काठमाडौं - कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिनेमध्ये सबैभन्दा बढी मारमा परेका छन् स्वास्थ्यकर्मी। त्यसमध्ये जति बेला पनि संक्रमितको रेखदेखमा खटिने नर्स त जोखिममा रहने नै भए। यस्तै जोखिम मोलेर जिम्मेवारी पूरा गरिरहेकी नर्स हुन् नेपालगन्जस्थित भेरी अस्पतालकी शारदा चौधरी।
नर्सलाई अस्पतालमा बिरामी र घरपरिवारका सदस्यको जिम्मेवारी त छँदै छ संक्रमण भए पनि आराम पाउँदैनन्। शारदा भन्छिन्, 'लक्षण नदेखिई पीसीआर परीक्षण गराउदैनौं। संक्रमण भइहाले पनि मुक्त हुनेबित्तिकै ड्युटीमा गइहाल्नुपर्छ।'
घरमा आमा र छोरी कोरोना संक्रमित छन्। उनको धेरै समय आमाछोरीको हेरविचारमा बित्छ। अस्पतालमा संक्रमित बिरामीको लाम छ। त्यसैले दिनभर अस्पतालमा उपचार गराइरहेका संक्रमितको रेखदेखमै व्यस्त हुन्छिन् शारदा। उसो त उनको ड्युटी सधैं एउटै समयमा हुँदैन। बिहान, दिउँसो र राति जहिले पनि पर्न सक्छ। दैनिक सात–आठ घण्टा ड्युटीमा खटिनुपर्छ उनलाई। अस्पतालको कोरोना वार्ड इन्चार्ज भएकाले बढी जिम्मेवारी छँदै छ।
एकातिर आमाछोरी बचाउनु छ, अर्कोतिर अस्पतालका बिरामीलाई। भ्याई नभ्याई छ। उनी आफैं जोखिममा छिन्, तर त्यसको कुनै पर्वाह छैन। संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिइरहेकी छन्।
‘सम्झिँदा त घुटन हुन्छ, एकातिर घरमा आमा छोरी संक्रमित छन् अर्कोतिर अस्पतालमा अटाई नअटाई संक्रमित’, चौधरीले भनिन्।
खाना खान र पानी पिउनेसम्म फुर्सद छैन उनलाई। त्यसैले उनी पुकारा गरिरहन्छिन्, यस्तो आपत् कसैलाई नपरोस्।
‘प्यास लाग्दा पानी पिउने फुर्सद छैन। प्लास्टिकको पीपीईले उत्तिकै गर्मी हुन्छ। एकातिर अस्पतालमा संक्रमितको अवस्था अर्कोतिर घरको, कहिलेकाहीं त मर्न मन लाग्छ’, उनको दुःखेसो छ।
अस्पतालमा बेड र अक्सिजन पर्याप्त छैन। भएका पनि भरिभराउ छन्। संक्रमितको चाप बढ्दै जाँदा जनशक्ति अभावले झन् बोझ थपिदिएको छ स्वास्थ्यकर्मीलाई।
बेड र अक्सिजन नपाएर संक्रमित छटपटाएको देख्दा उनी भावुक हुन्छिन्। ‘बिरामी देख्दा टिठ लाग्छ। हामीसँग कुनै विकल्प छैन। बेड र अक्सिजन पाउन कि कोही डिस्चार्ज हुनुपर्छ कि त कोही मर्नुपर्छ।’
उपचारका लागि अस्पताल आउनेको संख्या भने निरन्तर बढ्दो छ।
उनी भन्छिन्, तड्पिरहेका संक्रमित र उनीहरुका आफन्तको अनुहारमा टुलुटुलु हेरेर चिन्ता नगर्नुस् भन्नुबाहेक विकल्प छैन।
कोरोना संक्रमणको डरभन्दा सर्वसाधारणले भोगिरहेको दुःखले आकुल बनेको उनी बताउँछिन्।
‘संक्रमित सासको आस गरेर आउँछन् तर, कसको कति बेला सास जान्छ पत्तो हुन्न’, चौधरी भन्छिन्, 'हामीले पनि उपलब्ध स्रोतसाधनले भ्याएसम्म गर्ने न हो।'
भेरी अस्पतालमा संक्रमित बेडका लागि कैयौं दिनदेखि पालो पर्खिरहेका छन्। कोरोना उपचारका लागि छट्याइएको १४० वटा बेड अचेल भरिभराउ भइहाल्छ।
‘आफन्त अस्पतालबाहिर भए पनि राखिदिनुस् भन्छन् तर यहाँ न ठाउँ छ न अक्सिजन नै। पीर नगर्नुस् भन्नु बाहेक केही गर्न सकिने अवस्था छैन’, चौधरीले नेपाल समयसँग भनिन्।
स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालका लागि पीपीई सेट पठाएको छ, तर पूरै प्लास्टिकको। नेपालगन्जको गर्मीमा एकदुई घण्टाभन्दा बढी पीपीई लगाएर बस्न नसकिने स्वास्थ्यकर्मी बताउँछन्।
