काठमाडौं- पिठ्युँमा कालो झोला भिरेर उनी हतारहतारमा बाटो नाप्दै थिए। सडकछेउका कुकुर भुक्दा झस्किन्थे। कतै प्रहरीले समाति पो हाल्छ कि भन्ने डर थियो उनलाई। उनको नजर बाटोमा भन्दा प्रहरीतिर केन्द्रित थिए। प्रहरीले देख्नुभन्दा पहिले नै कोठा पुग्नु थियो उनलाई।
२० दिनसम्म बिना काम निराश बनेका उनी शनिबार भने खुसी थिए। १५ सय कमाउन २० दिन कुर्नुपर्यो इलाम फाकफोकथुम–४ का दिनेश भुजेललाई। त्यो पनि दिनमा काम पाइएन, रातमा मात्र पाइयो। शनिबार उनले काम पाए र १५ सय कमाए।
दिनेश पेसाले इलेक्ट्रिसियन हुन्। उनी बत्ती जडान र वायरिङ गर्छन्। मौतीदेवीबाट हतारहतार गर्दैै उनी साढे दस बजे राति बिजुली बजारको पुल पुगेका थिए। पुल पुगेपछि उनले गहिरो सास लिए। विना कुनै फन्दा कोठा पुगेकोमा सन्तोषको सास फेरेका रहेछन्।
‘आफूसँग हिँड्न पाउने कार्ड छैन, प्रहरीले समात्यो भने त गाह्रो हुन्छ, त्यसैले दौडिँदै आएको हुँ,’ दिनेशले सुनाए।
शनिबार उनकी कोठामा श्रीमती खाना पकाउने जोहो गर्दै थिइन्। दिनेश छोरी खेलाएर बसेका थिए। यत्तिकैमा उनको मोबाइलमा घण्टी बज्यो। उनलाई कसैले बत्तीको काम गर्न मैतीदेवी बोलायो। २० दिनदेखि बेरोजगार बनेका उनी तुरुन्तै तयार भए। श्रीमतीले खाना खाएर जान कर गरिरहेकी थिइनन्, उनले मानेनन्।
कारण घडीले साँझको साढे छ बजाइसकेको थियो, काम गर्दा धेरै राति पर्न सक्थ्यो। पछि आएर खान्छु भन्दै सरसमान झोलामा राखेर उनी बाटो नाप्न थाले। उनको मन फुरुङ्ग भएको थियो।
केही दिन भए पनि तरकारी खाने पैसा आउने भयो सोचेका थिए उनले। उनी फोन सम्पर्कको भरमा मैतीदेवी पुगे। एक जनाको फ्ल्याटमा बत्ती बिग्रिएकाे रहेछ। सात बजेदेखि १० बजेसम्म उनले लगातार बत्ती बनाउने काम गरे।
काम गरिसकेपछि घरधनीले उनको हातमा १५ सय रुपैयाँ थमाइदिए। २० दिनदेखि एक रुपैयाँ कमाउन नपाएका दिनेश खुसी भए।
‘कोठामा चामल सकिँदै थियो, ठिकै भयो। अब काम पाउने कति दिनपछि हो थाहा छैन,’ उनले भने, ‘भोलि बिहान १५ सयको चामल किन्छु।’
कोठामा बस्दाबस्दा पट्यार लाग्न थालिसकेको थियो भुजेललाई। अब कसरी छोरीलाई दूध किन्ने, कसरी आफूहरु भात खाने, कसरी तरकारी किन्ने भन्ने चिन्ता थियो। कोठा भाडाचाहिँ कमाइ भएपछि तिर्छु भनेर घरबेटीलाई कन्भिन्स गरेका थिए।
