तरकारी बजारमा ‘क्यूआर कोड’ मार्फत सुरु भएको भुक्तानीमा अधिकांश ग्राहकले रुचि देखाएका छैनन्। व्यवसायी भने अवस्था सधैं यस्तै नरहने बताउँछन्।
काठमाडौं– पुस १० गतेदेखि नक्सालको तरकारी बजारमा क्विक रेस्पोन्स (क्यूआर) कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
दुई सातापछि कालीमाटी फलफूल तथा तरकारी बजारका पसलमा पनि ग्राहकले क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने भएका छन्।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुसार तरकारी खरिदबिक्रीमा यस्तो व्यवस्था गरिएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रभु बैंक र नक्सालका तरकारी पसलमा सानिमा बैंकको सहकार्यमा क्यूआर कोडबाट कारोबार गर्न सकिनेछ।
दुवै तरकारी बजारमा सम्बन्धित बैंकले इन्टरनेट कम्पनीसँगको सहकार्यमा निःशुल्क वाईफाईको व्यवस्था गरिदिएका छन्।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानीलाई प्राथमिकता दिई आफ्नो कार्यकालमा आफूले हस्ताक्षर गरेका नोट छाप्ने अवस्था नै नआउने बताउँदै आएका छन्। उनले भनेजस्तो क्यूआर कोडलाई देशव्यापी बनाउन कारोबारी र ग्राहकमा आकर्षण देखिएको छैन।
तरकारी पसलजस्ता साना व्यवसायी क्यूआर कोडभन्दा नगद कारोबार नै सहज हुने बताउँछन्।
कालीमाटीमा तरकारी पसल सञ्चालन गर्ने डिल्लीकुमारी रावल क्षेत्री भन्छिन्, ‘क्यूआर कोड राखेको १५ दिन भयो, यसबाट पैसा तिर्ने कोही आएनन्।’
दैनिक पाँचदेखि सात हजार रुपैयाँको कारोबार गर्ने उनी आफ्ना लागि पनि नगद कारोबार सहज हुने ठान्छिन्।
उनी भन्छिन्, ‘हामीले तरकारी किन्ने थोक बिक्रेताले नगदमै रकम माग्छन्। हामीलाई पनि ग्राहकबाट नगदमै रकम लिँदा सजिलो हुन्छ।’
कालीमाटीकै अर्का तरकारी व्यवसायी राम कटुवालले क्यूआर कोडमार्फत भुक्तानी सुविधा दिन थालेको दुई साता बितेको छ।
‘यो सेवा सुरु गरेको १५ दिनमा क्यूआर कोडमार्फत चार हजार रुपैयाँजति खातामा गयो होला,’ उनी भन्छन्, ‘हामीलाई सजिलो त नगदै हो तैपनि कसैले क्यूआर कोडमार्फत तिर्छु भनेपछि हुन्छ भन्छौं।’
कटुवाल दैनिक २५÷३० हजार रुपैयाँभन्दा माथिको कारोबार गर्नेका लागि क्यूआर कोड राम्रो उपाय भए पनि आफूजस्ता साना व्यापारीका लागि नगद कारोबार राम्रो हुने बताउँछन्।
दिनभर कारोबार गरेको रकम बैंक खातामा जम्मा भएपछि अर्को दिन बिहानै होलसेलमा जानुअघि नगद झिक्न बैंक जाँदा झन्झट हुने उनको भनाइ छ।
उनी भन्छन्, ‘कहिले दिनमै दुई तीन खेप गर्नु पर्दा त झन् समस्या हुने भयो।’
त्यस्तै सौगात खत्रीले एक सातामा क्यूआर कोडमार्फत करिब ३०० रुपैयाँ मात्र कारोबार भएको बताउँछन्। ‘यो एक सातामा दुई जना ग्राहकले मात्रै क्यूआर कोडमार्फत भुक्तानी गरे, त्यो पनि तीन सय रुपैयाँको।’
सौगातसँगै पसल रहेका अनिल घलेले पनि क्यूआर कोडमार्फत १५ दिनमा ८०० रुपैयाँको मात्र कारोबार गरेका छन्। उनी भन्छन्, ‘कमै ग्राहकले मात्र क्यूआर कोडबाट रकम तिर्छन्, अहिलेसम्म दुईजना मात्रै आए।’
घलेले सबैतिर क्यूआर कोडमार्फत भुक्तानी हुन सक्ने अवस्था आएमा यो सुविधा उपयुक्त हुने बताउँछन्। तर, न त सबै ग्राहक मोबाइल बैंकिङमा गइसकेका छन्, न त सबै विक्रेता नै।
‘हामीलाई खुद्रा रकम लिन, थोक विक्रेतालाई भुक्तानी गर्न बैंक जानुपर्ने भइदिन्छ, त्यसैले नगद कारोबार सहज हुन्छ। सबैतिर क्यूआर कोडबाटै भुक्तानी हुन सक्यो भने त यो नै ठिक हो,’ उनी भन्छन्।
यद्यपि, ग्राहकमा यसबारे जानकारी बढ्दै गयो भने चाहिँ क्यूआर कोडमार्फतको भुक्तानी सहज हुँदै जाने उनको अनुमान छ।
‘सबै ग्राहकले कालीमाटीमा क्यूआर कोडको सुविधा छ भन्ने थाहा पाए भने र थोक विक्रेताले पनि क्यूआर कोड नै प्रयोगमा ल्याउन थाले भने यसका उपयोगकर्ता बढ्लान्’ उनी भन्छन्।
कालीमाटी बजारमै पनि सबै व्यवसायीले क्यूआर कोडमार्फत भुक्तानी लिने व्यवस्था गरेका छैनन्। फलफूल व्यवसायी सञ्जय गुप्ता क्यूआर कोड नै नबुझेपछि उक्त सुविधा नलिएको बताउँछन्।
‘त्यो भनेको के हो? रकम कसरी बैंकमा जान्छ, केही थाहा छैन त्यसैले मैले राखेको छैन,’ उनले भने। अर्का व्यवसायी हरिलाल त आफ्नो बैंक खाता नभएकाले क्यूआर कोड नराखेको बताउँछन्।
कालीमाटी बजारकै व्यवसायी राजकुमार थापा भन्छन्, ‘स्मार्ट फोन राखेका, मोबाइल बैंकिङ गर्ने ग्राहकले त क्यूआर कोडबाटै तिर्छन् तर, फोन नै नलिई आउनेले कसरी क्यूआर कोडबाट तिर्लान्!’
