मंगलबार, असोज १, २०८१

सोचेझैं रै’नछ जिन्दगी

रोल्पा माओवादी विद्रोहको केन्द्र नै थियो उतिबेला। उनीहरूको घर सोही जिल्लाको राङ्सी। २०६० चैत एक साँझ उनका पति बेपत्ता भए। कसले बेपत्ता पार्‍यो अहिलेसम्म पत्तो छैन। न उनी तत्कालीन विद्रोहीका समर्थक न राज्यका। 
 |  शुक्रबार, वैशाख ३, २०७८
nespernesper

अंगद सिंह

अंगद सिंह

शुक्रबार, वैशाख ३, २०७८

प्रेम गरेको मान्छेसँग उकालीओराली गर्दै बाँच्ने रहर कसलाई नहोला र? रोल्पा राङ्सीकी २० वर्षीया उर्मिला मगरका पनि यस्तै सुनौला सपना थिए।

triton college

मन परेको मान्छेसँग प्रेम गर्दा धेरैले उनीमाथि औंला उठाए। कतिले गाउँ छाड्न धम्की पनि दिए। सच्चा प्रेममा डुबेकी उनी कत्ति पनि डगमगाइनन्।

घर र समाजसँग लडेर उर्मिलाले २०५९ मंसिरमा प्रेम विवाह गरेरै छाडिन्। त्यसपछिको अठोट थियो– अंकुरित प्रेमलाई पुष्पित–पल्लवित गर्ने। 

दाम्पत्य रथ बिस्तारै अघि बढ्दै थियो। पतिले असाध्यै माया गर्थे। बिहेको दुई वर्षपछि गर्भमा मायाको चिनो हुर्किरहेको थियो। सोचेजस्तै चल्दै थियो जीवन।

घरबार बलियो बनाउन सक्रिय थियो दम्पती। तर उनीहरुको त्यो सपना तत्कालीन विद्रोही माओवादी द्वन्द्वले तुसारापात गरिदियो। छोटो समयमै उर्मिलाको प्रेम बिछोडमा परिणत हुन पुग्यो। 

Metro Mart
vianet

रोल्पा माओवादी विद्रोहको केन्द्र नै थियो उतिबेला। उनीहरूको घर सोही जिल्लाको राङ्सी। २०६० चैत एक साँझ उनका पति बेपत्ता भए। कसले बेपत्ता पार्‍यो अहिलेसम्म पत्तो छैन। न उनी तत्कालीन विद्रोहीका समर्थक न राज्यका। 

त्यसपछि अँध्यारो ओडारजस्तो बन्न पुगेको उर्मिलाको जिन्दगीमा खुसी टाढिएको दुई दशक बित्नै लागेको छ।

‘मर्न मन लागेको थियो। गर्भमा पलिरहेको दुई महिनाको रगतको पाप लाग्छ सोचें’, निन्याउरो मुहार लगाउँदै उर्मिलाले भनिन्।

पति बेपत्ता भएको केही महिनापछि छोरा जन्मियो। उनमा केही आशाका सञ्चार त पलायो साथै जिम्मेवारीका चाङ पनि थपिन थाले।

भागी विवाह गरेकी उनलाई पतिको निधनपछि धेरैले कुरा काट्न थाले। सासूसुसुराले पनि छाडेपछि झन् एक्लो भइन् उनी।

ती दिन सम्झँदै उनी भन्छिन्, ‘जतिसुकै विपत् आइलागे पनि बाँच्नैपर्ने रहेछ।’ 

गाउँले जीवन। प्रशस्त जग्गाजमिन छैन। गरिखान अन्य विकल्प छैन। आफूले रोजेका मानिसको पनि साथ टुटेपछि उर्मिला घरको न घाटको बन्न पुगिन्। 

उनी भन्छिन्, ‘गाउँमा काम नगरी खान नपुग्ने काम खोज्न जहिल्यै भौंतारिरहनुपर्ने, एक गाँस कम खाएरसँगै बसेको भए, यादमा जिन्दगी  कटाउन सहज त हुन्थ्यो जस्तो लाग्छ।’ 

किन त्यसो गरिनन् त उनले?

