काठमाडौं– नेपालमा विकास–निर्माणका परियोजना समयमै सम्पन्न नहुने विषय जगजाहेर छ।
मुग्लिन–नारायणगढ सडक खण्ड होस् वा नारायणगढ–बुटवल सडक खण्ड, स्तरोन्नतिका लागि निर्धारित समयमै सम्पन्न नभएका उदाहरण हुन्।
मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको ढिलाइ त विकास निर्माणका परियोजनामा हुने ढिलाइको विद्रुप उदाहरण हो।
समयमै काम सम्पन्न नभएका यस्ता उदाहरण प्रशस्तै छन्। निर्धारित समयमा सम्पन्न भएका परियोजनाको उदाहरण भने निकै कम होलान्। त्यस्तैमध्येको हो, मोतिहारि–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन। जुन निर्धारित समयभन्दा करिब एक वर्ष अघि नै सम्पन्न भयो।
तत्कालीन आपूर्ति मन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले ७ भदौ २०७२ मा पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढाउने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
२०७४ चैत २४ गतेदेखि सुरु भएको पाइपलाइनको निर्माणको काम ३० महिनाभित्र सक्ने लक्ष्य राखिएको थियो। तर, लक्ष्यभन्दा करिब १ वर्षअघि अर्थात् १८ महिनामै काम सम्पन्न भयो।
२०७६ भदौदेखि नेपालमा पाइपलाइनमार्फत डिजेल आयात गर्न थालिएको छ। केही समय अघिमात्रै निगमले डिजेलको ढुवानीमार्फत हुने करिब २ अर्ब रुपैयाँ जोगिएको सार्वजनिक गरेको छ।
यसरी समयभन्दा अगाडि नै काम सकिएको उक्त परियोजनाका प्रमुख हुन्, इन्जिनियर प्रदीप यादव।
समयभन्दा अगाडि परियोजना सम्पन्न गरेका कारण यादव आयल निगमबाट पुरस्कृत समेत भए। निगमले आफ्नो वार्षिकोत्सवको अवसरमा यादवलाई गत २७ पुसमा सम्मान गरेको थियो ।
पेट्रोलियम पाइपलाइनको पहिलो चरणको काम समय अगावै सम्पन्न गरेपछि काठमाडौंस्थित थानकोट डिपोमा सरुवा गरिएका यादवलाई निगमले पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम गर्नका लागि फेरि अमलेखगञ्जमै सरुवा गरेको छ।
के गरे यादवले ?
भारतको मोतिहारीदेखि पर्साको अमलेखगञ्जसम्मको ६९ किलोमिटर पेट्रोलियम पाइपलाइनमध्ये ३७ किलोमिटर नेपालतर्फ र ३२ किलोमिटर भारततर्फ पर्छ।
तर, सडकको छेउछेवै पाइप बिछ्याउँदा कतिपय स्थानमा निर्माण भएका घर र अन्य भौतिक संरचनाले अप्ठ्यारो पार्यो।
सडक विभागले सडकको २५ मिटरभित्रका घर भत्काउन सक्ने सहमति निगमलाई दिएको थियो। तर, घर भत्काउँदा समय र लागत बढ्ने त छँदै थियो, स्थानीयको अवरोध हुने सम्भावना पनि उत्तिकै।
‘घर भत्काएर क्लियर गर्न दुई वर्ष लाग्न सक्थ्यो,’ इन्जिनियर यादव भन्छन्, ‘घरधनीहरु घर भत्काउन मानिरहेकै थिएनन्।’
अनि यादवले निर्णय गरे– घरमुनीबाट पाइप छिराउने। राति १० बजेदेखि बिहान ४ बजेसम्म कसैलाई ‘डिस्टर्ब’ नगरी काम गर्ने।
पर्साको सिमरा र जितपुर क्षेत्रमा यसैगरी २५ सय मिटर क्षेत्रमा भएका घरमुनी पाइपलाइन छिराइयो।
‘एचडीडी (होरिजन्टल डाइरेक्सन ड्रिलिङ) प्रविधिबाट मेसिन छिराएर घरको सतहभन्दा ४ मिटर तलबाट ड्रिलिङ गर्यौं,’ यादवले सुनाए, ‘कतिपयले थाहा पाए, कतिले पाएनन्। घरधनीको कुनै क्षति पनि भएन।’
घरमुनी पाइपलाइन जोखिम कति ?
