काठमाडाैं- साँझ छिप्पिँदै जाँदा पशुपति क्षेत्रमा सर्वसाधारणको लाम बढ्दै थियो। भीडमा बालबालिकादेखि वृद्धवृद्धासम्म थिए। भीडमा भेटिए– मुगु सोरु गाउँपालिकाका ५५ वर्षीय दोर्जे लामा। उनले भने, ‘यहाँ भात खान पाइन्छ। त्यसैले लाम लागेको!’ पशुपति क्षेत्रमा आइतबार उनीजस्तै करिब २५० जना भातको पोको पर्खिरहेका थिए।
‘बिहानैदेखि एक कप चिया पनि खाएको छैन, भोकले पेट बाउँडिन थालिसक्यो’, लामाले भने। लामा काठमाडौंमै ज्यालामजदुरी गर्छन्। १६ गते लागेको निषेध आदेशपछि ठेकदारले काममा नआउन भने। त्यसपछि उनी बेरोजगार भए। भन्छन्, ‘महामारीले फेरि मागी खाने बनायो, गरी खानेले जहिल्यै भोकै बस्नुपर्ने?’
लामा मजदुरीका लागि तीन वर्षअघि काठमाडौं आएका हुन्। एक वर्ष राम्रै बिते पनि पछिल्ला दुई वर्ष भने उनका लागि निकै पीडादायी बने। ‘काठमाडौंले भोक पीडा बुझायो, पोहोर साल त भोकै बसें–बसें यस वर्ष पनि भोकै परिने भो’, लामो सास फेर्दै भने उनले।
४० वर्षीय काले नेपाली लाइनको पछाडि थिए। रसुवा स्थायी घर भएका उनी काठमाडौं बस्न थालेको २० वर्ष भएको रहेछ। आङमा लगाएको स्विटर देखाउँदै उनले भने, ‘एक जना दाइले दिनुभएको।’ यत्ति भन्दा उनको अनुहार उज्यालो भयो। अनुहारमा भोक भने स्पष्ट देखिन्थ्यो।
लामो सास फेर्दै लाइनमा थपिए कैलालीका डम्बर चौधरी। उनले भने, ‘काठमाडौंमा बस्न थालको १० वर्ष भयो। बालुवा बोक्ने र फलामका बंग्याउनेबाहेक अन्य सीप छैन।’ उनी १८–१९ वर्षको उमेरदेखि यसरी नै गुजारा गर्दै आएका छन्।लकडाउन हुने हल्ला भने नसुनेका होइनन् रानाले। उनले भने, ‘खर्च थिएन, त्यसैले घर जान पाइनँ। रोगले भन्दा पहिले भोकले पो मरिन्छ कि!’
राना मासिक पाँच हजार भाडा तिरेर गौशालामा बस्छन्। चैतसम्मको भाडा दिइसकेका छन्। अब कसरी तिर्ने भन्ने पिर पनि उत्तिकै छ उनलाई। परिवारमा पत्नी र दुई सन्तान छन्। गत वर्षको लकडाउनमा खर्च धान्न नसकेपछि उनले पत्नीलाई घर पठाएका थिए। पत्नीले केही दिनअघि मात्र नुनतेलका लागि पैसा पठाइदिनू भनेको सम्झँदै रानाले भने, ‘म यहाँ भोकै छु, घरमा कहाँबाट पैसा पठाउनु? बिजोग छ।’
‘कोठामा दुईतीन किलो चामल त छ तर कहिलेसम्म बन्द हुने थाहा छैन। बाहिर भात नपाएको दिन पकाएर खान्छु।’
गोर्खा मिरकोट–९ का राजेन्द्र बानियाँको पनि हालत उस्तै छ। उनी भात खानकै लागि वसुन्धाराबाट भित्री बाटो हुँदै पशुपति आएका रहेछन्। कमजाेर देखिएका ५५ वर्षीय राजेन्द्रले भने, ‘उमेर त त्यति धेरै होइन तर रोगले कमजोर र बूढो बनायो।’
घर बनाउने ठाउँमा इँटा बोक्ने गर्छन् राजेन्द्र। काम छुटेकाले गुजारा गर्न कठिन भएको उनलाई। ‘कोठामा दुईतीन किलो चामल त छ तर कहिलेसम्म बन्द हुने थाहा छैन। बाहिर भात नपाएको दिन पकाएर खान्छु’ उनले भने। वसुन्धारामा मासिक तीन हजार तिरेर टिनको छाप्रोमा बस्छन् राजेन्द्र। पत्नी र दुई सन्तान भने मिरकोटमै छन्।
निषेध आदेश खुलिदिए हुन्थ्यो जस्तो लाग्छ बानियाँलाई। तर महामारीको भय पनि उत्तिकै रहेको उनको भनाइ छ। भोकको पीडा एक पोको भातका लागि घण्टौं कुर्दा पनि खाली पेट फर्किनुपर्ने भुइँमान्छेबाहेक कसलाई थाहा होला र?
