संक्रमितका आफन्तः लौन हजुर ! अक्सिजन सिलण्डर मात्रै भए पनि खोजिदिनु पर्याे।
एम्बुलेन्स चालकः कहाँबाट खोज्नु मैले, जसलाई सोधे पनि छैन मात्रै भन्छन्। बिरामीलाई ठूलो सिलिण्डर चाहिने भइसक्यो, छिटो गर्नुस्।
आफन्तः अक्सिजन मात्रै पाए पनि बिरामीलाई बचाउन सकिन्थ्यो। कतिवटा अस्पतालमा फोन गरिसकेँ, कतै छैन के गर्ने होला। कस्तो आपत् आइलाग्यो ! कसरी उसलाई आँखै अगाडि मरेको हेर्नु, अक्सिजनबिना त सास नै फेर्न नसक्ने भइसक्यो।
शनिबार साँझ करिब आठ बजे वीर अस्पतालको गेटबाहिर भएको संवाद हो यो। ललितपुरको कुमारीपाटीबाट कोरोना संक्रमित बोकेर एम्बुलेन्स हुइँकिदै वीर अस्पताल अगाडि रोकियो। संक्रमितका दाइले इमर्जेन्सीमा गएर बेड र अक्सिजन मिलाइदिन आग्रह गरे। तर अस्पतालमा बेड र अक्सिजन दुवै थिएन। इमर्जेन्सीमा भएका स्वास्थ्यकर्मीले त्यही बताइदिए।
बिरामीका दाइको बेचैनी बढ्यो। उनी–भित्र बाहिर गर्न थाले। अस्पतालहरुमा फोन गरे। अस्पतालमात्रै होइन, चिनेजानेका सबैलाई फोन घुमाए। तर, बेड र अक्सिजन कतै पाइएन।
संक्रमितको सास बढिरहेकोले उनलाई अक्सिजनको मात्रा बढाउनु पर्ने थियो। उनी स्याँस्याँ गरिरहहेका थिए। छेउमा बसेकी श्रीमती हात समातेर मालिस गर्दै थिइन्। आँखामा आँसु छल्किरहेको थियो। ‘तीन घण्टा भइसक्यो घुमाएको। कतै पनि बेड र अक्सिजन पाइएन,’ उनी निरीह थिइन्।
इमर्जेन्सी बाहिर मानिसहरु रोइरहेका थिए। त्यो दृष्यले उनको मनमा झन् चिसो पसेको थियो। घरी पतिको निधारमा, घरी हातमा त कहिले खुट्टामा पुग्थे उनका हात। पति संक्रमित छन् तर उनलाई संक्रमणको कुनै परवाह छैन। उनलाई जसरी पनि पतिको प्राण बचाउनु छ।
पाँच दिनअघि कोेरोना भाइरसकोे संक्रमण देखिएको थियो उनलाई। घरमै आइसोलेसनमा बसेका थिए। तर, शनिबार सास फेर्न गाह्रो भयो। उठेन हिँड्न पनि नसक्ने भएपछि उनलाई अस्पताल ल्याइएको थियो। ‘आज निकै बढी भएर अस्पताल ल्याएको। एम्बुलेन्समै मरिएला भन्ने भइसक्यो,’ श्रीमती आत्तिँदै थिइन्।
दाइले बेड र अक्सिजनका लागि निकै संघर्ष गरे। अनुहारमा बेचैनी र छटपटी झल्किरहेको थियो। दर्जनौं पटक अस्पताल–भित्र बाहिर गरिरहेका उनलाई उकुसमुकुस भइरहेको थियो। ‘ए हजुर ! बेड र अक्सिजन मिलाइदिनुस् न। बिरामी सिरियस छ,’ उनको मुखबाट यतिमात्रै निस्किरहेको थियो।
