सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महामारीमा टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले जे देखे

Siddartha premir insuranceSiddartha premir insurance

महामारीमा टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले जे देखे

महामारीको डेढ वर्षमा स्वाथ्यकर्मीहरू धेरैवटा हृदयविदारक घटनाका प्रत्यक्षदर्शी बनेका छन्। पछिल्लो समयमा टेकुमा बिताएका हरेक दिनका हरेक स्वास्थ्यकर्मीका भिन्नभिन्नै कथा छन्। जसलाई शब्दमा व्यक्त गर्न कठिन हुने उनीहरू बताउँछन्।
 |  मंगलबार, साउन १९, २०७८
nespernesper

अंगद सिंह

अंगद सिंह

मंगलबार, साउन १९, २०७८

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा महामारीका बेला धेरै संक्रमितले जीवनको वरदान पाएका छन्। यद्यपि कैयौंले उपचारका क्रममा सदाका लागि धर्ती छाडेको पीडा चीरकालसम्म रहिरहनेछ। बिरामीसँग अहोरात्र खटिने स्वास्थ्यकर्मी नै हुन्छन्। महामारीको डेढ वर्षमा स्वाथ्यकर्मीहरू धेरैवटा हृदयविदारक घटनाका प्रत्यक्षदर्शी बनेका छन्।  पछिल्लो समयमा टेकुमा बिताएका हरेक दिनका हरेक स्वास्थ्यकर्मीका भिन्नभिन्नै कथा छन्। जसलाई  शब्दमा व्यक्त गर्न कठिन हुने उनीहरू बताउँछन्।

triton college

बिरामीको निरन्तर सेवामा खटिएकामध्ये हुन् जितनारायण चौधरी। ‘टेकुमा आएदेखिको हरेक दिनको आफ्नै कथा छ, जसलाई शब्दमा बयान गर्न सकिन्न महसुस मात्रै गर्न सकिन्छ’, बिरामीलाई प्राणवायु (अक्सिजन) को तारतम्य मिलाउने चौधरी भन्छन्। 

चौधरीको जिम्मेवारी अक्सिजन सिलिन्डरमा रेगुलेटर फिट गर्ने, लेबल मिलाउने र प्रेसर हेर्ने हो। आईसीयू, भेन्टिलेटर र मनिटर जोड्ने जिम्मेवारी पनि उनकै हो। टेकु अस्पतालमा उनी आइसोलेसन वार्डमा मनिटर जोडिरहेका भेटिए। त्यति नै बेला उनलाई कसैले अक्सिजन सिलिन्डरमा रेगुलेटर फिट गरिदिन भनिरहेका थिए त कसैले अक्सिजको प्रेसर हेरिदिन। उनको काम यतिमा मात्रै सीमित छैन, धारा र बिजुलीको काम पनि गर्छन्। 

‘यस्तै हो काम, रेगुलेटर मिलाउने, अक्सिजनको तारतम्य मिलाउने, प्रेसर हेर्ने, मनिटर जोड्ने, भेन्टिलेटर जोड्ने’, चौधरी भन्छन्। कोेरोेना महामारीसँगै टेकु अस्पतालमा काम गर्न पुगेका थिए उनी। पीपीई, हातमा पन्जा, खुट्टामा सेतो जुत्ता, मास्क र भाइजर लगाएका उनी अस्पतालको इमर्जेन्सी वार्ड वरपर फन्का मारिरहेका हुन्छन्। 

महामारी सुरु भएको करिब डेढदेखि दशक अहोरात्र खटिएका चौधरीका के के देखे त टेकुमारु चौधरीको दिमागमा मागअनुसार अक्सिजन उपलब्ध गराउन नसक्दा र अक्सिजन भएर पनि बिरामीलाई तत्काल चढाउन नसक्दा आँखै अगाडि कोरोना संक्रमितको ज्यान गएको घटना अविस्मरणीय बनेका छन्। उनी भन्छन्, ‘सबै घटनालाई शब्दमा बयानै गर्न सकिँदैन।’

Metro Mart
vianet

०००

महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेका बेला चौधरीलाई अक्सिजन मिलाइदिनुपर्‍यो भन्दै दैनिक आठ–दस जनाले फोन गर्थे। त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘त्योे फोेन मात्रै थिएन, जीवनका लागि दयाको भिख थियो। उनीहरु आफ्नो मान्छे अन्तिम अवस्थामा पुगिसकेको भन्दै अक्सिजनका लागि गुहार माग्थे। अक्सिजन थिएन, त म निरीह हुन्थें।’ अक्सिजन दिलाउन पहुँच आफूसँग नहुँदा ‘सक्दिनँ’ भन्नुबाहेक अन्य विकल्प नरहेको उनी स्मरण गर्छन्। उनी भन्छन्, ‘मैले भनेको लाग्थ्योे र चल्थ्यो भने सबैलाई अक्सिजन दिन्थें र सबैलाई बचाउँथें।’