एचडीडी प्रविधिमार्फत घरमुनी पाइपलाइन छिराउने अभ्यास नेपालमा नयाँ हो।
‘विदेशमा धेरै ठाउँमा घरमुनी पाइपलाइन छिराइएको हुन्छ। खोला भएका ठाउँमा खोलाको १० मिटर मुनीबाट एचडीडी प्रविधिबाट पाइप छिराएका उदाहरण छन्,’ यादवले भने, ‘खोलामुनी ड्रिलिङ गर्नु र घरमुनी ड्रिलिङ गर्नु उस्तै हो।’
मोतिहारि–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको कुल लम्बाइमध्ये नेपालतर्फ एचडीडी प्रविधिको प्रयोग गरी ६.२ किलोमिटरमा पाइपलाइन घरमुनी र खोलामुनी परेको छ।
घरको जगभन्दा पनि मुनीबाट पाइपलाइन कुनै जोखिम नहुने यादव बताउँछन्। उनी भन्छन्, ‘धेरै पुराना र कमजोर घर भए भत्किने सम्भावना हुन्थ्यो। तर, त्यस्तो केही भएन। अब पाइपलाइनकै कारण अरु कुनै दुर्घटनाको सम्भावना छैन।’
थानकोटको भद्रगोल हटाइयो
अमलेखगञ्जमा पाइपलाइन निर्माणको पहिलो चरणको काम सम्पन्न भएपछि यादव काठमाडौंस्थित थानकोट डिपोमा सरुवा भए। उनले अमलेखगञ्ज जानुअघि करिब ७ वर्ष थानकोटमै काम गरिसकेका थिए।
‘२०६१ सालदेखि २०६८ सालसम्म म यही डिपोमा बसेँ। करिब ७ वर्ष यो डिपोमा बसेर अमलेखगञ्ज जाँदा यो डिपोको चाप दैनिक ३० देखि ४० गाडी थियो,’ उनले भने, ‘म अमलेखगञ्जबाट फर्केपछि यो डिपोको अवस्था भौतिक रुपमा दयनीय भएको देखें।’
थानकोटमा पार्किङ बनाउनको लागि जग्गा पनि थियो। तर पार्किङ थिएन। बाटोमै पार्किङ गर्दा स्थानीयसँग झगडाको स्थिति पनि सिर्जना हुन्थ्यो। उनी भन्छन्, ‘म आउनेबित्तिकै पार्किङ बनायौं।’
इन्धन लोड–अनलोड गर्ने ठाउँ पनि पुनर्निर्माण गरिएको छ। फायर फाइटिङको व्यवस्था, डिजिटल बिलिङ लगायतका पूर्वाधार पनि बनाइएको यादव बताउँछन् ।
यादवको निगम यात्रा
२०४९ सालमा धनुषाको सरकारी विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका यादवले धरानबाट ओभरसियर पनि प्रथम श्रेणीमै गरेका हुन्।
२०५५ सालमा आयल निगममा स्थायी जागिरेका रुपमा काम सुरु गरेका यादवले २०६५–०६६ मा पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक गरे भने २०७० सालमा एमबीए गरे।
अबको चुनौती
यादवलाई पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम गर्नुपर्ने जिम्मेवारी सुम्पँदै निगमले फेरि अमलेखगञ्ज पठाउने निर्णय गरेको छ ।
अमलखेगञ्जमा पेट्रोलको ट्यांकी बनाउने, अटोमेसिनको क्षमता वृद्धि २४ सयको बनाउने, ल्याब्रोरेटरी बनाउनुपर्ने लगायतका काम बाँकी छन्।
‘यहाँबाट जानेबित्तिकै आईओसी र आयल निगम हेड अफिससँग कोअर्डिनेसन गरेर ती प्रोजेक्ट सुरु गर्छौं,’ उनले भने, ‘त्यसपछि अमलेखगञ्जदेखि चितवनका लागि पेट्रोलियम पाइपलाइनको काम अगाडि बढाउँछौं । सेकेन्ड फेजको काम पनि म चाँडै सम्पन्न गराउँछु भन्ने विश्वास छ।’