सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चिनी आयातको अनुमति नपाएको साल्ट ट्रेडिङको गुनासो, मन्त्रालय भन्छ- थाहै भएन

चिनी आयातको अनुमति नपाएको साल्ट ट्रेडिङको गुनासो, मन्त्रालय भन्छ- थाहै भएन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी आयातका लागि सरकारले अहिलेसम्म अनुमति नदिएको गुनासो गरेको छ।
 |  आइतबार, फागुन ९, २०७७

प्रेम चन्द

प्रेम चन्द

आइतबार, फागुन ९, २०७७

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी आयातका लागि सरकारले अहिलेसम्म अनुमति नदिएको गुनासो गरेको छ।

साल्ट ट्रेडिङले दशैंलगत्तै ३० हजार मेट्रिक टन चिनी आयातका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति माग गरेकोमा अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको गुनासो गरेको हो।

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले दशैंका लागि सरकारले २० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति दिएको र सोलगत्तै थप ३० हजार मेट्रिक टन आयातका लागि अनुमति माग गरेकोमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको बताए।

‘दशैंमा २० हजार मेट्रिक टन आयातका लागि अनुमिति दिएको थियो। त्यो ल्याएर पनि बिक्री भइसक्यो’ उनले भने, ‘त्यसलगत्तै थप ३० हजार मेट्रिक टन आयातका लागि अनुमति मागेका थियौँ। त्यसको कुनै रिस्पोन्स आएको छैन।’

यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनले अनुमति माग गरेकोबारे थाहा नभएको प्रतिक्रिया दिएको छ। मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले साल्ट ट्रेडिङले चिनी आयातका लागि अनुमति माग गरेको विषय आफूलाई जानकारी नभएको बताए। त्यस्तै वाणिज्य सहसचिव प्रकाश दाहालले पनि साल्ट ट्रेडिङले चिनी आयातका लागि माग गरेकोबारे आफूलाई जानकारी नभएको बताए।

हाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग ५०० मेट्रिक टन चिनी मौज्दात छ। कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार थोकमा बिक्री गर्न रोक लगाइएको छ। ‘थोकमा बिक्री गर्यो भने आधा घण्टामै सकिन्छ’ उनले भने, ‘त्यही भएर अहिले उपभोक्तालाई खुद्रामा मात्रै बिक्री गरिराखेका छौँ।’

साल्ट ट्रेडिङले हाल ७७ रुपैयाँ प्रतिकिलोका दरले चिनीको खुद्रा बिक्री गरिरहेको छ। बजारमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँसम्म रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारी प्रशासन उद्योगीको प्रभावमा परेर साल्ट ट्रेडिङलाई चिनी आयातका लागि अनुमति नदिइएको आरोप लगाए। 

‘नेपालका चिनी उद्योगीले सस्तोमा भारतबाट आयात गरेर बिक्री गरिरहेका छन्’ महर्जनले भने, ‘हाम्रो प्रशासन व्यवसायीको प्रभावमा परेर साल्ट ट्रेड्रिङलाई अनुमति नदिएको हो। अब व्यवसायीले यसैलाई मौका मानेर मूल्य बढाउन सक्छन्।’

नेपाली उद्योगीले स्वदेशी उखु खरिद नगरेर सस्तोमा भारतबाट तस्करी गरेर चिनी ल्याइरहेका र त्यसैलाई नेपाली उत्पादन भनेर बिक्री गरिरहेको आशंका महर्जनले व्यक्त गरे। आइतबार भारतका विभिन्न सहरमा चिनीको मूल्य औसत भारु.२८ देखि ४० सम्म रहेको छ।

नेपालमा वार्षिक साढे २ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ।

प्रकाशित: Feb 21, 2021| 12:15 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्