मेलम्ची (सिन्धुपाल्चोक)- गएको बुधबार अपराह्न सिन्धुपाल्चोकको मेलम्ची बजार पुग्दा मेलम्ची खोलाको उर्लिंदो भेलले ताण्डव मच्चाउँदै थियो। जमिन कटान गर्दै अघि बढिरहेको भेलले बगाएर लैजाँदै थियो सिंगै रुख, ठूल्ठूला काठका मुढा, घरका सरसामान अनि गाईवस्तु पनि।
मंगलबार रातिदेखि उर्लिएको मेलम्ची हेर्नेको घुइँचो बुधबार दिउँसोसम्ममा भीडमा परिणत भइसकेको थियो। बाढीका कारण विस्थापित भएर सुरक्षित स्थानमा उक्लिएका स्थानीयभन्दा बढी थिए रमित हेर्न पुग्नेहरु। ‘उ. हेर है... त्योे पनि गयोे! ल अब हेर त्यो रुख पनि जान्छ! अब माछापोखरी नि जाने भयो!’ रमित हेर्नेहरु उत्सुक हुँदै मेलम्चीको रौद्र रुपको बखान गर्दै थिए। धेरैजसोको हातमा रहेको मोबाइल खोलातिरै सोझिएको थियो।
रमिता हेर्नेमध्येका एक थिए सुदर्शन नेपाल, जो काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ शिक्षक हुन्। उनकोे घरबाट मेलम्ची सिधै देख्न सकिन्छ। अहिले आएजस्तो बाढी भने उनले कहिल्यै देखेका थिएनन्। ‘३० वर्षमा यस्तो बाढी पहिलोपल्ट देख्दैछु, त्यही भएर हेर्न आएको। दुई घण्टादेखि हेरिरहेको छु,’ नेपालले सुनाए।
मेलम्चीमा बाढी आएपछि सिन्धुपाल्चोकका जनप्रतिनिधि तथा विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा पनि मेलम्ची पुगेका थिए। उनीहरुसँगै गएका सुरक्षाकर्मी, सहयोगी र स्थानीय नेता–कार्यकर्ताको भीडले सडक नै भरिएको थियो। अनि थिए, काँधमा क्यामेरा र हातमा बुम बोकेका युट्युबर।
'नेता–मन्त्री आए, रमिता हेरेर फर्किए! हात लाग्यो शून्य'
बाढीले मेलम्ची बजार डुबेपछि स्थानीयलाई केही माथिको डाँडामा सारिएको थियोे। सडकमा हिँड्नेसम्म ठाउँ थिएन। झरीका बीच मानिसहरु छाता ओढेर रमिता हेरिरहेका थिए। पीडितभन्दा रमिते नै बढी थिए। ‘हेर हैे अब त्यो घर जान्छ, उ हेर त ग्यास सिलिन्डर आयो। उ हेरहेर भैंसी बगाएर ल्यायो,’ यस्तैयस्तै सुनिन्थ्यो। कोही बाढीलाई ब्याकग्राउन्डमा राखेर फोटो खिचाइरहेका थिए त कोही टिकटक बनाउन व्यस्त।
दुवाचौरका मसिने गिरी हातमा छाता बोकेर यताउता गर्दै थिए। उनी बाढीपछिको मेलम्ची बजार हेर्न आएका रहेछन्। ‘यस्तो त कहिल्यै आएको देखेका थिएनौं। यहाँ त बर्बादै गरेछ, हामी त केके बगाएछ भनेर हेर्न आएको, अब घर जाने,’ गिरी भन्दै थिए। रमिता हेर्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म थिए।
मेलम्चीमा त्यतिका मान्छे देखेर स्थानीय योगप्रसाद दुलाल अचम्मित थिए। ‘यतिका मान्छे कहाँबाट आएका होलान् सडकै ढाक्नेगरी,’ उनले भने। बाटोेमा जाम बढेकाले प्रहरीले मेलम्ची पुल पुग्नुभन्दा अगाडि नै गाडी रोकेको थियो। बाढी आउन सक्ने भन्दै नयाँबजार क्षेत्रमा जाने अनुमति दिएको थिएन।
६२ वर्षीय ईश्वर गिरी पनि छाता टेक्दै मेलम्ची बजार हेर्न आएका थिए। ‘म त खाली हेर्न आएको हुँ, ठूलै आएको रहेछ,’ गिरीले सुनाए।
केही वर्षअघि सिन्धुपाल्चोकको मांखा–राम्चे पहिरो खसेर सुनकोसी थुनिएपछिको प्राकृतिक विपत्तिमाथि कवि विनोदविक्रम केसीले एउटा कविता लेखेका थिए, ‘पहिरो’। विपत्तिले सृजना गरेको संकट र अभावमा तत्काल उद्धार र सहयोगमा जुट्नुको साटो त्यो दुःखलाई पर्यटकीय नजरले हेर्नेहरूप्रति यो कविताले कटाक्ष गर्छ। कवि केसीको कविताको लाइन नै छ, पहिरोलाई पहिरो हेरेजसरी हेर, पर्यटकले झरना हेरेजसरी नहेर। तर कवि केसीको यो कटाक्ष मेलम्ची–विपतमा पनि सान्दर्भिक बनेको छ।
‘मान्छेहरु यस्तो बेला पनि सेल्फी र टिकटकमा उनिएका छन्, देख्दै उदेक लाग्छ’, मेलम्ची विपतमा खटिएका एक सुरक्षाकर्मी भन्दै थिए, ‘हामीबाट दया र सहयोग टाढिएको हो कि भन्ने लाग्छ मलाई त, यस्तो देख्दा।’