घरीघरी एम्बुलेन्स नजिक गएर भाइबुहारीलाई ‘अक्सिजन खोज्दैछु, पाइन्छ। चिन्ता नगर’ भन्दै ढाडस पनि दिइरहेका थिए। कुमारीपाटीबाट उनीहरु सुरुमा पाटन अस्पताल पुगे। त्यहाँ बेड पाइएन। त्यसपछि अल्का अस्पताल, गणेशमान अस्पताल हुँदै वीरमा आइपुगेका थिए। बेड र अक्सिजन खोज्दै वीर अस्पतालमा करिब एक घण्टा बिताए उनीहरुले। त्यहीँबाट विभिन्न अस्पतालमा बुझे तर कतै पाइएन। उनीहरुको छटपटी बढ्दै थियो किनकी एम्बुलेन्समा भएको अक्सिजन सिलिण्डर रित्तिँदै गइरहेको थियो।
एम्बुलेन्स चालक विकास श्रेष्ठ भन्दै थिए, ‘एम्बुलेन्समा भएको सिलिण्डर पनि सकिने बेला भइसक्यो, छिटो गरौं।’ ‘तपाईं त घुमिरहने मान्छे, कतै छ भने भनिदिनु न,’ बिरामीका आफन्त चालकसँग बिन्ती बिसाउँदै थिए। ‘अस्पतालमा न बेड पाउँछ न अक्सिजन। म एक हप्तादेखि यही समस्या झेलिरहेको छु,’ चालकले गुनासो गरे, ‘अस्पतालको अवस्था र संक्रमितको पीडा देख्दा वाक्कदिक्क भइसकें म पनि। कतिबेला छोडौंजस्तो भइसक्यो। १३ वर्ष भयो एम्बुलेन्स चलाएको, तर यस्तो अवस्था कहिल्यै आएको थिएन।’
‘कसैले यस्तो समस्या भोग्नु नपरोस्। बिरामी बेड र अक्सिजनका लागि तड्पिरहेका छन्। अस्पताल धाएर मात्रै के गर्नु, घुम्दाघुम्दै ज्यान जाने बेला आइसक्यो,’ विकासले थपे।
छटपटाहटका बीच एक जना आफन्तले ओम अस्पतालमा बेड खाली भएकोे खबर गरे। तर, त्यहाँ अक्सिजन थिएन। ‘बेड पाइयो, अक्सिजनको व्यवस्था कतै न कतैबाट गरौंला’ भन्ने आश्वासन पाएपछि उनीहरु ओम अस्पतालतिर हुइँकिए।
उनीहरु हिँडेपछि मैले वीर अस्पतालको इमर्जेन्सीमा चिहाएँ कोरोना संक्रमितले नै भरिभराउ थियो इमर्जेन्सी वार्ड। धेरैको मुखमा अक्सिजन मास्क थियो अनि छेवैमा सिलिण्डर। स्याँस्याँ आवाज परैसम्म आइरहेको थियो।
‘शनिबारदेखि अस्पतालमा बेड र अक्सिजनको अभाव भएको छ। संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बेड र अक्सिजन अभावका कारण संक्रमितलाई फर्काउनुपर्ने अवस्था छ,’ वीर अस्पतालका कोरोना फोकल पर्सन अच्युत कार्कीले सुनाए।
वीरमा अहिले कोभिड–१९ का लागि भन्दै वार्डसहित १२८ बेडको व्यवस्था गरिएको छ, जसमा १० वटा आईसीयूसमेत छन्। अस्पतालको कोभिड वार्डमा ५ वटा आईसीयू र भेन्टिलेटर छन्। आपूर्तिकर्ताले मागअनुसार अक्सिजन सिलिण्डर उपलब्ध नगराएकाले अभाव भएको कार्कीले जानकारी दिए।
अस्पतालको इमर्जेन्सीमा मात्रै २० जना कोरोना भाइरसका संक्रमित छन्। बेड नपाएका कतिपय गेटबाहिरै अलपत्र छन्। संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी बेलाबेला भन्ज्छन्, ‘अस्पतालमा बेड र अक्सिजन छैन। आफ्नो सुरक्षा आफैँ गर्नुहोला।’
प्रधानमन्त्री विदेशी मिडियासँग भन्छन्– कोरोना महामारी नियन्त्रणमै छ।