काठमाडौं– चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म २८ करोड ४० लाख ७९ हजार लिटर पेट्रोल आयात भएको छ। सो परिमाणमा पेट्रोल आयात हुँदा १२ अर्ब ९६ करोड ४२ लाख १८ हजार रुपैयाँ बाहिरिएको छ।
रकम र पेट्रोलको परिमाण हिसाब गर्ने हो भने पेट्रोलको मूल्य प्रतिलिटर ४५ रुपैयाँ ६४ पैसा पर्न जान्छ।
यस्तै आव २०७६/०७७ को सोही अवधिमा ३० करोड ५१ लाख ३३ हजार लिटर पेट्रोल आयात भएको थियो।
यसबापत १८ अर्ब २७ करोड २० लाख चार हजार रुपैयाँ बाहिरिएको थियो।
सो आवमा पेट्रोलको मूल्य प्रतिलिटर ५९ रुपैयाँ ८९ पैसा परेको थियो।
अघिल्लो वर्षभन्दा यस वर्ष पेट्रोल आयात गर्दा सस्तो परेको देखिन्छ। तर उपभोक्ताले भने अघिल्लो वर्षभन्दा बढी मूल्य तिरिरहेका छन्।
पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन ओपेकका अनुसार यस वर्ष जनवरीमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल (करिब ५८ लिटर) औसत ५४ डलर छ।
गत वर्ष जनवरीमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ५५ डलर प्रतिब्यारेल रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलको मूल्यमा सामान्य गिरावट देखिन्छ।
नेपाल आयल निगमले भने केही दिनअघि मात्रै प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको छ। नेपालमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँदेखि ११० रुपैयाँसम्म छ।
काठमाडौं उपत्यका, सुर्खेत र दिपायलमा प्रतिलिटर ११० रुपैयाँ रहेको निगमको मूल्यसूची छ।
पोखरा र दाङमा १०९.५० पैसाका दरले पेट्रोल बिक्री भइरहेको छ।
धनुषा, वीरगन्ज, अमलेखगन्ज, धनगढी, नेपालगन्ज लगायतका तराई क्षेत्रमा प्रतिलिटर १०८ रुपैयाँ ५० पैसाका दरले बिक्री भइरहेको छ।
निगमका अधिकारी सरकारले थप गरेका विभिन्न शीर्षकका करका कारण नेपालमा पेट्रोल महँगो परेको दाबी गर्छन्।
पेट्रोलमा प्रदूषण शुल्क, सडक मर्मत सम्भार शुल्क, भन्सार शुल्क लगायत विभिन्न शीर्षकमा प्रतिलिटर ५४ रुपैयाँका दरले कर तिर्नुपर्छ।
सरकारले गत वर्षदेखि पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ भन्सार शुल्क र १० रुपैयाँ प्रतिलिटर पूर्वाधार शुल्क थप गरेको थियो।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा पेट्रोलको मूल्य बढाएर सरकार उपपभोक्ताप्रति गैरजिम्मेवार बनेको आरोप लगाए। उनले भने, ‘यो त सरकारले नागरिकप्रति गरेको गैरजिम्मेवार व्यवहार हो।’
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भने पेट्रोलको भन्सार मूल्य हेर्दा नेपालमा सस्तोमा पेट्रोल भित्रिने देखिए पनि निगमले धेरै नाफा नखाएको बताउँछन्।
‘निगमले धेरै नाफा खाएको छैन’, पौडेलले भने, ‘घाटामा जानु भएन। एक रुपैयाँ मात्रै नाफा भए पनि निगमलाई पुग्छ।’
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाअनुसार यस वर्ष अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निकै गिरावट आएको छ।
राष्ट्र बैंकले गत वर्ष मंसिरमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ६८ डलर रहेको कच्चा तेलको मूल्य यस वर्ष मंसिरमा ५२ डलरमा झरेको औंल्याएको छ।