बैतडी - चट्यांग लागेर मृत्यु भएका वडा सदस्यको शव पोष्ट मार्टमका लागि सदरमुकाम ल्याउँदै गर्दा गत मंगलबार जीप दुर्घटना भयो। दुर्घटनामा थप ६ जनाको ज्यान गयो। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडिदेवलस्थित गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको जीपमा सवार १० जनामध्ये ४ जनाले घटनास्थलमै प्राण त्यागे।
घाइते चालकसहित थप २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा ज्यान गयो। बैतडीको देहीमाण्डौंदेखि गणमेश्वरसम्मको ३१ किलोमिटर सडक खण्डभित्र दुर्घटना भएर ज्यान गएको यो पहिलो घटना भने होइन। यसअघि पनि पटक-पटक दुर्घटना भएका छन्।
नाम मात्रको सडक
जापानी सहयोग नियोग जाइका (तत्कालीन जीआइजेड)द्वारा निर्माण गरिएको सो सडक खण्ड (देहीमाण्डौंदेखि गणमेश्वर) सम्मको दूरी ३१ किलोमिटर छ। रोजगारी पाउने आशा र सदरमुकाम गोठालापानीसम्म जोडिन सुविधा हुने भन्दै स्थानीयले २०६७ मा सो सडक खण्ड निर्माणको काम थाले। स्थानीयले कुटो र कोदालोको भरमा त्यो सडक खन्न थाले।
स्थानीयले तीन वर्ष लगाएर खनेको सडक २०७० सालमा गणमेश्वर मन्दिर नजिकै पुग्यो। सडक खनेको ज्यालास्वरुप स्थानीयले चामल, दाल र नुन पाएका थिए। त्यसबाहेक स्थानीयतको आशा छिटो सदरमुकाम पुग्ने सुविधा होस् भन्ने नै थियो।
तर, सडकले सुविधाभन्दा सास्ति दिइरहेको छ। ‘गणमेश्वरबाट देहीमाण्डौं आउँदा होस् वा देहीमाण्डौंबाट गणमेश्वर जाँदा होस् चाहिएको बेला समयमै जीप नै पाइँदैन,’ स्थानीय प्रकाश पन्त भन्छन्।
उनका अनुसार सर्वसाधारणले जीप पाउन लामो समय कुर्नुपर्छ। त्यो पनि तोकिएको भाडा दर भन्दा तीन गुणा, चार गुणासम्म बढी भाडा तिरेमा मात्रै दुई चार जना सर्वसाधारणले जीप पाउँछन्। नत्र चालकले यात्रु लिनै मान्दैनन्।
स्थानीय तहका जनप्रतिनिधिहरू तथा व्यापारी बाहेक सर्वसाधारणलाई चाहिएको समयमा सवारी साधन पाउनै मुस्किल भएको स्थानीयको गुनासो छ। यस्तो सास्तिले स्थानीयको सदरमुकामसम्मको दूरी अझै घट्न सकेको छैन।
जीप बाहेक सो सकडमा बस चलाउन सक्ने ठाउँ नै छैन। कुटो कोदालोले खनेको सडक निकै साँघुरो छ।
साँघुरो भएकै कारण विपरित दिशाबाट बाइक आउँदा पनि जीपलाई साइड काट्न निकै गाह्रो हुनेगर्छ।
जीपमा ३१ किलोमिटर सडक पार गर्दा यात्रुले ३ देखि ५ सयसम्म तिर्नुपर्छ। ‘कहिलेकाँही ७ सय रुपैयाँसम्म पनि लिने गरेका छन्,’ स्थानीय पन्त भन्छन्, ‘यस विषयमा त झन प्रशासनको ध्यान नै गएको छैन। यात्रा असहज मात्र नभएर निकै खर्चिलो समेत हुनेगरेको छ।’
सुरुदेखि नै दुर्घटना
