सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दुई छोरी जन्मेपछि अर्को बिहे, गर्भवती पत्नीलाई आगो लगाएर फरार

दुई छोरी जन्मेपछि अर्को बिहे, गर्भवती पत्नीलाई आगो लगाएर फरार

सन्तोषले अर्की लिएर पल्लो गाउँमा बसे पनि कहिलेकाहीँ लक्ष्मीकहाँ पनि आउँथे। छोरीहरुको र आफ्नो लागि केही खर्च पनि दिन्थे। यसैक्रममा लक्ष्मीको र सन्तोषको ३ वर्षअगाडि फेरि अर्को छोरीको जन्म भयो। उता, सन्तोषकी कान्छी श्रीमतीले पनि छोरा जन्माइन्। 
 |  शुक्रबार, जेठ २१, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, जेठ २१, २०७८

vianetvianet

काठमाडौं- तीन वर्षे अञ्जु भाट दिनभरि कीर्तिपुर अस्पताल वर्न वार्डको ३२३ नम्बर बेड वरिपरि खेलिरहन्छिन्। आगोले पोलेका डामहरु छन् शरीरभरि। 

triton college

अञ्जु एकैछिनमा ओछ्यानमा रहेकी आमाको नजिक पुग्छिन् त एकैछिनमा छेवैमा रहेकी हजुरआमाको काखमा लुटपुटिन्छिन्। लाग्छ, उनलाई केही भएकै छैन। खेल्दाखेल्दै कतै ठोक्किइन् भनेमात्रै घाउ दुख्छ र रुन्छिन्। छोरी रुँदा पनि ओछ्यानमा रहेकी आमा उठेर उनको आँसु पुछेर फकाउन सक्दिनन्। आँखाभरि आँसु बनाउँछिन् र आँखा बन्द गर्छिन्।

ती बच्चीको रुवाइ सुन्नुपर्ने उनकै आमाबाबुले हो। तर, बाबुको निर्दयीपनले उनको शरीर आगोले डामेको छ। त्यो भन्दा बढी डाम र घाउ बोकेर उनकी आमा लक्ष्मी भाट अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। 

लक्ष्मीको शरीर २० प्रतिशतभन्दा धेरै जलेको छ। दुवै खुट्टामा र एउटा हातमा ब्यान्डेज बाँधिएको छ। आफूसँगै जलेकी छोरीलाई हेर्छिन्, तर उनलाई छुन पनि सक्दिनन्। अस्पतालमा उनीहरुको स्याहारका लागि कान्छा सासुससुरा छन्। 

घटना जेठ १२ गतेको हो। डोटी जिल्ला आदर्श गाउँपालिका वडा नम्बर ४ की लक्ष्मी भाट कोठाको झ्यालनजिकै रहेको खाटमा कान्छी छोरीलाई च्यापेर सुतेकी थिइन्। राति करिब १२ बजेतिर केही अवाजसँगै ब्युँझिइन्। उनलाई लाग्यो– मुसाले केही सामान खसाल्यो। तर एकैछिनमा कोठामा पेट्रोल गन्हाएको जस्तो भयो। कोठाको सबैतिर हेरिन्, केहि देखिनन्।

National life insurance

फेरि सुत्न खोजिन्। त्यति नै बेला फेरि कोठाको त्यही झ्यालबाट कसैले पेट्रोल फालेको देखिन्, तर मान्छे ठम्याउन सकिनन्। उनलाई रोक्न खोजिन् तर सकिनन्। लक्ष्मीको शरीरभरि पेटरोल पर्‍यो। त्यहाँबाट भाग्न नपाउँदै त्यो मानिसले सलाइको काँटी कोरेर लक्ष्मीको शरीरमा फाल्यो। पेट्रोल परेको कपडामा आगो सल्किहाल्यो। 

शरीरमा त आगो सल्कियो नै, घर पनि बाँकी रहेन। हत्तपत्त छोरीलाई च्यापेर बल्दै गरेको शरीर लिएर उनी हारगुहार गर्दै गाउँमा पुगिन्। उनको घर नै गाउँभन्दा करिब ५०० मिटर टाढा एकान्तमा रहेछ। मान्छे चिच्याएको सुनेपछि छिमेकीहरु उठेर हेर्दा शरीरमा आगो लागेको मान्छे दौडँदै गरेको देखे र आगो निभाए। 

