सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फोहोरमा मोहरको ‘सुवास’ खोज्दै गोविन्द

जब काठमाडौं सुत्ने तरखरमा हुन्छ, तब उनी जाग्छन्। र, हिँड्छन् कालीमाटीबाट रिक्सा र ठूलो बोरा लिएर।
 |  आइतबार, चैत २९, २०७७
nespernesper

अंगद सिंह

अंगद सिंह

आइतबार, चैत २९, २०७७

काठमाडाैं - जब काठमाडौंका सडक सुनसान बन्छन् तब उनी सडकमा निस्किन्छन्। र, चहार्छन् काठमाडौंका गल्लीगल्ली।

triton college

अर्थात् उनी फोहरका डंगुर उधिन्छन्। फोहोरको थुप्रोमुनि जिन्दगी खोज्छन्, सुवास खोज्छन्। फोहोरसँग लुटपुटिनु बाध्यता हो, मजबुरी हो उनको।  

उनी अर्थात् काठमाडौंको फोहोरमा सुवास खोज्ने गोविन्द कुमार। हरेक रातजस्तै बिहीबार राति १२ बजे पनि बागबजारमा फोहोरका डंगुर उधिन्दै थिए उनी।

फोहोरबाट प्लाष्टिक, कार्टुन र बोतलहरू छानिरहेका थिए। एउटा २० वर्षे लक्का जवान। नाकको नसा फुट्ने गन्धगीमा खुला हातले फोहोर केलाउँछ।

त्यही फोहोरका थुप्रो उधिन्न कालीमाटीबाट बागबजारसम्म पुग्छ।  रातको समयमा एउटा जवान केटोले फोहोर उधिनेको देख्दा अचम्म लाग्न सक्छ। 

Metro Mart
vianet

टाउकोमा कालो रङको क्याप, मुखमा मास्क। तर, हातमा पञ्जा भने छैन। मास्क पनि प्रहरीले देख्यो भने किचकिच गर्छ भनेर लगाउने गर्छन् रे उनी। कुमभन्दा तल हात कालाम्मे भएका छन्।

हरेक रात चारदेखि पाँच घण्टा फोहोरका थुप्रोमा कुकुर र झिँगाको भनभनसँगै बिताउँछन् गोविन्द।

‘अब त बानी परिसक्यो गन्ध आउन पनि छाड्यो,’ बागबजारमा फोहोरका थुप्रो उधिन्दै गर्दा भेटिएका गोविन्दले भने, ‘पढेलेखेको छैन, यसमै रमाउनुपर्ने बाध्यता छ।’

जब काठमाडौं सुत्ने तरखरमा हुन्छ, तब उनी जाग्छन्। र, हिँड्छन् कालीमाटीबाट रिक्सा र ठूलो बोरा लिएर।

कालीमाटीबाट फोहोर केलाउँदै बागबजारसम्म आइपुग्छन्। हरेक रात फोहोर छान्ने उनी दिनभर भने सुत्छन्। उनी भन्छन्, ‘अरू सीप भएको भए गल्लीगल्लीको फोहोर सुँघ्दै हिँड्न कसलाई रहर हुन्थ्यो होला र ?’

उनका अनुसार रातको १०० रूपैयाँ भाडा दिएर रिक्सा ल्याउँछन्। रिक्साको माथि ठूलो सेतो बोरा राख्छन्। र, हिँड्छन् आफ्नो लक्ष्यतर्फ अर्थात् बोतल, कार्टुन र  प्लाष्टिकले बोरा भर्न।

त्यसैका लागि उनी कालीमाटीबाट टेकु, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, बागबजार हुँदै पुतलीसडकसम्म्म पुग्छन्। फोहोर कुहिएर दिगमिगलाग्दो डंगुर उधिन्छन्। बोरा भर्न सक्यो भने रातको दुई हजारसम्म कमाइ हुन्छ रे उनको। ‘अहिले त राति फोहोर उठाउनेको बढेका छन्, कमाइ कम हुन्छ,’ उनले भने। 

