रहेछ', उनी भन्छन्,‘घर र घरबारै भएन भने कसरी मन शान्ति हुन्छ?’
000
यस्तै पीडा छ गंगामाया तामाङको पनि। ६६ वर्षीया उनी आफूले भोग गरेको जग्गाजमिनको लालपुर्जा पाउनुपर्ने भन्दै माइतीघरमा नारा लगाइरहेकी थिइन्। बाँदरझुलामा उनको करिब छ कठ्ठा जमिन र सानो घर छ। ‘आधा जिन्दगी बाँदरझुलामै बितिगयो अब अन्त कहाँ जानु?' गंगामाया भन्छिन्,‘नदेखिने नसुनिने भगवानका नाममा मन्दिर बनाउँछन् हामीले यति दुःख पाउँदा पनि वास्ता गर्दैनन्।’बाँदरझुलाबासीले निकुञ्ज प्रशासन र सुरक्षा निकायले दिएको दुःख नबुझेको उनको भनाइ छ। ‘भगवानका कुरा सुन्ने सरकारले हाम्रा पीडा सुनेन', गंगामाया भन्छिन्,‘गरिबका कुरा किन कसैले सुन्दैन।’
घरबाट मकैभट्मासको सातु लिएर आएको उनले बताइन्। ‘दुई–तीन माना भट्मास र मकैको सातु लिएर आएकी छु त्यही सातु पानीमा घोलेर खान्छु’,उनले भनिन्। लालपुर्जाका लागि आफूहरुले गर्न सक्ने सबै गरेको भन्दै उनले निकुञ्ज प्रशासन र सुरक्षा निकायले निकै दु:ख दिएको गुनासो गरिन्।
स्थानीय सरकारले अहिले बाँदरझुलाको नाम हनुमानझुला राखेको छ। चितवन राष्ट्रिय निकुञ्जले बाँदरझुलालाई निकुञ्जको मुख्य अतिक्रमित क्षेत्रका रुपमा लिँदै आएको छ। निकुञ्ज भएकै कारण बस्तीसम्म मोटरबाटो र बिजुली छैन। केही महिनाअघि भूमि आयोगले जग्गा वितरण गर्न थाहा पाएपछि बाँदरझुलाबासीले फाराम भरेर वडा कार्यालयमा बुझाए। तर उनीहरुको फाराम माडी नगरपालिकाबाट अघि बढेन।
‘जसको जोत उसको पोत हुनुपर्छ। निकुञ्ज सबैको साझा सम्पत्ति हो हामीलाई पनि यसको माया छ', आचार्यले भनिन्, ‘३१ वर्षदेखि भोग चलन गर्दे आएका छौं अन्त कहाँ जानु?’
लालपुर्जा पाउने आसमा गंगामायाले १७ पटक भोट हालेकी छिन्। उनी भन्छिन्, 'नेताले आश्वासन बाँडे तर चुनावपछि फर्केर पनि हेरेनन्। अब त प्राण जाला तर भोट हाल्दिन।’
बाँदरझुला संघर्ष समितिकी अध्यक्ष शारदा आचार्यका अनुसार बाँदरझुलामा करिब छ सय घरधुरी छ। जहाँ करिब १० हजार जनसंख्या छ। ‘जसको जोत उसको पोत हुनुपर्छ। निकुञ्ज सबैको साझा सम्पत्ति हो हामीलाई पनि यसको माया छ', आचार्यले भनिन्, ‘३१ वर्षदेखि भोग चलन गर्दे आएका छौं अन्त कहाँ जानु?’आफ्ना माग पूरा नभएसम्म बाँदरझुला नफर्किने अध्यक्ष आचार्यले बताइन्।
दशकौंदेखि भूमिहीन बस्नुपरेको, राष्ट्रिय निकुञ्ज प्रशासन र जंगली जनावरबाट निरन्तर हैरानी सहनुपरेको उनले बताइन्। चेपाङ,तामाङ र दलित समुदायको बस्ती रहेको बाँदरझुला एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको ठाउँ भन्दै प्रचार गरेको अयोध्यापुरीबाट करिब दुई घण्टाको दुरीमा छ। आफ्नो घर जग्गा नभएका कारण धेरै हेपाइ सहनुपरेको बाँदरझुलाका स्थानीयको गुनासो छ। अरु त अरु गाडीमा चढ्दा समेत यो त सुकुम्बासी हो भन्दै चढाउनै मान्दैनन् उनीहरुलाई। चढाइहाले पनि पहिल्यै पैसा माग्ने गरेको दु:खेसो गंगामायाको छ।