मंगलबार, असोज १, २०८१

मेलम्चीको पानी आउँदा तिहार आएजस्तो

टीभीमा धाराको पानी खेर गइरहेको विज्ञापन आउँदा उनको मन कुँडिन्थ्याे र सोच्थिन् आफूलाई हातमुख धुनसम्म पानी छैन त्यहाँ खेर गइरहेको छ।
 |  सोमबार, चैत १६, २०७७
nespernesper

अंगद सिंह

अंगद सिंह

सोमबार, चैत १६, २०७७

काठमाडौं- टीभीमा धाराको पानी खेर गइरहेको विज्ञापन आउँदा उनको मन कुँडिन्थ्याे र सोच्थिन् आफूलाई हातमुख धुनसम्म पानी छैन त्यहाँ खेर गइरहेको छ।

triton college

उनको दिमागमा एउटै कुराले डेरा जमाउँथ्यो, कहिले पानीको समस्या समाधान होला ?

घरमा पानीको धारा देख्दा उदेक लाग्थ्याे, नलागोस् पनि कसरी ? पानी आउन साता, दस दिनदेखि २० दिनसम्म पनि कुर्नुपर्थ्याे।

१०–१५ दिनसम्म पनि धारामा पानी नआउँदा निकै समस्या भोग्नुपरेको थियो।

तर, वर्षौंपछि धित् मरुन्जेल पानी भर्ने सपना पूरा भएको छ, काठमाडौं ज्ञानेश्वरकी इन्दु वैष्णवको।

Metro Mart
vianet

पानीको हाहाकार र तिर्खामा ६० वसन्त पार गरेकी वैष्णवको मुहारमा खुसी छाएको छ, काठमाडौंमा मेलम्चीको पानी आएपछि।

आँगनका तीन र छतको एक गरी चारवटा ट्यांकीमा पानी भरिएको छ। बरन्डामा स–साना जर्किन र बाल्टिनको लम्बेतान लाइन छ। पोखिने गरी पानी भरिएको छ।

उनी खुसी छन्, चाउरिएको अनुहारमा चमक देखिएको छ।  ‘आज त हरेक भाँडामा पानी छ हिजो त बगाउने गरी पानी आयो नि, हाम्रा लागि त तिहारै पो आयो’, उनले भाँडा देखाउँदै भनिन्।

‘पानी आउँछ त सुनेको थिएँ तर विश्वास लागेको थिएन, पानी आएपछि खुसी लाग्यो मन हलुका भयो, अब सधैं आइरहोस्’, वैष्णवले भनिन्।

मेलम्चीको पानी आएपछि उनले भएभरका भाँडा भरिन्, आँगन सफा गरिन् र ढुक्कसँग कपडासमेत धोइन्।

‘काठमाडौंवासीलाई पानीको पीडा थाहा छ', विगतका दिन सम्झिँदै उनी भन्छिन्, ‘पानी आउँदा चम्चासमेत भरेर राखौं जस्तो लाग्थ्यो।’

आइतबार राति ८ बजेदेखि १२ बजेसम्म निरन्तर ४ घण्टा धारामा मेलम्चीको पानी आयो। मेलम्चीको पानीले खुसी ल्याए पनि दिगो हुने नहुने बारे भने उनलाई चिन्ता छ ।

दुईतीन दिनको फरकमा पानी आइदिए पनि समस्या नहुने भन्दै उनले पानीको निरन्तरताप्रति शंका व्यक्त गरिन्।

‘एक दिन त भएभरको पानी आयो, तर यस्तै गरी दिन बिराएर सधैं आइरहोस्, वर्षौंपछिको सपना पूरा भएको छ सर्वसाधारणको सपना नटुटोस्’, उनले नेपाल समयसँग भनिन्।

जन्मेदेखि आमाले पानीका लागि गरेको संघर्ष उनको मानसपटलमा ताजै छन्।

आमाले बुई चढाई घण्टौं पानीका लागि लाइन बसेको, पानी आयो आएन भनेर यताउति दौडिनुपरेको सबै याद छ उनलाई।
इन्दुकी आमा जगतकुमारी अहिले ९३ वर्षकी भइन्।

उनी बोल्न सक्दिनन्, तर मेलम्चीको पानी धारामा आइपुग्दा उनको मुहारमा चमक थियो। उनी पनि पानी आएको हेर्न बरन्डामा आइन् र मुस्कुराइन्।

पानीकै कारण बेलाबेला भाडामा बस्नेहरुसँग पनि मुख बिगार्नुपरेको उनको तितो अनुभव छ।

‘पानीका कारण भाडामा बस्नेले पनि मन दुखाए', उनी भन्छिन्, ‘जतन गरी चलाऊ  भन्नु परिहाल्यो पानीले त सताउनुसम्म सतायो नि!’  