३५ वर्षीय युवा कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा थिए। सामान्य बेडको अक्सिजनले नपुग्ने भएपछि उनलाई आईसीयूमा सार्नुपर्ने भयो। स्वास्थ्यकर्मी र चौधरीले स्टेचर दौडाउँदै युवालाई आईसीयूतर्फ लगे। बिडम्बना! उनी आईसीयूमै पुग्न पाएनन्। भुइँतलाबाट एक तलामा पुग्दा उनले संसार छोडे। चौधरी भन्छन्, ‘एक मिनेट पनि छिटो लगिदिएको भए सायद उनी बाँच्थे कि!’ परिस्थितिअनुसार एक मिनेट पनि ढिला नगरेको उनी बताउँछन्। महामारीका बेला आईसीयू भरिभराउ थियो। आईसीयूमा बेड पाउन कि त गम्भीर अवस्थामा रहेका बिरामी निको हुनुपर्थ्यो वा कसैको ज्यान जानुपर्थ्यो।  आईसीयूका  अन्तिम अवस्थाका संक्रमित मात्र थिए। चौधरी भन्छन्, ‘आईसीयूमा रहेकी एक महिलाको ज्यान गएकै कारण बेड खाली भएको थियो। अनि ती युवालाई लैजान लागेका थियौं।’

चौधरीको दिमागमा त्यो घटना निकै गढेको छ र उनलाई अझै पनि लागिरहन्छ, आईसीयू खाली हुँदो हो त उनलाई बचाउन सकिन्थ्यो।

०००

महामारीका कारण अस्पताल भरिभराउ थिए। सरकारले गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्न निर्देशन दिएको थियो। कतिपय संक्रमित अस्पताल खाली नभएका कारण घरमै आइसोलेसनमा बस्न बाध्य थिए।

एक साँझ एक जना संंक्रमितलाई एम्बलेन्सले हुइक्याउँदै टेकु पुर्‍यायो। संक्रमितकोे अक्सिजन सिलिन्डर सकिँदै थियो। उनलाई तुरुन्तै नयाँ अक्सिजन सिलिन्डर जरुरत थियो। चौधरी भन्छन्, ‘मैले त्यति बेलै देखेको हुँ, अक्सिजन नपाउँदाको छटपटी कस्तो हुँदो रहेछ भन्ने। ती बिरामीको मुटुको चाल मात्रै बढेको थिएन, फोक्सो नै बाहिर आउला जस्तोे लागिरहेको थियो।’ 

अक्सिजन सकिएको थाहा पाएपछि चौधरीलाई अर्को सिलिन्डरमा रेगुलेटर मिलाउन भनियो। रेगुलेटर र पाइप फिट गर्न नपाउँदै उनको सास रोकियो। चौधरी हेरेको हेर्‍यै  भए। त्यति बेला यस्तोे अवस्था कसैको नआओस् भनेर धेरै पटक कामना गरे। उनी भन्छन्, ‘महामारीका अघि कसको के नै लाग्छ र उनीजस्ता सयौं संक्रमित अक्सिजन बिना अस्ताए।’

‘अस्पतालमा सिलिन्डर हुँदाहुँदै पनि ती संक्रमितलाई बचाउन नसक्दाको अवस्थालाई कसरी बयान गरुँ?’ चौधरी प्रश्न गर्छन्। उनलाई लागिरहन्छ– दसपन्ध्र मिनेटअघि अस्पताल पुगेको भए ती बिरामीलाई बचाउन सकिन्थ्यो कि!


