काठमाडौं– मुलुकमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै बिरामीको संख्या बढिरहेको छ। त्यसमा पनि सिकिस्त बिरामीको संख्या बढेर अक्सिजनको आवश्यकता पर्ने गरेको छ। अक्सिजन अभावमा मृत्युदर बढेको सरकारी तथ्यांकले नै देखाइरहेको छ।
अक्सिजन उत्पादनक (उद्योगी)हरुले भने अक्सिजनको अभाव नभई अक्सिजन भर्ने सिलिण्डरको अभाव चुलिएको बताइरहेका छन्।
सिलिण्डरको अभाव भएकाले विभिन्न मुलुकले अक्सिजन सिलिण्डर उपलब्ध गराइरहेका पनि छन्। जस्तै– चीनबाट अक्सिजन भर्ने सिलिण्डर आउने क्रममा छ। ओमानमा कार्यरत नेपालीहरुसहितको सहयोगमा ओमानबाट ५६० अक्सिजन सिलिण्डर नेपाल आइपुगेका छन्। तर, ती सिलिण्डरको स्ट्याण्डर्ड मापदण्ड के कस्तो हो भन्ने विषयमा नेपालमा अहिलेसम्म कुनै परीक्षण हुन भएको छैन। अन्य मुलुकले भनेको स्ट्याण्डर्ड मापदण्डमै आधारित हुनुपरेको छ।
यिनै समस्याको सामाधानका लागि नेपाल प्रविधि तथा विज्ञान प्रतिष्ठान (नास्ट)ले अक्सिजनका सिलिण्डरको मापदण्ड परीक्षण गरिरहेको छ। ‘नेपालमा अहिलेसम्म सिलिण्डरको स्ट्याण्डर्ड मापदण्ड परीक्षण भएको छैन,’ नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले भने, ‘पहिलो पटक परीक्षण गरिरहेका छौं । सफल भयो भने नेपालमै सिलिण्डर उत्पादनको ढोका खुल्छ।’ उनका अनुसार सिलिण्डर परीक्षणको काम अन्तिम चरणमा पुगेको छ। ‘परीक्षणको अन्तिम चरणमा आइपुगेका छौं। परीक्षण सफल भए–नभएको एक–दुई दिनभित्रै नतिजा थाहा पाउनु हुनेछ।’
उनका अनुसार अहिले बजारमा रहेका अक्सिजन सिलिण्डर साइजमै नाष्टले सिलिण्डर परीक्षण गरिरहेको छ। अहिले ४७ लिटर क्षमताका अक्सिजन सिलिण्डर बजारमा छन्। सो क्षमताका अक्सिजन सिलिण्डरको स्ट्याण्डर्ड मापदण्ड १५० केजी प्रतिवर्ग सेन्टिमिटर चाप धान्ने किसिमले डिजाइन गरिएको हुन्छ। ‘कम्तीमा १५० केजी प्रतिसीएम स्क्वायर प्रेसर धान्ने आकारको सिलिण्डर हुनुपर्छ,’ ढुंगेलले भने, ‘हामीले २०० केजी प्रतिसीएम प्रेसर धान्ने गरी परीक्षण गरिरहेका छौं। परीक्षण सफल भयो भने कम्तीमा ढुक्कका साथ १५० केजी प्रतिसीएम प्रेसर दिएर सिलिण्डर सञ्चालन गर्न सकिन्छ।’
सैद्धान्तिक रुपमा परीक्षण सफल हुन्छ भन्ने निष्कर्षमा नाष्ट पुगेको छ। यद्यपि टेक्निकल कुरा भएकाले अन्तिम टुंगो नलागेसम्म भन्न नसकिने प्रवक्ता ढुंगेलको भनाइ छ।
परीक्षण सफल भएमा के हुन्छ?
अहिले भारत र नेपालमा अधिकांश बिरामीले अक्सिजन नपाएर मृत्युवरण गर्नुपरेको छ। चाहे अक्सिजन भर्ने सिलिण्डरको अभाव भएर होस्, वा अक्सिजनकै अभावमा।
केही दिनअघि मात्रै भारतको मुम्बईमा अक्सिजन सिलिण्डर विष्फोट भई लिक हुँदा पनि एकैपटक ठूलो संख्यामा बिरामीको ज्यान भएको थियो। अहिले नाष्टले गरिरहेको परीक्षण सफल भयो भने बजारमा रहेका सिलिण्डरको समेत आयु पत्ता लगाउन सजिलो हुने प्रवक्ता ढुंगेल बताउँछन्। ‘अहिलेको परीक्षण सफल भयो भने बाहिरबाट आउने सिलिण्डरको समेत परीक्षण गरी आयु पत्ता लगाउन सकिन्छ,’ ढुंगेलले भने, ‘सिलिण्डरको आयु थाहा नभएका कारण पनि विष्फोट हुने गरेका छन्। भारतको मुम्बईमा भएको घटना त्यसैको नमुना हो।’
त्यस्तै परीक्षण सफल भएको अवस्थामा नेपालमा स्टिल उद्योगहरुले सिलिण्डर उत्पादन गर्न सक्नेछन्। नेपालमै अक्सिजन सिलिण्डर उत्पादन भएमा २–४ सय सिलिण्डर लिनका लागि नेपालले बाहिरी मुलुकमा जहाज पठाउनुपर्ने अवस्थाको अन्त्य हुने नाष्टका अधिकारीहरु बताउँछन्।
नाष्टले तयार पारेको ढाँचा र मापदण्ड उद्योगीलाई उपलब्ध गराउने र सोही अनुसार स्टिल उद्योगीले सिलिण्डर उत्पादन गर्न सक्ने नाष्टका अधिकारीहरुको भनाइ छ। नेपालका स्टिल उद्योगीले ठूलो मात्रामा अक्सिजन सिलिण्डर उत्पादन गर्न सकेको अवस्थामा सिलिण्डरको अभाव हट्ने विश्वास लिइएको छ।