हप्तैसम्म धारामा पानी नआउँदा ट्यांकरको पानी किन्नुपर्छ जसले आर्थिक समस्या पनि निम्त्याउँछ।

‘पानीको कथाव्यथा, पानीबिनाको दैनिकी कस्तो हुन्छ त्यो त मलाई थाहा छ नी मैले भोगेकी छु’, उनी भन्छिन्, ‘अनावश्यक रुपमा पानी खेर नफालौं, पानी बचाऔं र स्वस्थ रहौं।’


धादिङका सूर्य भट्ट काठमाडौं बसेको २० वर्ष भयो। २० वर्षसम्म उनले पानीका लागि सास्ती भोगिरहे। 
पानीका कारण कति पटक घर धनीसँग उनको तँ तँ म म नै भयो।

‘काठमाडौं आएदेखि ढुक्कले पानीको प्रयोग नै गर्न पाएको थिइनँ तर हिजो धित् मरुञ्जेल पानीसँग खेल्न पाइयो’, भट्ट भन्छन्।

पानीको अभावले उनी कपडा धुन काठमाडौंबाट धादिङ (घर) जान्थे। कोठामा पानी नहुँदा हातमुखसमेत अफिसमै धुन्थे।

‘भात पकाउन त पानी हुँदैनथ्याे कहाँबाट कपडा धुनु?' उनी भन्छन्, ‘पानीको यतिसम्म अभाव झेलेको छु कि, कपडा धुनकै लागि म काठमाडौंबाट धादिङ गएको छु।’

मेलम्चीको पानी काठमाडौं आएर इतिहास बनेको भन्दै उनले काठमाडौंवासीले पर्व जस्तै मनाएको अनुभव सुनाए।

आफूलाई मेलम्चीको पानी आउँदा निकै रमाइलो र खुसी महसुस भएको उनको भनाइ छ।

...
घट्टेकुलोमा रहेको मुस्तफा फ्रेस हाउसका सञ्चालक एमडी मुस्तफा राति १० बजे पसल सफा गरिरहेका थिए।
उनले महिनौंदेखिको धलो पखालेर फ्रेस हाउस चिरिच्याट्ट पारेका थिए।

यति मात्रै होइन उनी सडकमा समेत पानी छ्याप्दै थिए।

‘पानी नहुँदा फ्रेस हाउस नै गन्हाएको थियो, आज पानी आयो मज्जाले सफा गर्न पाइयो’, मुस्तफाल खुसी हुँदै भने।
यसरी नै पानी आइरहने हो भने फ्रेस हाउस मात्रै होइन उनको मन पनि सधैं सफा रहनेछ।
......
२०४७ सालमा परिकल्पना गरिएको मेलम्ची खानेपानी आयोजना बल्ल पूरा भएको छ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी आइतबार काठमाडौंवासीको धारामा झरेको हाे।

मेलम्ची खानेपानी विकास समितिको ‘मेलम्ची खानेपानी योजना एक चिनारी’ मा काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याएको उल्लेख गरेको छ।

२०५५ सालमा आयोजना कार्यान्वयनका लागि मेलम्ची खानेपानी विकास समिति गठन गरिएको थियो भने २०५७ सालदेखि आयोजना सुरु गरिएको थियो।

आयोजनाको पहिलो चरणमा सिन्धुपाल्चोकको हेलम्बुमा पर्ने मेलम्ची खेलाको पानी २६.५ किमि लामो सुरुङमार्फत  काठमाडौंको सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी झारेर उपत्यका भित्र्याउने लक्ष्य थियो।

मेलम्ची खानेपानी विकास समितिको प्रतिवेदनअनुसार काठमाडौंमा स्थायी र अस्थायी गरी झन्डै ४५ लाख जनसंख्या छ। 

उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग रहेकोमा ४५ प्रतिशत आपूर्ति भुमिगत स्रोतबाट हुने प्रतिवेदनमा उल्लेख छ।

मेलम्ची आयोजनाका लागि हालसम्म भएका प्रयास :

२०४७ : प्रधानमन्त्री कृष्णप्रसाद भटराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा
२०५५ : मेलम्ची खानेपानी विकास समिति गठन
२०५६ : एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सम्भाव्यता अध्ययन
२०५८ :  एडीबीसँग ऋण सम्झौता
२०५८ : निर्माण कार्य सुरु 
२०५८ : हेनिल कोनको जेभीलाई सुरुङमार्ग निर्माणको ठेक्का
२०६१ : काम गर्न नसकेको भन्दै हेनिलद्वारा सम्झौता रद्द
२०६१ :  शाही आयोगमार्फत तत्कालीन राजा ज्ञानेन्द्रद्वारा हस्तक्षेप
२०६१ : नर्वे र स्विडेनको सहयोग फिर्ता
२०६४ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन
२०६४  : २७ किलोमिटर सुरुङ खन्न ग्लोबल टेन्डर
२०६५ : प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रिय गौरवको आयोजना घोषणा
२०६५ : चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसनलाई सुरुङ खन्ने ठेक्का
२०६९ : १५ प्रतिशत काम सम्पन्न भएपछि चाइना रेल्वेको ठेक्का रद्द
२०७० : पुनः टेन्डर आह्वान
२०७१ : इटालियन मक्पनी सीएमसीलाई बाँकी कामको ठेक्का
२०७२ : भूकम्पका कारण १० महिना काम बन्द
२०७२ : पाइप बिछ्याउने काम सुरु
२०७३ : पहिलो ‘ब्रेक थ्रु’ को घोषणा
२०७५ : सीएमसीसँग सम्झौता रद्द गर्ने आयोजना बोर्डको निर्णय
२०७७ : आयोजनाको गेट फुट्दा पानीले बगाएर इन्जिनियर र चालकको मृत्यु
२०७७ फागुन २२ : मेलम्चीको पानी सुन्दरीजलमा खसालिएको
२०७७ चैत १५ : काठमाडौं उपत्यकावासीको धारामा पानी छाडिएको

प्रकाशित: Mar 29, 2021| 10:15 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।