चाबहिल गोपीकृष्ण हलनजिक मकै पोलेर बेच्थिन् काभे्रकी ६५ वर्षीया धनमाया तामाङ। १६ गते भएको निषेध आदेशले उनको काम रोकियो। त्यसपछि ‘कपनको फ्रेन्डसिप युवा क्लबमा पुगिन्। उनलाई आस थियो– फ्रेन्डसिप युवा क्लबले त पक्कै राहतको ‘जुगाड’ गरिदिन्छ।
अघिल्लो लकडाउनमा फ्रेन्डसिप युवा क्लबले खाना र राहत वितरण गरेको थियो। तर क्लबले यस पटक राहत बाँडेको रहेनछ। उनी खिन्न भएर पशुपतितिर लागिन्। उनले भनिन्, ‘भात खान आउने मजदुरको संख्या धेरै हुन्छ। लाइनमा नबसे त खानै पाइँदैन। दुईतीन घण्टाअघि नै आइपुग्छु।’
दैनिक ज्याला गरेर घरखर्च चलाउँदै आइरहेकी दाङकी उमा चौधरी पनि क्लब पुगेकी थिइन्। उनी पनि रित्तो हात फर्किन पर्यो।
दैनिक दर्जन श्रमिक राहत बाँडेको छ कि भनेर सोध्न आउने गरेको बताउँछन् क्लबका अध्यक्ष सानुभाइ लामा। अघिल्लो लकडाउन जस्तो कडा नभएको बुझाइ उनको छ। भन्छन्, ‘अहिलेचाहिँ बाँडको छैन। खास मजदुरको नामावली तयार पारिरहेका छौं। समय आएपछि राहत संकलन गरी बाँड्छौं ।’
चाबहिलमा साग बेच्दै आएकी एक वृद्धा ज्याला मजदुरी गर्नेहरु मर्कामा परेको कसैले नदेखेको बताउँछिन्।
महाराजगन्ज चक्रपथको सडक किनारमा जुत्ता सिलाउँथे सप्तरीका विष्णुकुमार चमार। निषेध आदेश पनि उनको काम बन्द छ। साँझपख एकछिन खोल्न पाइन्छ कि भन्ने आसले उनी गाउँ फर्किएनन्। निषेध आदेश भएपछि उनका ग्राहक पनि कता हराए कता। उनले विगतमा राहत पाए पनि यसपालि कसैले नदिएको बताउँछन्। भन्छन्, ‘पोहोर डेरामै खबर आउँथ्यो। यसपालि त राहत दिन कोही आएन।’
पशुपति क्षेत्रमा हरेक साँझ ६ बजे डिभाइन पाथ इन्टरनेसनल फाउन्डेसनले मजदुरलाई निःशुल्क खाना खुवाउँदै आएको छ।