रातको समय भएकाले उनलाई तत्काल अस्पताल लैजान सम्भव भएन। भोलिपल्ट मात्रै राजपुरस्थित सुजंग अस्पतालमा लगियो। तर चार दिन उपचार गर्दा पनि कुनै सुधार हुन सकेन। पाँचौं दिनमा वनमन्त्री प्रेमबहादुर आलेको पहलमा सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो र कीर्तिपुर अस्पतालमा भर्ना गरियो।

पेट्रोल छर्केर कसले आगो लगायो भन्ने अझै पनि राम्रोसँग भेउ पाउन सकेकी छैनन् लक्ष्मीले। तर उनका कान्छा ससुरा सुरेश भाट भने पतिले नै लगाएको दाबी गर्छन्। गृह मन्त्रालयले पनि घटनामा पति नै संलग्न रहेको बताएको छ। सुरेश भन्छन्, ‘कसले गरेको त हामीले प्रत्यक्ष देखेनौं, तर त्यही दिनदेखि ऊ (लक्ष्मीका पति) बेपत्ता छ। १० दिन हुँदा पनि कसैको सम्पर्कमा आएको छैन। प्रहरीले खोजिरहेको छ, तर भेट्टाउन सकेको छैन।’

कीर्तिपुर अस्पतालमा उपचाररत लक्ष्मी भाट र छोरी अञ्जु। 

डोटीको शिखर नगरपालिका–११ की लक्ष्मी घरकी माइली छोरी हुन्। सात कक्षासम्म मात्र पढ्न पाइन्। २० वर्ष पुगेपछि घरमा विवाहको कुरा चल्यो। आदर्श गाउँपालिकाका सन्तोष भाटसँग बिहे पक्का भयो। सन्तोष गाडी चालक हुन्, आफ्नै जिप चलाउँछन्। विवाहको एक वर्षपछि छोरीको जन्म भयो। खुसी नै थिए दम्पती। दोस्रो सन्तान पनि छोरी नै जन्मिइन् तीन वर्षपछि। त्यसपछि उनीहरुको ठाकठुक पर्न थाल्यो। पतिको व्यवहार फरक हुन थालेको महसुस भयो लक्ष्मीलाई। तैपनि आफ्नो तर्फबाट सम्बन्ध निभाइराख्न प्रयास गरिरहिन्। 

तर, उनको केही लागेन। सन्तोषले दोस्रो बिहे गरिछाडे। लक्ष्मीले एक्लिएको महसुस गर्नु स्वाभाविक थियो। माइती र गाउँलेले सन्तोषविरुद्ध बहुविवाहको मुद्दा हाल्न सुझाव दिए। तर उनले मानिनन्। अर्की ल्याए पनि आफ्नो सन्तानको बाउ हो भन्दै उनी चुप रहिन्। 

सन्तोषले अर्की लिएर पल्लो गाउँमा बसे पनि कहिलेकाहीँ लक्ष्मीकहाँ पनि आउँथे। छोरीहरुको र आफ्नो लागि केही खर्च पनि दिन्थे। यसैक्रममा लक्ष्मीको र सन्तोषको ३ वर्षअगाडि फेरि अर्को छोरीको जन्म भयो। उता, सन्तोषकी कान्छी श्रीमतीले पनि छोरा जन्माइन्। 
लक्ष्मीबाट जन्मिएका दुई छोरी हजुरबुबा–हजुरआमासँग बस्छन्। लक्ष्मी भने कान्छी छोरी लिएर एक्लै बस्न थालिन्। गुजारा चलाउन पसल खोलिन्। सन्तोष पनि कहिलेकाहीँ लक्ष्मीको पसलमा गइरहन्थे। 

काठमाडौं ल्याएपछि घाइते लक्ष्मीलाई सेनाको हेलिकोप्टरबाट निकालिँदै। साथमा वनमन्त्री प्रेमबहादुर आले।