फोहोर उधिनेर उनी मासिक करिब ३० हजारसम्म कमाउँछन्।

भर्खरभर्खर फोहोर उधिन्न सुरु गर्दा कुकुरले लखेट्न नखोजेको पनि होइनन्। कति कुकुर त उनलाई टोक्नै आए।  ‘सुरुमा लाग्थ्यो, अहिले त बानी परिसक्यो,’ उनी भन्छन्, ‘अहिले भुके पनि टोक्न दगुर्दैनन् कुकुरहरू।’ 

उनलाई अचेल कुकुरसँग आत्मियता बढेको जस्तो लाग्छ।  अहिले गल्लगल्लीका कुकुरले सहजै चिन्ने उनको भनाइ छ। 

पहिले सिंहदरबारमा अहिले सडकमा

गोविन्द फोहोर केलाएर घर पुग्दा रातको १ बजिसक्छ। समथर बाटोमा रिक्सा कुदाउँछन्, उकालो लाग्दा तान्छन्।

घर पुग्दा थकाइ लागिसक्छ हातमुख धोएर सुत्छन्। बिहान फोहोर छान्छन् र बेच्छन्। यो नै हरेक रातको दैनिकी हो गोविन्दको।

पहिले करिब एक वर्ष सिंंहदरबारभित्र फोहोर उठाउने काम गरे। उनकै चिनेजानेकैले सिंहदरबारभित्र काम लगाइदिएका थिए। तर, सडकमा राम्रो कमाइ देखेपछि उनी सडकका फोहोर केलाउन थाले।

झण्डै अढाइ वर्षदेखि उही फोहोरको थुप्रो उधिन्दै छन् गोविन्द। कोभिड–१९ महामारीका बेला गत वर्ष गरिएको लकडाउन पनि उनले काम गर्न छाडेनन्। 

काम नगरे खर्च चलाउन धौधौ हुने भएकाले उनी हरेक दिन कालीमाटीदेखि बागबजार–पुतलीसडकसम्म फन्को मार्छन्। गोविन्द छिटो घर फर्कन कि उनको बोरा भरिनुपर्छ कि अरूले नै फोहोर उठाइसकेको हुनुपर्छ।

बिहेका कुरा र रत्नपार्ककाे किस्सा

गोविन्दको परिवार भारतको समस्तीपुरबाट काठमाडौं आएको हो। गोविन्द भने काठमाडाैंमै जन्मेका हुन्। बाआमाले उनलाई स्कुल पढाउन चाहेका थिए। तर, उनी आफैंले पढेनन्।  

‘अब त फोहोरका खात खोज्नुबाहेक विकल्प पनि छैन, नेपालमा हुन्जेल यही काम गर्छु,’ उनले भने।  गोविन्दका एक दाइ पनि यही काम गर्छन्। बुबा कवाडखानामा काम गर्छन् भने आमा गृहणी।

गोविन्दको बिहे गर्ने घरमा कुरो चलेको छ। यद्यपि उनले अबको चार वर्षपछि बिहे गर्ने योजना सुनाए। बिहेसम्म नेपालमै काम गरे पनि बिहेपछि भने उनी भारत जाने तयारीमा रहेको उनी बताउँछन्।

उनले आजसम्म आफू प्रेमसम्बन्धमा भने नरहेको बताए। हाँस्दै उनी भन्छन्, ‘अहिलेसम्म लब परेको छैन, आमाबाले खोजेकै केटीसँग बिहे गर्ने हो।’ आफू कुनै प्रेम सम्बन्धमा नरहेकोमा उनलाई कुनै पश्चाताप छैन। ‘फोहोरको डंगुर उधिन्ने फोहोरीसँग कसले लब गर्छ ?,’ उनले भने। 

प्रेममा नपरेका गोविन्दले रत्नपार्कको किस्सा भने सुनाए। एकरात गोविन्द रत्नपार्कतिर फोहोर उठाउँदै थिए। एक महिलाले ‘आऊ जाउँन’ भन्दै आँखा मारेपछि उनी रातोपिरो भएका थिए रे। 

प्रकाशित: Apr 11, 2021| 03:18 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।