गाईभैंसी पालेर जीवन धान्न कठिन भयो। उनी भन्छिन्, ‘बिस्तारै मेरोभन्दा पनि छोराको अन्योलपूर्ण भविष्यले पिरोल्न थाल्यो।’
 
अनि चार वर्षीय छोरा काखी च्यापेर २०६४ सालमा उर्मिलाले गाउँ छाडिन्। 

काठमाडौं खाल्डोमा छिरेकी उर्मिलालाई केही समयपछि गाउँका साथीभाइले भक्तपुरको इँटा भट्टामा काममा लगाइदिए।

बिछोडको पीडामा गाउँबाट हिँडेकी उर्मिला यतिबेला भक्तपुरको एउटा इँटाभट्टामा छोराको सुन्दर भविष्य कोर्ने प्रयासमा मजदुरी गरिरहेकी छन्।

‘मलाई  भाग्यले ठग्यो वा दैवको नियतिले। जे भए पनि पूर्णिमाको रातमा औंसी छायो’, इँट्टाले भरिएको डोको बोक्दै उनले भनिन्।

उर्मिलाले इँट्टाभट्टामा काम गर्न थालेको १० वर्ष पुगिसकेको छ। 

‘जिन्दगीको धोको पूरा नहुँदो रहेछ। भाग्यमा सुख लेखिएको छैन भने जति गरे पनि लेखान्तलाई मेट्न नसकिँदो रहेछ’, उनले भनिन्, ‘म हरेक इँट्टासँग हामी छुट्टिएका दिन, महिना र वर्ष गनिरिहेकी हुन्छु। निष्ठुरी समयले एक्लो पारेको दुई दशक बित्न लागिसक्यो।’

यसो भनिरहँदा उर्मिला मगरको गह आँसुले भरिएको अनुहारमा बेचैनी दौडिरहेको थियो।

‘छोरोको भविष्यका लागि महाकाली इँट्टा उद्योगमा काम गर्न थालेको दशक बित्यो। अब यही काम प्रिय लाग्न थालेको छ’, मलीन अनुहार र मसिनो स्वरमा उनले भनिन्। 

छोरा १८ वर्षका जवान भइसकेका छन्। त्यो सम्झँदा उनको मुहारमा केही आशाका धर्सा पनि देखिन्छन्।

उर्मिलाका छोरा भक्तपुरको कमलविनायकमा कक्षा ९  मा  पढ्छन्।

उनलाई छोरोको भविष्य बनाउनु छ, जागिर खुवाउनु छ। 

‘बाको कमी नहोस् भनेर छोरालाई केही भन्दिनँ। पीडा दबाएर राखेकी छ’, उनले लामो सास लिँदै भनिन्।

अनिँदो बिताएका थुप्रै रात छन् उनीसँग। आँसुले भिजाएको सिरानी मात्रै उनको दुःखको साथी बनेको छ। 

‘एक्लो जीवन काट्न निकै कठिन हुँदो रहेछ। म आफूलाई संसारकै अभागिनी ठान्छु। पतिको साथ र माया त परको कुरा लाससम्म  देख्न पाइनँ,’ भावुक हुँदै उनले भनिन्। 

इँट्टाका कणकणसँग रोदन ठोकिन्छ उनको। 

‘के सोचेथें जिन्दगीमा के–के भयो आज,
एकाएक आँधी चल्यो दिउँसै पर्‍यो रात...’

