काठमाडौं– नेपाल आयल निगमले गत शुक्रबार (३ वैशाख) देखि पेट्रोलियम पदार्थको कारोबार अनलाइन माध्यमबाट सुरु गरेको छ। व्यवसायीहरुले पेट्रोलियम पदार्थको माग तथा त्यसको भुक्तानीसमेत अनलाइनबाटै गर्न सकिने गरी निगमले वेब पोर्टल बनाएको छ।
शुक्रबारदेखि सुरु गरे पनि आइतबार त्यसको उद्घाटन गरी औपचारिक रुपमा सुरु गरिने निगमले यसअघि नै जानकारी दिएको थियो। निगमका प्रवक्ता विनितमणि उपाध्यायले शुक्रबारदेखि सुरुवात गरिएको अनलाइन कारोबारको आइतबार आपूर्तिमन्त्रीबाट उद्घाटन गरी आपैचारिकता दिने तयारी रहेको बताएका थिए। तर, आइतबार त्यसको उद्घाटन भने भएन।
आयल निगमका इन्जिनियर एवं इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना प्रमुख राजन नेपालका अनुसार केही प्राविधिक समस्या देखिएकाले आइतबार उद्घाटन नगरिएको हो। उद्घाटन नगरिए पनि व्यवसायीले अनलाइनमार्फत इन्धनको माग तथा त्यसको भुक्तानी गर्ने सुविधा पाइरहेका परियोजना प्रमुख नेपाल बताउँछन्।
‘शुक्रबारदेखि सुरु गरिसकेपछि केही प्राविधिक कठिनाइ देखियो। प्राविधिक रुपमा थोरै क्लिनिङ गर्दै गइरहेका छौं। अबको दुई हप्ताभित्रै उद्घाटन हुन्छ,’ उनले भने। अहिले देखिएको समस्या ठूलो नभएको र चाँडै समाधान हुने उनले बताए।
निगमले सुरु गरेको अनलाइन कारोबार प्रणालीअनुसार व्यवसायीले इन्धनको कारोबार गर्दा डिलरहरुको कोड बनाइन्छ। सोही कोडमार्फत व्यवसायीले रकम भुक्तानी गर्नुपर्छ। तर, व्यवसायीले प्रक्रिया नबुझ्दा कोड नै नदेखिने समस्या देखा परेको छ।
‘कतिपय डिलरहरुको कोड बनाइयो। तर उनीहरुले पैसा जम्मा गर्दा कोड नआउने, कोड नहालेपछि कसको पैसा आयो भनेर छुट्याउन गाह्रो हुने समस्या भएको थियो,’ नेपालले भने, ‘दैनिक करिब १२ सय व्यवसायीले जम्मा गर्दा कोड नआउने समस्या भएपछि त्यसलाई समाधान गर्ने प्रयास भइरहेको छ।’ कतिपय कुराहरु सच्याउनुपर्ने भएकाले नै आइतबार उद्घाटन नगरिएको उनको भनाइ छ।
आयल निगममा करिब १९ सय वटा ट्यांकर तथा ट्रक आवद्ध छन्। ती १९ सबैमा क्यालिब्रेसनको काम सम्पन्न भएको निगमले जनाएको छ। कतिपय ट्यांकर क्यालिब्रेसनपछि नवीकरण भएका कारण अनलाइन सिस्टममा त्यसको समेत अद्यावधिक गुर्नपर्ने देखिएको छ।
‘नवीकरण भएर आउँदा तिनको क्यालिबे्रसन परिवर्तन भएर आउँछ। ती ट्यांकरलाई पनि हामीले अपग्रेड गर्दै जानुपर्छ,’ परियोजना प्रमुख नेपाल भन्छन्, ‘विवरण अद्यावधिक गर्दा केही समय लाग्ने भएकाले केही दिनका लागि उद्घाटन स्थगित गरेका हौं।’
कसरी आबद्ध हुने अनलाइन सिस्टममा ?
नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत सबै किसिमका इन्धनको माग व्यवसायीले अनलाइनबाटै गर्न सक्ने गरी वेब पोर्टल तयार गरेको हो। वेबसाइटमा गएर व्यवसायीले आफ्नो विवरण दर्ता गराउनु पर्नेछ।
व्यवसायीले विवरण दर्ता गरेपछि सो विवरणसहितको रिक्वेस्ट निगमलाई जान्छ। विवरण भेरिफाइ गरेर निगमले त्यसलाई एप्रुभ गर्छ र व्यवसायीलाई लगइनका लागि युजरनेम र पासवर्ड दिन्छ। त्यसपछि व्यवसायीले लगइन गर्न सक्छन्।
लगइन गरिसकेपछि पोर्टलको ड्यासबोर्डमा सबैभन्दा पहिले कुनै पनि इन्धनको मूल्य परिवर्तन भएको छ कि छैन त्यसको विवरण, अहिलेसम्म सम्बन्धित व्यवसायीले लिइसकेको इन्धनको परिमाणसहितको विवरण र व्यवसायीले गरेको मागलगायत विवरण देखिन्छ।
व्यवसायीले राति १२ बजेदेखि बिहान ९ बजेसम्म अनलाइनमार्फत इन्धन माग गर्न सक्नेछन्। यसअघि बैंकमा पैसा जम्मा गरेर भौचर निगमलाई बुझाई बिहान ८ बजेदेखि १० बजेसम्म इन्धन माग गर्नुपर्ने व्यवस्था थियो।
वेब पोर्टलमा गइसकेपछि व्यवसायीले आफूलाई कुुन इन्धन कति परिमाणमा चाहिने हो, सोअनुसार माग गर्न सक्ने निगमले जनाएको छ। बिहान ९ बजेपछि भने अनलाइनमार्फत इन्धनको माग गर्न मिल्दैन।
व्यवसायीबाट माग आएपछि निगमका सम्बन्धित कार्यालयलाई केन्द्रले निर्देशन जारी गरिदिन्छ र व्यवसायीले इन्धन पाउँछन्। अहिले अनलाइन र यसअघि प्रचलनमा रहेको भौचर प्रणाली दुवै माध्यमबाट इन्धन माग गर्न सकिने निगमले जनाएको छ।
व्यवसायीले वेब पोर्टलमा गरेको डिमान्डको आधारमा निगमले सबै प्रक्रिया एप्रुभ गरिसकेपछि व्यवसायीले आफ्नो इन्धन कुन गाडीमा आउँदै छ भनेर पोर्टलमै हेर्न सकिने व्यवस्था गरिएको छ।
निगमका अनुसार अनलाइनमार्फत इन्धनको कारोबार गर्ने प्रणाली मुलुकभरका सबै डिपोमा लागू हुनेछ। आइतबार रोकिएको उद्घाटन पनि १५ दिनभित्रै गर्ने गरी निगम अघि बढिरहेको अधिकारीहरुले बताएका छन्।
निगमले अनलाइन कारोबारलाई प्राथमिकता दिने र सोही सिस्टमलाई नेपाल क्लियरिङ हाउससँग इन्टिग्रेड गर्ने कामका लागि परियोजना खडा गरेको छ। समग्र परियोजनाको लागत २३ करोड रुपैयाँ छ।
यस्ता छन् फाइदा
- व्यवसायीले घर वा कार्यालयबाटै इन्धन माग गर्न सक्ने
- अनलाइन पेमेन्टको सुविधा
- रियलटाइम मनिटर गर्न निगमलाई सजिलो