शुक्रबार, पुस ४, २०८२

खोपपछि प्रमाणीकरणको सास्ती

खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणिकरण। खोप जहाँ लगाए पनि प्रमाणिकरणका लागि टेकु नै जानुपर्छ। अस्पतालका अनुसार दैनिक ५ सयभन्दा धेरै खोपको प्रमाणिकरण भइरहेको छ।
 |  बुधबार, साउन ६, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, साउन ६, २०७८

काठमाडौं– सरकारले यही साउन ४ गतेदेखि देशभर कोरोनाविरुद्धको जोनसन एन्ड जोनसन खोप लगाउन सुरु गरेको छ। एक डोज मात्रै लगाउँदा पुग्ने उक्त खोप लगाउनका लागि सरकारले प्राथमिकता तोकेको छ। जसअन्तर्गत ५० दखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु र जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ। खोप लगाउनका लागि उपत्यकामा पनि ५० भन्दा धेरै खोप केन्द्रहरु तोकिएका छन्। 

National life

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि छ खोप केन्द्र।  खोप अभियान सुरु भएदेखि नै टेकु अस्पताल प्रांगणको एउटा कुनामा कोरोनाविरुद्धको भ्याक्सिन लगाइँदै आएको छ। 

मंगलबार दिउँसो खोप लगाउनेको त्यति भीड थिएन। बिहान लाइन बस्ने ठाउँसमेत नभएको अस्पताल प्रांगण दिउँसो एकाएक खालि भएको थियो। खोप लगाउन आउने मानिसहरुलाई एक मिनेट पनि पर्खनुपर्ने अवस्था थिएन। उनीहरुले कागजात देखाएर सहजै खोप लगाउन पाएका थिए।

तर अस्पतालको पछाडिपट्टि झण्डै २ सयको हाराहारीमा युवाहरुको भीड देखिन्थ्यो। उनीहरुको हातमा पासपोर्ट थियो, केहीको हातमा विदेश जान उडानको लागि तयारी अवस्थामा रहेको हवाई टिकट, पीसीआर रिपोर्ट र खोप कार्ड पनि।

लाइनमा उभिएका उनीहरु सबैले खोप लगाइसकेका थिए। तर उनीहरुसँग खोप लगाएको प्रमाणीकरण पत्र थिएन, त्यसैको लागि उनीहरु लाइन लागेका थिए। 

Laxmi sunrise bank
kumari

बिहान करिब ३ घण्टा लाइनमा बसेर खोप लगाएका बुटवलका सन्तोष पौडेल पुनः अर्को लाइनमा बसेको २ घण्टा भइसकेको थियो। उनले बिहिबार विदेश जानको लागि टिकट समेत काटिसकेका छन्। तर उनले लगाएको खोपकोे प्रमाणीकरण नपाउँदा दिनभर टेकु अस्पतालमा उभिनु परेको छ। ‘खोप लगाइसकेको दुई घण्टा भइसक्यो, खोप कार्ड मात्रै छ, तर प्रमाणीकरण पाउन सकेको छैन। अझै कतिबेर लाग्ने हो थाहा छैन। आज प्रमाणीकरण पत्र पाइएन भने त भोलि (बुधबार) सार्वजनिक विदा भनेको छ, काम हुँदैन होला,’ सन्तोष चिन्तित देखिन्थे।

बूढानिलकण्ठमा खोप लगाएर आएका मुकेश शाह पनि अस्पताल परिसरमा उभिएको दुई घण्टाभन्दा बढी भइसकेको थियो। उनी पनि बुधबार वैदेशिक रोजगारीको लागि साउदी जाँदै छन्। तर मंगलबार दिउँसोसम्म खोप लगाएको प्रमाणीकरण पाउन सकेका थिएनन्।
‘खोप लगाएको प्रमाण दिने खोप कार्ड नेपालीमा लेखिएको छ। म्यानपावरमा अंग्रेजीबाट लेखिएको खोप कार्ड चाहिन्छ भनेको छ, टेकुले अंग्रेजीमा बनाइदिन्छ भनेकाले यहाँ आएको हुँ,’ उनले भने। 

खोपको प्रमाणीकरण पत्र नपाउँदा मुकेश आत्तिँदै थिए। ‘हामीलाई खोप अनिवार्य त गरेको छैन, तर यहाँ खोप नलागाई जाँदा १४ दिन क्वारेन्टिन बस्नुपर्छ, क्वारेन्टिन बस्दा सबै खर्च आफैंले बेहोर्नुपर्छ, क्वारेन्टिन बस्दा लागेको खर्च तिर्न फेरि तीन महिना दुःख गर्नुपर्छ। त्यसैले यो कागज लिएर जान पाए भोलिपल्टदेखि नै काम गर्न पाइन्थ्यो,’ मुकेशले भने।

प्रांगणमा दुई घण्टा उभिँदा पनि काम नभएपछि मुकेश अस्पतालका सूचना अधिकारी नवराज गौतमलाई भेट्न गौतमको कार्यकक्षमा पुगे र आफ्नो समस्या सुनाए। गौतमले ‘काम हुन्छ, नआत्तिनु’ भनेपछि बल्ल ढुक्क भयो उनलाई।

बाग्लुङका दिनेश लाइनमा थिए। अर्कै ठाउँमा खोप लगाएर आएका उनी खोप प्रमाणीकरण पत्र लिनका लागि आएका रहेछन्। कहाँ के गर्ने उनलाई कुनै जानकारी थिएन। ‘दुई दिनमा बल्लबल्ल खोप लगाउन पाएँ, फेरि प्रमाणीकरण पत्र चाहिनेरहेछ, खोप लगाएको ठाउँमा नबनाउने रहेछ, भोलिकै फ्लाइट छ’ भन्दै उनी आत्तिइरहेका थिए। ‘खोप लगाए पनि प्रमाण नभएसम्म कम्पनीले पत्याउँदैन। फेरि १४ दिन क्वारेन्टिन बस्नुको खर्च थपिन्छ,’ उनले पिरलो पोखे। दिनेशका अनुसार कम्पनीले खोप लगाएर मात्र आउनु भनेर इमेल गरेको छ। ‘खोप नलगाई जाँदा फर्किनुपरो भने ऋणमाथि ऋण थपिन्छ। विदेश गएर फर्किनुपरे त घरखेत नै जान्छ,’ दिनेशले भने।

खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणीकरण। खोप जहाँ लगाए पनि प्रमाणीकरणका लागि टेकु नै जानुपर्छ। अस्पतालका अनुसार दैनिक ५ सयभन्दा धेरै खोपको प्रमाणीकरण भइरहेको छ।

अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन्, ‘जोनसनको खोप लगाउनेमध्ये धेरैजसो विदेश जानेहरु छन्। उनीहरुलाई तत्काल प्रमाणीकरणपत्र बनाउनुपर्छ। हामीले सकेसम्म धेरैलाई दिन कोसिस गरेका छौं, धान्न गाह्रो भइरहेको छ।’ वैदेशिक रोजगारी वा अन्य कामका लागि विदेश जान खोप प्रमाणीकरण गर्नुपर्छ। यसको जिम्मेवारी टेकु अस्पताललाई दिइएकाले अस्पताललाई भ्याइनभ्याइ छ। आज (बुधबार) सार्वजनिक बिदा भए पनि खोप प्रमाणीकरणको काम नरोक्ने अस्पतालले जनाएको छ। 

टेकुमा भीड बढी भएपछि अरु केही खोप केन्द्रमा पनि प्रमाणीकरण पत्र बनाउनका लागि तोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

प्रकाशित: Jul 21, 2021| 02:09 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।