शनिबार, साउन १२, २०८१

नयाँ बसपार्कमा दोहोरिएको नियति

स्थानीय सरकारहरूले आ-आफ्ना नागरिकका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था नगरी भीड पार्दै गाउँ पुगेका मानिस घरपरिवारसँगै बस्न थाले कोभिड झन् बढी फैलिने सम्भावना रहेको जानकारहरू औंल्याउँदै आएका छन्।
 |  बुधबार, वैशाख १५, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- अवस्था सामान्य रहिरहन्थ्यो भने कञ्चनपुरका भुवन सार्की अहिले स्नातक तेस्रो वर्षको परीक्षा दिइरहेका हुन्थे। तर उनको अहिले स्नातक दोस्रो वर्षको परीक्षा समेत पूरै विषय दिन पाएका छैनन्।

triton college

कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि पोहोर साल पोहोर साल (२०७६) चैतदेखि लागू गरिएको लकडाउनका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक दोस्रो वर्षको परीक्षा यही वैशाख पहिलो सातादेखि सुरु भएका थिए। तर, बीचमै कोभिडको दोस्रो लहरको बाढी आएसँगै स्नातक दोस्रो वर्षका सबै संकायका परीक्षा पूरा हुन पाएनन्। 

यही बिहीबार (वैशाख १६ गते) हुन गइरहेको विज्ञान संकाय अन्तर्गत गणित विषयको परीक्षा भुवनजस्ता थुप्रै विद्यार्थीले दिन पाएनन्। भुवन बुधबार साँझ गाउँ फर्किने सुरसार गर्दै गोगंबुस्थित नयाँ बसपार्क पुगेका थिए। कारण थियो नयाँ भेरियन्ट भनिएको कोरोना भाइरसको दोस्रो लहरको सन्त्रास।

बिहीबारदेखि दुई साता निषेध आदेश जारी गर्ने सरकारको निर्णयसँगै पोहोर साल जस्तै यस वर्ष पनि निषेध आदेश लम्बिने हो कि भन्ने डर बोकीबोकी गाउँ फर्किन लागेको भुवनले बताए। घर जान टिकट लिइसकेका भुवन नयाँ बसपार्कमा गाडी पर्खिरहेका थिए। उनले घर जाने टिकट बनाएको गाडी भने कञ्चनपुरबाट काठमाडौं आइपुगेकै थिएन। 

काठमाडौंमा रोजगारीसमेत नभएको बताएका उनले गाउँमा गएर कम्तीमा आमाबुवालाई सघाउने आशा व्यक्त गरे।

Metro Mart
vianet

‘चार-पाँच जना साथीहरु छौं,’ बुधबार साँझ ५ बजे नयाँ बसपार्कमा गाडी कुरिरहेको अवस्थामा भेटिएका भुवनले भने, ‘हामीले टिकट काटेको गाडी अहिले आउँदै छ रे। चेकपोस्ट आइपुगेको छ रे।’

कोरोना भाइरसको संक्रमण जोखिम कम गर्ने भन्दै गत वर्ष चैतदेखि नै सरकारले पहिलो चरणमा छोटो समयका लागि लकडाउन घोषणा गरेको थियो। तर, नियन्त्रणमा नआएपछि लकडाउन लम्बिँदै गयो। त्यसै वर्ष साउनमा हुनुपर्ने स्नातक दोस्रो वर्षका परीक्षा भएन। पोहोर नै हुनुपर्ने स्नातक दोस्रो वर्षका परीक्षा भुवनले यसवर्ष दिइरहेका थिए। वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा ३ विषयको भइसकेको छ। २ वटा बाँकी छन्। 

त्रिभुवन विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको सूचना जारी गरेकाले बाँकी २ परीक्षा कहिले हुने टुंगो छैन। बिहीबारदेखि वैशाख महिनाभर निषेध आदेश घोषणा भइसकेको छ। 

सोमबार नै निषेध आदेशको निर्णय भएपनि त्यसयता बुधबार रातीसम्म गाउँ फर्किने समय सरकारले नै दिएको छ। त्यही समय अवधि भित्र गाउँ फर्किन लागेका भुवनले भने, ‘यस वर्ष पनि पोहोर जस्तै लम्बिँदै जाने हो कि? भन्ने लागेर गाउँ फर्किँदै छौं।’

परीक्षा नभएपछि त्यतिकै काठमाडौंमा बस्नुको अर्थ नभएको उनले बताए। काठमाडौंमा रोजगारीसमेत नभएको बताएका उनले गाउँमा गएर कम्तीमा आमाबुवालाई सघाउने आशा व्यक्त गरे।

000

कोभिडको दोस्रो लहरको सन्त्रासले गाउँ फर्किन लागेका भुवनजस्तै अर्का व्यक्ति हुन् रोशन सावद। गत वर्ष कोभिड नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाकउनपछि गाउँ फर्केका सावद गत पुस पहिलो साता मात्रै काठमाडौं आएका हुन्। कोभिडको संक्रमण विस्तारै अन्त्य हुने आशासहित काठमाडौं आएका उनले सानो व्यवसाय थाल्ने जमर्को गरिरहेका थिए।

