मेलम्ची (सिन्धुपाल्चोक)- रोइरहेको आकाशसँगै रोएको छ मंगलीको मन पनि। तर उनको रुवाइ झमझम परेको पानी र मेलम्चीको गडगडाहटले दबाइदिएको छ।
दर्किरहेको पानीमा उनका आँशु बिलाइजान्छन् उसैगरी जसरी मेलम्चीले उनका सपना र सम्पत्ति क्षणभरमै बिलाइदियो।
असिनपसिन छिन् मंगली तामाङ। तनाव, चिन्ता र भयले आवाज दबिएको छ– ‘लौन न गाडी खोज्नुपरो, भएको सबै सम्पत्ति त्यहीँ छ।’
अब के गर्ने, कहाँ जाने अन्योल छ। ‘रगतपसिना गरी यति बनाएकी थिएँ, सबै बगायो,’ मंगली भक्कानिन्छिन्। मेलम्चीमा आएको बाढीले उनको घर पूरै डुबाएको छ। मेलम्ची बजारमा उनले दुई तलाको घर बनाएकी थिइन्। तीन वर्ष भएको थियो उनले घरमै खाजा घर चलाएको छ।
बुधबार साँझपख मंगली र उनका पति पानीमा रुझ्दै बचेको सामान निकाल्न हारगुहार गर्दै थिए। ‘हिजो साँझदेखि पानीसमेत खाएको छैन। जिन्दगीभर जोडजाम गरेको सबै गयो। के के न सपना देखेकी थिएँ, सबै डुबिगए, सबै बिलाइगए,’ मंगलीले निन्याउरो मुख लगाउँदै भनिन्।
यत्तिकैमा उद्धार टोली आएर हिलाम्य घरबाट केही सामान र कागजात निकाले। घरको भुइँ तला पूरै डुबिसकेको रहेछ– भित्र हिलो र लेदोमात्रै।
त्यसैपनि कोरोना भाइरसको दोस्रो लहरसँगै भएको लकडाउनले व्यापार चौपट भएको थियो। होटल बन्द भएपछि गलैंचा बुन्न थालेकी थिइन् मंगली। गलैंचा बुन्ने मेसिन पनि बगाइदियो मेलम्चीले। अब त न होटल छ, न गलैंचा बुन्ने विकल्प।
घर बनाउन मंगलीले गाउँका आफन्त र छिमेकीबाट १५ लाख ऋण लिएकी छिन्। कमाइ हुन्छ अनि तिरौंला भन्ने आँट थियो। अब त त्यो आँट पनि छैन। आम्दानी हुने माध्यम नै बगेपछि ऋण कसरी तिर्नु? यही पीर छ उनलाई। घर बनाउन लिएको ऋणको वार्षिक २० हजार ब्याजमात्रै तिर्नुपर्छ।
मंगलबार साँझ खाना बनाउने तयारी गर्दै थिइन् मंगली। वरपर हल्लीखल्ली भयो। खोला बढ्यो, भागौँ भन्दै सबैले सटर बन्द गरी हिँड्न थाले। उनलाई जान मन थिएन। दुःख गरी बनाएको घर छोड्न पटक्कै मन थिएन। पतिले ज्यान बचाऔं हिँड छिटो भनेपछि उनी तयार भइन्।
सिन्धुपाल्चोक केउरानीकी हुन् मंगली। २०७२ सालको भूकम्पले घर लगेपछि उनी मेलम्ची बजार सरेकी थिइन्। तर मेलम्ची खोलाले उनलाई तीन वर्षमै उठीबास लगाइदियो।
गाउँको घर आफन्तलाई दिएकी छिन्। त्यहाँको जग्गाजमिनले त वर्षभर खान पनि पुग्दैन। त्यसैले मंगलीले पतिलाई मनाएर ऋण काढेर बजारमा जग्गा लिएकी थिइन्। हेर्दाहेर्दै आँखै अगाडि घर डुब्यो। घरमाथिको थुम्कोमा गएर आफ्नो घर डुबेको टुलुटुलु हेर्नुबाहेक विकल्प थिएन उनीसँग। खै कहाँबाट हो ढुंगामुढा लिएर आएको मेलम्ची गडगडाइरहेको थिये।
मंगलीको रात बेचैनी, छटपटीमै बित्यो। रातभर निदाउन सकिनन्। बिहानै उनी घर हेर्न फेरि गइन्। एक तला पूरै डुबिसकेको थियो। घरबाट कुनै सामान निकाल्न सकिनन्। टुलुटुलु हेर्नुको विकल्प नै थिएन। ‘हामी त घरको न घाटको भयौं। छोरालाई काठमाडौं पठाएर ठूलो मान्छे बनाउनु थियो। खाजाघरबाट सबै खर्च जुटेको थियो,’ सुँक्कसुँक्क गर्दै उनले भनिन्।
खान–लाउन बल्ल पुग्दै थियो मंगलीको परिवारलाई, तर फेरि के खाने भन्ने पिर थपिएको छ। ‘सिन्धुपाल्चोक दुःखी हो कि म अभागी हुँ! कहिले भूकम्प कहिले बाढीपहिरो,’ मंगलीले भनिन्। अब कति दिन अनिदो बस्नुपर्ने हो थाहा छैन उनलाई।
मंगलबारको साँझ घर बसाइको अन्तिम साँझ होला भन्ने सोचेकै थिइनन् उनले। घरबाट निस्किँदा एक जोर कपडासमेत निकाल्न पाइनन्। निथ्रुक्कै भिजेकी मंगलीलाई फेर्न एक जोर कपडासम्म छैन।