काठमाडौं- लालबहादुर छन्त्याल बिहान ५ बजे उठ्छन्। आधा घण्टा हिँडेर ललितपुर महानगरपालिकाको सहकार्यमा नेपाल युथ फाउन्डेसनले सञ्चालन गरेको एनआरएच आइसोेलेसन सेन्टरमा पुग्छन्। कार्यस्थल सफा गर्छन्। ड्रेस लगाएर सुरक्षामा तैनाथ हुन्छन्। आइसोलेसन सेन्टरमा चिकित्सक, नर्स प्रवेश गरेपछि परिसरभर 'डिसइन्फेक्सन स्प्रे' छर्किन्छन्।
५० वर्षीय लालबहादुरको स्फूर्ति घटेको छैन। उनी दैनिक १२ घण्टा काम गर्छन्। उनी पेसाले सेक्युरिटी गार्ड हुन्। तर उनी आइसोलेसन सेन्टरभर फन्का मारिरहन्छन्। कहिले संक्रमितलाई बेडसम्म पुर्याउन त कहिले टेबुल सफा गर्न। ‘आवश्यक परे संक्रमितका टेबुल पुछ्ने, समान बोक्ने, स्प्रे छर्किने सबै काम गरिन्छ,’ उनी भन्छन्, ‘काम नगरी खान पाइँदैन, काम पाउँदा सबै गरिहाल्नुपर्छ।’
गेटमा आउनेसँग सोधपुछ गरी उनीहरुका बारेमा जान्नुबुझ्नु पनि पर्छ उनले। आइसोलेसनका हरेक बेडसम्म मात्र होइन, एक–एक टेबलसम्म पुग्नुपर्छ। छन्त्याल सेक्युरिटी गार्डभन्दा माथि उठेर महामारी जोखिम न्यूनीकरण र नियन्त्रणमा सहयोगी बनिरहेका छन्। ‘दुःख नजिकबाट भोगेको छु,’ उनी भन्छन्, ‘सबै मिलेर महामारी परास्त गर्नु छ, मैले त के नै गरेको छु र !’
घरमा रहेका कोरोना संक्रमित र अस्पतालको आईसीयू भेन्टिलेटरबाट बाहिरिएका संक्रमित आइरहन्छन् आइसोलेसन सेन्टरमा। उनी भन्छन्, ‘आइसोलेसनमा संक्रमित आउने भएकाले कताकता डर पनि लाग्छ।’ पीपीई, मास्क र फेस सिल्ड लगाएर काम गर्दा संक्रमणको जोखिम कम हुने उनले बुझेका छन्। दिउँसोको खाना आइससोलेसन सेन्टरले दिने गरेको छ।
‘जहाँ पनि काम गर्ने हो। सुरक्षाका सम्पूर्ण उपाय अपनाएको छु। मान्छेलाई कहाँ गाह्रो छैन र अहिले?’ उनी भन्छन्, ‘डराएर खान पुग्दैन, काम नगरे त भोकै परिन्छ। काल आए सबैले जानैपर्छ। कोरोेना लाग्ने डरले काम नगरे कसरी बाँच्नु !’
सेन्टरमा संक्रमित आउने–जाने क्रम चलिरहन्छ। लालबहादुर संक्रमितको समान बोक्नसमेत सहयोग गरिदिन्छन्। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आइसोलेसन सेन्टरमै खटिएका हुन्छन् उनी।
उनले पत्नीकोे उपचारका लागि काठमाडौंका थु्प्रै अस्पताल चहारेका छन्। आफन्त बिरामी हुँदा पाएको दुःख र भोगेको पीडा उनलाई राम्ररी थाहा छ। ‘पत्नी बचाउन थुप्रै अस्पताल पुगे पनि बचाउन सकिनँ। आफ्नो मान्छे गुमाउनुपरेकोे पीडा बुझेको छु। यस्तो पीडा कसैले भोग्नु नपरोस् भन्ने लाग्छ,’ उनी भन्छन्।
कोरोेना भाइरसकोे महामारीविरुद्ध अग्रभागमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य सरसरफाइ कर्मचारीजत्तिकै जोखिम मोेलिरहेका छन् लालबहादुर। ‘आवश्यक परे संक्रमितकोे बेडसम्म गई टेबुलसमेत पुछ्छु, कोही नहुँदा गर्नैपर्छ, सहयोग ठूलो चिज हो,’ उनी भन्छन्।
काठमाडौंमा सेक्युरिटीको काम गर्न थालेको १२ वर्ष भए पनि उनले आइसोलेससन सेन्टरमा काम गरेको एक महिनामात्र भएको छ। यसअघि उनले बैंकका साथै विभिन्न कम्पनी र निजी निवासमा सुरक्षा गार्डको काम गरेका थिए।
२०२८ सालमा म्याग्दीको तत्कालीन पाखापानीमा जन्मेका हुन् छन्त्याल। घरको आर्थिक अवस्थाले पढ्न पाएनन्। कक्षा छ मा पुगेपछि पढाइ रोकियो। त्यसपछि उनी श्रममा खटिए। दैनिक ज्यालादारीदेखि थुपै्र काम गरेको अनुभव छ उनीसँग।
प्रेमविवाह गरेका उनले घरमा सदस्य बढेपछि आर्थिक भार थपिएको बताए। आर्थिक अवस्था सुधारका लागि साउदी अरबमा सात वर्ष श्रममा जोतिए। उनी विदेशमा रहेका बेला पत्नी अर्कैसँग गइन्। दुई छोरीका बाबु लालबहादुर पत्नीविहीन भए। मन पराएकीले छाडेपछि उनको वियोगमा केही समय काम गर्न मन नलागेको लालबहादुरले सुनाए।
विदेशबाट फर्केपछि उनले दोस्रो बिहे गरे। त्यसपछि विदेश जाने सपना सधैंका लागि छाडिदिए। भन्छन्, ‘सानोतिनो काम भए पनि नेपालमै गर्ने निधो गरें।’ मिर्गौलामा खराबी देखिएका कारण कान्छी पत्नीलाई पाटन अस्पतालमा भर्ना गरे। थुप्रै प्रयास गरे। गार्ड बसेर कमाएको र सापटी लिएको गरी दुई–अढाई लाख रुपैयाँ सकियो तर पत्नी बाँचिनन्। दोस्रो पटक पत्नी वियोगमा परे उनी।
उनी यति बेला वियोगको सबै पीडा भुलेर अभिभावकको भूमिका निर्वाह गरिरहेका छन्। कान्छीतर्फ दुई छोेरा छन्। जेठो ११ मा र कान्छो १ कक्षामा पढ्छन्। दुई छोरीको भने बिहे भइसकेको छ।
ड्युटी सकेर उनी कोेठा पुग्छन्। कपडा खोल्छन्। साबुनपानीले हात धोेइवरी स्यानिटाइजर लगाउँछन्। खाना पकाउँछन्, दुवै छोरालाई खुवाउँछन्। यसरी उनको दैनिकी सकिन्छ। भन्छन्, ‘आफूले त दुःख पाइयो। अब यी सन्तानले दुःख नपाऊन् भन्ने ठूलो कामना छ।’