चौधरी भन्छिन्, 'प्लास्टिकको पीपीईले सहनै नसकिने गर्मी हुन्छ। कतिपय नर्स त औषधि बाँड्दाबाँड्दै ढल्छन्।’
गुणस्तरीय पीपीईका लागि उनले अस्पताल प्रशासनसँग अनुनय नगरेकी पनि होइनन्। उनी भन्छन्, प्रशासनले मन्त्रालयले यही पठायो, अर्को छैन यसैले काम चलाउनुस् भन्छ।
अस्पतालमा संक्रमितको पीडा र आफन्तको रुवाइले चौधरीको मन कुँडिन्छ।
‘स्वास्थ्यकर्मी संक्रमित भए पनि एक हप्तामा काममा फर्किनुपर्छ। भेरी अस्पतालका स्वास्थ्यकर्मी र संक्रमित भगवान् भरोसामा पीडाको पहाड चढिरहेका छन्’, चौधरी भन्छिन्।
अस्पतालले स्वास्थ्यकर्मीलाई लक्षण नदेखिई कोरोना परीक्षण नगर्नु भनेको छ। परीक्षण गरे पोजेटिभ देखिने भएकाले परीक्षण नगर्नु नै उपयुक्त रहेको उनी बताउँछिन्। पोजेटिभ देखिए काम गर्ने साहस हराउने भएकाले पनि उनले परीक्षणका लागि चासो दिएकी छैनन्।
सकेसम्म कोही संक्रमित नहोऊन् र भए पनि आईसीयू वा आइसोलेसनमा रहेका बिरामी छिटै डिस्चार्ज होऊन् जस्तो लाग्छ चौधरीलाई।
विडम्बना! त्यस्तो हुन्न। संक्रमित थपिँदै जान्छन्। आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका धेरैजसोको त्यहीं प्राण जान्छ।
कर्म नै सेवा हो अनि सेवा नै धर्म यही भावनाले जिम्मेवारीमा लागिपरेको उनको भनाइ छ।
बिरामीको चीत्कार, मनिटरको टीँटीँ, कुरुवा र स्वास्थ्यकर्मीको दौडधुप मात्रै हुन्छ अस्पताल परिसरमा।
अघिल्लो वर्ष कारोना महामारी चल्दा डर लाग्थ्यो चौधरीलाई। अहिले डर हराएको छ। साथै बिरामी छटपटाएको देख्दा पीडा थपिएको उनी बताउँछिन्।
‘काम त हामीले नगरे कसले गर्छ? तर, अस्पतालका दृश्यले मर्माहत बनाउँछन्’, चौधरी भन्छिन्।
जनशक्ति अभावमा संक्रमितलाई चाहे जति केयर, कन्भिन्स र उपचार गर्न नपाएको चौधरी बताउँछिन्। सरकारले भेरी अस्पतालका लागि भन्दै ५० जना जनशक्ति पठाए बोझ कम हुने उनी बताउँछिन्।
स्वास्थ्यकर्मीले पूर्ण सुरक्षाका उपाय अपनाउँदै जिम्मेवारीमा खटिएका छन्। उनी भन्छिन्, ‘सुरक्षित रहन हरेक मापदण्ड पालना गर्नुका साथै आत्मबलका साथ काम गरिरहेका छौं। तर, कोरोना परीक्षण गराई उपचारमा खटिने हो भने केही मात्रै स्वस्थ होलान्’, चौधरी भन्छिन्।
उनले भेरी अस्पतालमा काम गरेको २७ वर्ष पुगिसकेको छ। ‘डरले मृत्युलाई जितोस् तर मृत्युले डरलाई नजितोस्’, चौधरी भन्छिन्, ‘पेन्सन पाउन दुई वर्ष बाँकी छ। यसअघि यस्तो कठिन घडी कहिल्यै आएको थिएन।’
उनी बुवाकै प्रेरणाले स्वास्थ्य सेवा रोजेको बताउँछिन्। २०२० सालमा राप्ती सोनार–४ मा जन्मेकी उनी पश्चिम क्षेत्रकी पहिलो थारु नर्स हुन्।
विद्यालय पढ्दा गाउँबाट स्कुल जाने एउटी मात्र छात्रा थिइन् उनी। कतिपयले छोरी पढाउने भयो भन्दै बुवाको खिसिट्युरी गरेका घटना अझै उनको दिमागमा ताजै छन्।
उनी भन्छिन्, 'हजुरआमा बिरामी हुँदा बुवाले अस्पतालमा नर्स देख्नुभएछ। मैले नाइँ भन्दा पनि जबरजस्ती नर्स बनाइछाड्नुभयो। बुवाकै कारण अहिले सेवा गर्न र हातमुख जोड्न पाएकी छु।’
दाङ, देउखुरी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लामा आफू नै पहिलो थारु नर्स भएको दाबी उनको छ।
अस्पतालको कोरोना वार्डमा चौधरीसहित १९ जना स्टाफ नर्स छन्।