 
                                                                                 
                                                                
                                                                                        
                                                        काठमाडौं- काठमाडौंको चावहिलस्थित नेपाल-भारतमैत्री अस्पतालले कोरोना संक्रमितसँग एउटा बेडको प्रतिदिन ४५ हजार रुपैयाँसम्म असुल्न थालेको छ। उक्त अस्पतालमा आईसीयूमा भर्ना हुने बिरामीले विभिन्न शीर्षकमा प्रतिदिन ४५ हजार तिर्नुपर्ने गरी अस्पतालले शुल्क तोकेको हो।
अस्पतालका निर्देशक डा. विकास रौनियारले हस्ताक्षर गरेको नेपालसमयडटकमलाई प्राप्त शुल्क विवरणअनुसार अस्पतालले कोभिड आईसीयू बेडको चार्ज एक बिरामीबाट दैनिक ४५ हजार लिने गरेको छ। विभिन्न शीर्षक राखेर अस्पतालले ४५ हजार लिने गरेको पाइएको छ।
जसअन्तर्गत आईसीयू बेडमा रहने बिरामीबाट एडमिसन चार्ज २ हजार ५००, आईसीयू बेड चार्ज १२ हजार ५००, अन ड्युटी डाक्टर चार्ज पीपीई २ हजार ६००, नर्सिङ केयर २ हजार, इन्फेक्सन कन्ट्रोल ३ हजार, पीपीई ३ सेट ६ हजार, एमडी डाक्टर प्रतिराउण्ड र पीपीई २ हजार ५००, अक्सिजन २ हजार ४००, भेन्टिलेटर चार्ज ७ हजार, क्याप चार्ज ४ हजार ५०० रुपैयाँ लिने गरेको छ।
अस्पतालले कोरोना संक्रमितको उपचारका लागि सिंगल बेडको प्रतिदिन २७ हजार, डबल बेडको प्रतिदिन २२ हजार तोकेको छ।
नेपाल भारतमैत्री अस्तालले कोरोना उपचारका लागि नेपाल सरकारसँग सम्झौतासमेत गरेको छ। सरकारले सम्झौता गरेका अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुन्छ तर नेपाल–भारतमैत्री अस्पतालले भने मनलाग्दी शुल्क तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्झौता भएका अस्तपालमा सामान्य बिरामीको हकमा प्रतिसंक्रमित प्रतिदिन ३ हजार ५००, केही जटिल तथा अक्सिजन लगाएर राख्नुपर्ने बिरामीको हकमा प्रतिसंक्रमित प्रतिदिन ७ हजार र आईसीयू वा भेन्टिलेटरमा बस्नुपर्ने बिरामीको हकमा प्रतिसंक्रमित प्रतिदिन १५ हजार रुपैयाँ दिँदै आएको छ। मन्त्रालयले पैसा दिएबापत् उक्त अस्पतालले कोरोना संक्रमित बिरामीसँग कुनै शुल्क लिन पाउँदैन।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारसँग सम्झौता भएका अस्तपालले सम्झौताविपरीत कोभिड–१९ का बिरामीसँग छुट्टै पैसा लिन पाउँदैन। कुनै बिरामीले आफूखुसी पैसा तिरेर उपचार गर्छु भने पनि तोकिएको शुल्कमा ५० प्रतिशतभन्दा बढी लिन नपाउने उनले बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजालले भने, ‘हामीले निजी अस्पतालको अनुगमन गरिरहेका छौँ उक्त अस्पतालको विषयमा बुझेर कारबाही गर्नेछौं।’