क्यूआर कोडमा प्रविधिको मुख्य भूमिका हुने भएकाले त्यसबारे राम्रोसँग नबुझ्दा समस्या आएको थापाले बताए। उनले भने, ‘क्यूआर कोडमार्फत फोन पेमा पैसा आउँदो रहेछ। फेरि त्यताबाट बैंक खातामा ट्रान्सफर गर्नुपर्दो रहेछ।’
कालीमाटीभन्दा पनि पहिले क्यूआर कोडमार्फत व्यवसाय सुरु भएको नक्साल तरकारी बजारमा पनि अवस्था उस्तै छ।
अहिलेसम्म क्यूआर कोडमार्फत रकम तिर्ने ग्राहक आफ्नो पसलमा नआएको व्यवसायी सुवास लामा बताउँछन्।
नक्सालकै तरकारी पसले बिर्दु साहले तीन सातामा करिब पाँच हजार रुपैयाँ मात्रै क्यूआर कोडमार्फत भुक्तानी लिएका छन्।
उनी भन्छन्, ‘सबै जसोले नगदै दिन सहज मान्छन्। हामीलाई पनि त्यही सजिलो लाग्छ। अहिलेसम्म क्यूआर कोडमार्फत खातामा चार हजार जति गएको छ।’
यद्यपि, कालिमाटी र नक्सालका पसलमा क्यूआर कोड सुविधा थपिने क्रम भने जारी छ।
सम्बन्धित बैंकहरुले आ–आफ्ना कर्मचारी पठाएर तरकारी बजारमा क्यूआर कोडबारे जानकारी गराइरहेका छन्।
आफूसँग क्यूआर कोडको सुविधा नहुँदा चार जना ग्राहक अर्को पसलमा पुगेको अनुभव सँंगालेका कालीमाटीका व्यवसायी सुदर्शन भण्डारी चाँडै क्यूआर कोड राख्ने योजनामा छन्।
उनले भने, ‘कोही त गोजीमा मोबाइलमात्र बोकेर आउने पनि हुँदा रहेछन्, त्यस्ता ग्राहकका लागि क्यूआर कोड नराखी भएन।’
भण्डारी क्यूआर कोडमार्फत हुने भुक्तानीमा ग्राहक र व्यवसायी दुवैको चासो बढ्दै गएकाले अभियान सफल हुने ठान्छन्। उनी भन्छन्, ‘इन्टरनेटको समस्या छैन। हामीले विस्तारै बुझ्दै छौं, ग्राहकको पनि रुचि बढ्दै छ।’
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठ क्यूआर कोडको उपयोग बिस्तारै बढ्नेमा आशावादी छन्।
‘ग्राहक अभ्यस्त भइसकेका छैनन् तर, व्यवसायी उत्साहित देखिन्छन्’, उनले भने, ‘बिस्तारै प्रयोगकर्ता बढ्छन्। ग्राहक अभ्यस्त भएपछि कारोबार पारदर्शी बनाउन पनि सजिलो हुन्छ।’
श्रेष्ठ सुरुसुरुमा सपिङ मलमा डेबिट कार्डबाट समेत कम भुक्तानी हुने गरेकोमा अहिले ठूला सपिङ मलले झन्डैझन्डै नगदरहित कारोबार गरिरहेको उदाहरण दिन्छन्। भन्छन्, ‘यो सजिलो छ, खुद्रा रकम चाहिँदैन, नगद बोक्नु पर्दैन, बिस्तारै सबै बानी परे भने सहज हुन्छ।’
राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीतिअनुसार बैंकहरुले तरकारी पसल र खुद्रा पसलमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको व्यवस्था गरिरहेका छन्।
यसरी गर्न सकिन्छ भुक्तानी
क्यूआर कोडमार्फत भुक्तानी गर्न सम्बन्धित ग्राहकको बैंक खातामा मोबाइल बैंकिङ सेवा हुनुपर्छ। मोबाइल बैंकिङ एपमा गई क्यूआर स्क्यानमा जानुपर्छ।
स्क्यान गरी आफ्नो खाताबाट तिर्नुपर्ने रकम अंकमा लेख्नुपर्छ। रिमाक्र्समा ग्राहकको नाम लेखी सबमिट थिच्नुपर्छ। त्यसपछि आफ्नो चार अंकको ट्रान्जिक्सन पिन राखी कन्फर्म गर्नुपर्छ।