चिनजानेका धेरैलाई फोन गरे कामका लागि तर कसैले पनि काम छ भनेनन्। धन्न ! मैतीदेवीको फोनले भातसम्म खान पाउने बनायो। ‘भात सम्झेर राति कुदेको थिएँ, केही दिन भोकबाट बाँचिने भइयो,’ दिनेशले सन्तोषको सास फेरे। महिनाकोे तीन–चार दिन काम पाइए पनि काटमाडौंमा बाँच्न सकिने बताउँछन् उनी।
आफू एक्लै बस्ने भएको भए पिर लिनुपर्थेन उनलाई। सानी छोरी र श्रीमतीको जिम्मेवारी जो छ। सामान्य समयमा महिनाको ३०–४० हजार कमाउने गरेका उनलाई अहिले निकै समस्या भएको छ। यस्तो समस्या दिनेशजस्ता दैनिक ज्यालादारी गरी गुजारा गर्ने हरेक श्रमिकलाई छ। ‘लेखेपढेको भए यस्तो दुःख पाउने थिइनँ। गरिबीले यो काममा लागियो,’ भुजेलले गुनासो पोखे। काठमाडौंको शंखमूलमा मासिक ६ हजार भाडा तिरेर बसेका छन्। कोठाको भाडा नतिरेको दुई महिना पुग्न लाग्यो। कमाइ भएपछि दिन्छु भनेर मनाइरहेका छन् अहिलेसम्म घरधनीलाई।
तरकारी पसलमा पनि करिब ३ हजार पुगिससकेको छ भुजेलको उधारो। ‘जाउलो पकाएर खान त हुन्छ, यो १५ सयले चामल किन्छु। कामको कुनै ठेगान नै छैन, आजको दिन राम्रो रहेछ,’ उनले सुनाए।
अघिल्लो वर्षको लकडाउनमा घरमै थिए भुजेल। गाउँमा जति काम गरे पनि खान नपुग्ने भएपछि उनी श्रीमतीसहित इलामबाट काठमाडौं हानिएका हुन्। गाउँमा आमाबा कृषि कर्म गर्छन्। घरको कमजोरआर्थिक अवस्थाका कारण उनले पढ्न सकेनन्। उनले आफ्नो पढाइ दस कक्षाभन्दा माथि लैजान सकेनन्। अन्तिममा केही सिप नचलेपछि जिल्ला विकास समिति इलामको कार्यक्रमअन्तर्गत उनले छ महिने इलेक्ट्रिसियनको काम सिके।
त्यही काम नै उनको जीवन धान्ने सहारा बन्यो। दस कक्षाबाट पढाइमा पूर्णबिराम लागेपछि रोजीरोटीका लागि उनी यही काममा लागे।
करिब ८ वर्ष गाउँमै काम गरे भुजेलले। बिहे गरेपछि उनलाई खर्च धान्न गाह्रो भयो अनि काठमाडौं आउने निधो गरे। यो वर्ष पनि कोरोनाले सकाइदिन्छ भन्ने थाहा नै थिएन। नत्र उनी गाउँ गइसकेका हुन्थे। ‘घरबेटीले बाहिर नजा कोरोना आउँछ भन्छ तर बाहिर नगई के खानु, कसरी भाडा तिर्नु भन्छु अनि निस्किन्छु,’ भुजेल भन्छन्।
विगत २० दिनदेखिको उनको तनाव र बेचैनीलाई १५ सयले थोरै भए पनि कम गरिदिएको छ। तर, उनको त्यो खुसी कति दिनका लागि हो, उनी आफैंलाई थाहा छैन।
उनलाई आफ्नो र छोरी श्रीमतीको मात्रै चिन्ता छैन, गाउँमा रहेको घरपरिवारलाई पनि हेर्नुपर्छ। आमाबा, भाइबहिनी छन् गाउँमा। भएको बेला उनीहरुका लागि पनि खर्च पठाउनुपर्छ। ‘रोग लागोस् भन्ने रहर त कसलाई हुन्छ र? घरमा सानी छोरी छ, डर त छ नि तर रोगभन्दा पहिले भोकले मर्न दिनु भएन,’ उनले विवशता सुनाए।