यो गीत आफ्नै लागि गाइएको हो झैं लाग्छ उनलाई।

‘सपना र चाहना भट्टीमा पोल्दै छु, कहिलेसम्म पोल्छु थाहा छैन,’ उर्मिलाले भनिन्।

यति भन्र्द उनी सुँक्कसुँक्क गर्न थालिन्। ‘भक्कानो फुटेर आउँछ पतिसँग छुट्टिएको दिन सम्झिँदा। भाग्यलाई दोष दिनुबाहेक केही छैन मसँग’, उनले भनिन्।

तर, छोरालाई हेरेर सम्हाल्छिन् उनी। आफूलाई कमजोर नठान्ने आँट गर्छिन्। छोरो जागिर खाने नभएसम्म भट्टीमै काम गर्ने योजना छ उर्मिलाको।

२०३९ सालमा रोल्पामा जन्मेकी उर्मिलाले घरको आर्थिक अवस्थाका स्कुल पढ्न सकिनन्। बाल्यकाल घाँसदाउरा र भाइबहिनीको स्यहारमै गयो।

प्रौढ शिक्षा पढेर नाम लेख्न र पढ्नसम्म सक्ने भइन्। अब ती सबै अतीत भइसके । तर बेलाबेलामा उनलाई पतिको याद आउँछ। उनी भन्छिन्, ‘सबै सकियो, सम्झना बाँकी छ, उनको उपहार बाँकी छ।’

छोराले म कमाउने भएपछि दुःख गर्नु पर्दैन आमा भन्दा उनको मन खुसी हुन्छ। 

उर्मिला चाँगुनारायणमा रहेको महाकाली इँटा उद्योगको टहरोमा बस्छिन्। छोरा टहरोबाटै स्कुल जान्छन्। 

विद्रोहमा सामेल नै नभए पनि उनका पति बेपत्ता छन्। बेपत्ता व्यक्ति खोज्न आयोग बनेको छ। तत्कालीन विद्रोही माओवादीले पटकपटक सिंहदरबारमा रजगज गर्ने अवसर पाइसकेको छ। 

उर्मिलाको जीवन त अँध्यारोमै बित्दै छ। उनका छोराले पनि द्वन्द्वपीडितले पाउने सुविधाबाट वञ्चित छन्। 

सरकारले द्वन्द्वपीडितका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भनेको छ। तर उनका छोराले निःशुल्क पढ्न पाएका छैनन्। 

उनीसँग पतिको मृत्युदर्ताको प्रमाणपत्र थियो। स्कुलले बसाइँ सराइको  प्रमाणपत्र माग्न थाल्यो। काम गर्न रोल्पाबाट काठमाडौं आएकी उनी काम छाडेर घर जान सकिनन्।

‘मृत्युदर्ताको प्रमाण थियो तैपनि बसाइसराईको मागियो’, उनले भनिन्, ‘बसाइँ सराइको कागज कहाँबाट ल्याउनु? छात्रवृत्ति पाउन सकिएन।’
उर्मिला इँटाभट्टामा भारी उठाइदिने, इँटा मिलाउने र कसैलाई केही समस्या परे सहयोग गर्ने काम गर्छिन्।

कोरोना महामारीका बेला गरिएको लकडाउनले उनलाई पनि बिचल्लीमा पार्‍यो। अघिल्लो वर्ष लकडाउन हुँदा उर्मिलाले घर जान पाइनन्। उनी भन्छिन्, ‘एकातिर खर्च थिएन भने हिँडेर जान पनि सम्भव थिएन।’

उद्योगका एक कर्मचारीका अनुसार अहिले उद्योगमा करिब २५ जना मजदुर कार्यरत छन्। लकडाउनअघि दुई सयभन्दा बढी मजदुर थिए। 

उत्तरी भक्तपुरको आकाश कञ्चन भएको एक वर्ष नाघिसकेको छ। अघिल्ला वर्षमा भक्तपुरको आकाश धुवाँले टम्म ढाकेको हुन्थ्यो। 

फाँटमा इँटा पार्न, बोक्न र पोल्न भ्याइनभ्याई हुन्थ्यो मजदुरलाई। यसपालि भट्टा सुनसान छन्। उर्मिलाजस्ता दुरदराजका केही श्रमिक भने सुनसान इँटाभट्टामा आफू र आफ्ना भविष्य खोजिरहेका छन्।

प्रकाशित: Apr 16, 2021| 03:55 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।