यसअघि त्रिचन्द्र क्याम्पसमा पढाई गरिरहेका उनले यस वर्षबाट पढाई सँगसँगै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिरहेका थिए। तर, उनलाई पनि उही नियति दोहोरियो। ‘आफैं केही गर्नुपर्छ भनेर लागिरहेको थिएँ,’ उनले भने, ‘अब सरकारले नै निषेधाज्ञा भनिसकेपछि तत्काल सुरु गर्न उचित ठानिएन।’

आफ्ना सपना र योजनालाई लात मारेर गाउँ फर्किने सार्की र सावद प्रतिनिधि उदाहरण मात्रै हुन्।

बस र बसपार्क खचाखच
बुधबार साँझ गोंगबुस्थित नयाँ बसपार्क सपना र योजना बिर्सिएर घर फर्कनेहरूले खचाखच भरिएको थियो। बसमा मानिसको खाँदाखाँद थियो। सहचालकहरु आ– आफ्नो गन्तव्यको नाम भन्दै यात्रु बेलाइरहेका थिए। दाङ दाङ, बर्दिया, बदिर्या...यस्तै। 

गाडी र मानिसको कोलाहल तथा भीडभाड देख्दा दशैं मनाउनका लागि गाउँ फर्किनेको जस्तो लर्को नयाँ बसपार्कमा देखिन्थ्यो। एक वर्षमै नियति दोहोरिँदाको परिणाम थियो यो।

नयाँ बसपार्कमा उपत्यका छाड्नेहरूको भीड। तस्बिर : दिनेश श्रेष्ठ

गत वर्ष चैत वैशाखमा मात्रै महामारीबाट जोगिनका लागि गाउँ फर्किएकाहरु महामारी अन्त्य हुन लागेको आशासहित विगतका सपना बोकेर फेरि काठमाडौं फर्किएका थिए गत मंसिरयता। काठमाडौं फर्किएर कोही आफ्नै व्यवसाय सञ्चालन गर्ने सुरसार गर्दै थिए। कोही नयाँ रोजगारी सहित जम्ने तर्खरमा त कोही पढाईकै सिलसिलामा.. परीक्षा तयारी .. आदि इत्यादि। तर, नियति दोहोरिएपछि आ-आफ्ना योजना, कार्यक्रम ज्यूँका त्यूँ छाडेर गाउँ फर्किनेको लर्को नयाँ बसपार्कमा देखिन्थ्यो।

नयाँ भेरियन्टको भनिएको भाइरसले छिमेकी मुलुक भारत तहसनहस छ। त्यहाँका हृदयविदारक दृश्य समाचारमा छाउन थालेपछि नियन्त्रण गर्ने प्रयासस्वरुप निषेध आदेश जारी गरिएको हो।

निषेध आदेशका कारण काठमाडौंबाट कोही रोजगारी गुमाएर गाउँ फर्किंदै थिए। कोही पढ्दा पढ्दै मुखैमा पुगेका परीक्षा छाडेर गाउँ फर्किँदै थिए। बसपार्कमा झिटिगुन्टा सम्हालेर आफन्त कुरिरहेका दृश्य मन छुने थिए। 

घर जाने बसको प्रतीक्षामा रहेका युवा। तस्बिर : दिनेश श्रेष्ठ

झोलाझिम्टी (लगेज) एक ठाउँमा राखेर यताउता डुलिरहेका प्रायः निराश अनुहारका दृश्यले मानिसको भीड पनि उजाडिएको थियो। 

प्राय मानिसले नाक र मुख छोपिने गरी मास्क लगाइरहेका थिए। कसैकसैले फेस सिल्डसमेत लगाएका थिए। सरकारले भन्ने गरेको दुई मिटरको भौतिक दुरी पालना गर्ने कुनै सम्भावना थिएन। धेरैजसोले स्यानिटाइजर बोकेपनि बसपार्कमा देखिएको भीडभाड र बसभित्रको वातावरण कोभिड-१९ फैलिन मद्दत गर्ने किसिमको थियो भन्न सकिन्छ। 

बसको प्रतीक्षामा रहेकी शिशुसहितकी एक महिला। तस्बिर : दिनेश श्रेष्ठ

सरकारले गाउँ फर्किने समय दिएपनि नयाँ बसपार्कमा देखिएको जस्तो भीडभाडले गाउँसम्मै कोरोना फैनिले जोखिम उत्तिकै देखिन्थ्यो। स्थानीय सरकारहरूले आ-आफ्ना नागरिकका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था नगरी भीड पार्दै गाउँ पुगेका मानिस घरपरिवारसँगै बस्न थाले कोभिड झन् बढी फैलिने सम्भावना रहेको जानकारहरू औंल्याउँदै आएका छन्।

सरकारले गत सोमबार निषेध आदेश जारी गर्ने निर्णय गरेसँगै सोमबारदेखि नै गाउँ फर्किनेको लर्को सुरु भएको हो। काठमाडौंका मुख्य नाका कलंकीमा साँझपख र कोटेश्वरमा बिहानीपख गाउँ फर्किने अत्यधिक भीड देखिएको थियो। 

प्रकाशित: Apr 28, 2021| 16:14 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।