गएको माघमा फेरि लक्ष्मी गर्भवती भइन्। त्यसपछि भने लक्ष्मीको पेटमा रहेको बच्चा आफ्नो होइन भन्दै सन्तोषले उनलाई मानसिक यातना दिन थाले। अहिले आएर लक्ष्मीलाई पछुतो लागेको छ– त्यतिबेलै पतिविरुद्ध बहुविवाहको मुद्दा किन हालिनँ भनेर। ‘जे भए पनि श्रीमान् हुन् भन्थिन्, मुद्दा हाल्न मानिनन्। अहिले यस्तो भयो,’ अस्पतालमा रहेकी कान्छीसासु अञ्जु भाटले भनिन्। पोलेको घाउले लक्ष्मीलाई एकपल पनि निदाउन दिँदैन। यही दिन देख्नलाई  माया गरेकी रहेँछु भन्दै राति एक्लै बर्बराउँछिन्। 

अञ्जु भन्छिन्, ‘अर्को बिहे गरे पनि आफूलाई पनि माया गर्ला भन्ने आश लक्ष्मीलाई रहेछ। त्यसैले समाजले जे भने पनि चुपचाप सहेकी थिइन्। माया गर्ने मान्छेको मरेको शरीर जलाउन समेत हात काँप्छ। लक्ष्मी त जीवित, त्यसैमाथि उनीभित्र अर्काे जीवन हुर्कंदै छ। कसरी आगो लगाउन सकेको होला !’ 

बेडमा पल्टिएर कुरा सुनिरहेकी लक्ष्मीले भनिन्, ‘आज मलाई पोल्छ भन्ने थाहा पाएको भए दोस्रो बिहे गर्दा नै मुद्दा हाल्थें। उसले वास्ता नगर्दा पनि मैले माया गरिरहें, तर उसले मलाई र आफ्नै सन्तालाई जलाउन खोज्यो। यो नजन्मेको बच्चाको के दोष थियो र?’

आदर्श गाउँपालिका–३ का वडाध्यक्ष नारायण सिंह पछेरा पनि पतिले नै आगो लगाएको अनुमान गर्छन्। भन्छन्, ‘लक्ष्मीबाट दुई सन्तान भएपछि सन्तोषले बिहे गरेको थियो। उसले अर्को बिहे गरेपछि पनि सन्तान जन्मियो। तर, अहिले पेटमा भएको गर्भ आफ्नो होइन भन्दै झगडा परिरहने गाउँलेले सुनाउँथे। पेटमा बच्चा भएपछि उनीहरु अस्पताल पनि पुगेका थिए। सन्तोषले गर्भपतन गर्न भनेको तर लक्ष्मीले मानिनन् भन्ने सुनिएको छ। यो सबै कुरा अनुसन्धानकै क्रममा छ। अघिल्लो दिनसम्म गाउँमा भएको मान्छे घटना भएको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैन।’

जिल्ला प्रहरी कार्यालय डोटीमा सन्तोष भाटविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइसकेको छ। इलाका प्रहरी कार्यालय आदर्शका कृष्ण चन्दले भने, ‘आरोपित फरार छ। खोजी भइरहेको छ। ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।’ 

लक्ष्मीको उपचार गरिरहेका कीर्तिपुर अस्पतालका सर्जन डा. किरण नकर्मीका अनुसार उनको २५ प्रतिशतभन्दा धेरै शरीर जलेको छ। दाहिने कोखामा धेरै जलेको छ, दाहिने हात पनि जलेको छ। खुट्टा र अन्य भागमा पनि केही जलेको छ। जलेको ठाउँको छाला निकालेर शरीरकै तिघ्राको छालाले टाल्नुपर्छ। भाग्यवश लक्ष्मीको तिघ्राको छाला जोगिएको रहेछ र उपचारको लागि सहज भएको छ।

जलेको ५ दिनमा लक्ष्मी अस्पताल आइपुगेकी थिइन्। अहिले हेमोग्लोबिनको मात्रा कम छ, त्यसैले रगत दिनुपर्ने भएको छ। रगत दिएपछि आइतबार अप्रेसन गर्ने डाक्टरको योजना छ। मुख्य रुपमा दाहिने कोखा र दाहिने हातमा अप्रेसन गर्नुपर्ने भएको छ। छोरीको पनि ढाडमा पोलेको रहेछ, त्योचाहिँ केही समयमै ठीक हुन्छ। 

प्रकाशित: Jun 04, 2021| 11:02 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।