सडक पुगेपछि स्थानीयमा सुविधा पाउने आसा थियो। गाउँको उत्पादनले सदरमुकाममा समयमै बजार पाउने उनीहरूको विश्वास थियो। तर, सडक स्थानीयका लागि वर्षैपिच्छे मृत्युको कारण बनिरहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो तीन वर्षमा मात्रै सोही सडक खण्डभित्र ३ वटा दुर्घटना भएका छन्। ती ३ वटा दुर्घटनामा ११ जनाको ज्यान गुमाइसकेका छन्।
२०७५ मा दशरथ चन्द नगरपालिकाको नानीगाड भन्ने ठाउँमा भएको जीप दुर्घटनामा ३ पुरुष र १ महिला गरी ४ जनाले ज्यान गुमाए।
सोही वर्ष दशरथचन्द नरगपालिका वडा नम्बर ९ को पार्सा खोलामा भएको दुर्घटनामा १ जना पुरुषको ज्यान गयो। गत मंगलबार मात्रै ६ जनाको ज्यान जानेगरी अर्को दुर्घटना भएको छ।
गत मंगलबार भएको दुर्घटनाका एक घाइते निको भएर डिस्चार्ज भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले थप तीन जनाको धनगढीमा उपचार भइरहेको बताए।
सो सडक खण्डमा २०७१ सालमा पहिलो पटक जीप दुर्घटना भएको थियो। दुर्घटनामा देउडा गायक कृष्णानन्द जोशीसहीत दुईजनाले ज्यान गुमाएका थिए।
२०७३/७४ सालमा पनि सोही सडक खण्डमा मानवीय क्षति हुनेगरी दुर्घटना भएका थिए। दुर्घटनाको पुरानो एकिन तथ्याङ्क बताउन नसक्ने प्रहरी निरीक्षक खड्काले बताए।
पन्तले बेला-बेला ट्याक्टर दुर्घटनासमेत हुने गरेको बताए। 'अहिलेसम्म धेरै पटक ट्याक्टर दुर्घटनामा परिसकेका छन्। तर, ट्याक्टर दुर्घटनामा परी कुनै मानविय क्षति भने भएको छैन ', पन्तले भने।
साँघुरो सडक र सिकारु चालक दुर्घटनाको प्रमुख कारण भएको स्थानीय पन्ताको गुनासो छ। साँघुरो सडकमा सिकारु चालकले चालक अनुमतिपत्र बिनै सवारी हाक्नेगरेको उनको गुनासो छ।
सडक स्तरोन्नतिमा ढिलाइ
साँघुरो सडकभित्र खाल्डा खुल्डी थुप्रै छन्। सवारीसाधन हल्लिएर ज्यानै दुखाउँछ। तर, स्तरोन्नतिमा जिल्ला सडक डिभिजन कार्यालय बेखबर जस्तै छ। २०७० सालमा सञ्चालनमा आएको उक्त सडकका बारेमा कुनै जानकारी नभएको जिल्ला सडक डिभिजन कार्यालय पाटनले जनाएको छ।
सडक डिभिजन कार्यालय पाटन प्रमुख रमेश चौधरी सो सडक खण्डको बारेमा कुनै पनि जानकारी नभएको बताउँछन्। ‘कसले बनाएको हो? कहिले बनाएको हो? कुन इन्जिनियरले पास गरेको हो? पूर्वाधार विकास कार्यालयलाई सोध्नुस्,’ उनले भने, ‘हाम्रो कार्यालय संघ मातहतको हो। संघ मातहत त्यो सडक छैन।’
पछिल्लो समय मुलुक संघीयतामा गएसँगै उक्त सडक खण्ड प्रदेश मातहत रहेको चौधरीको भनाई छ।
जिल्ला पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रकाश जोशी आगामी दिनमा स्तरोन्नति गर्दै जाने बताउँछन्। ‘३१ किलोमिटरमध्ये केही स्तरोन्नतिको काम पनि भएको छ,’ उनले भने, ‘बाँकी काम चाँडै हुनेगरि प्रक्रिया आगाडि बढाइरहेका छौं।’