बजारमा अक्सिजनको हाहाकार थियो। सरकारले पनि अस्पताललाई कोटाका आधारमा अक्सिजन सिलिन्डर वितरण गरिरहेको थियो। संक्रमितको संख्या दिनानुदिन बढ्दै थियो। अक्सिजनका लागि सर्वसाधारण घण्टौं लाइन लागिरहेका थिए। एकातिर अक्सिजन अभाव अर्कोतिर बेड र आईसीयूको। 

यस्तैमा एक दिन चौधरी टेकुको बरन्डामा रहेका संक्रमितको अक्सिजन लेबल हेरिरहेका थिए। त्यतिबेला एम्बुलेन्समा एक संक्रमत टेकु आए। टेकुको बरन्डासमेत भरिएकाले राख्ने ठाउँ थिएन। संक्रमितका आफन्त भर्ना गरिदिन अनुनयविनय गरिरहेका थिए। उनीहरूकोे मलीन अनुहार दबिएको स्वर अहिले पनि उनको झल्झली याद आइरहन्छ। 

टेकुले अन्तै लैजानुस् भनेपछि उनीहरुले एम्बुलेन्स फर्काए। तर अन्त बेड नपाएपछि फेरि टेकुमै फर्किए उनीहरू। अक्सिजन संक्रमितका आफन्तले जुटाएपछि अस्पतालले भुइँमै राखेर पनि उपचार गर्ने जमर्को गर्‍यो। उनीहरु खुसी भए। चौधरीले संक्रमितको अक्सिजन लेबल मापन गरे। उनीहरुले अस्पताललाई बधाई मात्रै दिएनन्, अस्पतालले आफन्तको ज्यान बचाइदिएकोमा खुसीमा आँसु उपहार दिए।

यी त केही प्रतिनिधिमूलक घटना हुन्। चौधरीले अस्पतालमा काम मात्रै गरेका छैनन्, महामारी पीडितको अवस्थालाई नजिकबाट नियाल्न पाएका छन्। उनी भन्छन्, ‘टेकुमा मैले यहाँ स्वास्थ्य जगत्का धेरै कुरा देख्न र सिक्न पाएँ।’ 


चौधरीको रुचि सानैदेखि प्रविधितर्फ थियो। सरसमानको जोडजम्मा र मर्मतमा उनी विशेष चासो राख्थे।  ‘रहर र बाध्यता दुवैको संयोजन छ मेरो पेसामा’, उनी भन्छन्, ‘यही काम गरौंला भनेर लागेको होइन तर यसैमा रमाइरहनु परेको छ गरिरहेकोे पनि छु।’ चौधरीको कार्यालय समय १०–५ हो। यसअघि उनी  काठमाडौंमा रहेको एउटा कास कम्पनीमा काम गर्थे। 

टेकु अस्पतालमा बिताएका हरेक दिनले नयाँ पाठ सिकाएको बताउँछन् चौधरी। ‘टेकु अस्पतालमा देखेका दृश्य र आफन्तको आर्तनाद सम्झँदा मन  झस्किन्छ, उनी भन्छन्, ‘त्यस्तो कारुणिक दृश्य कहिल्यै देख्न–सुन्न नपरोस्।’ 

कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा अक्सिजन प्राणवायु साबित भएकोमा उनी तेस्रो लहरको चिन्ता गर्छन्। एक महिना अलिक शान्त भएको अस्पताल परिसर फेरि भरिन थालेको छ। अक्सिजन र आईसीयूका लागि अस्पताल आउने संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ।

‘संंक्रमित र आफन्त तड्पेको देख्दा मन विचलित हुन्छ। साह्रै नराम्रो लाग्दो रहेछ’, चौधरी भन्छन्। बाँच्ने आशा लिएर अस्पताल आउनेहरू पलभरमै आँखैअगाडि बितेका कतिपय दृश्यले तर्साइरहन्छन् उनलाई। ‘नर्स र डाक्टरको लगाव काम र सेवाले मलाई हौसला दिएको छ। यसबाट प्रेरणा पाएको छु’, उनी भन्छन्। कोरोना संक्रमित भएपछि १० दिन आइसोलेसनमा बसेर फेरि उनी निरन्तर काममा फर्केका छन्। 

००

रौतहटको विजयपुर–८ मा २०३९ सालमा जन्मेका जितनारायणले कक्षा पाँचसमम्म गाउँकै विद्यालयमा पढे। त्यसपछि उनी बारा गए। १३ वर्षको हुदा बुवाले संसार छाडेपछि उनी आमाको पालनपोषण हुर्किए। बाराको त्रिचन्द्र माविबाट एसएलसी पास भएपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १२ कक्षा पढे। पढ्दै गर्दा उनले वीरगन्जकोे एक गाडी सोरुममा काम गरे। काम गर्दै पढ्दै गर्दा पढाइ राम्रो हुन सकेन। कक्षा १२ मा फेल भए। सोरुममा काम गर्दा उनको तलब ३५ सय रुपैयाँ थियो। यसैले घरखर्च चलाउँथे।

काम गर्दै गर्दा उनलाई काठमाडौं जाने लहड चल्यो। केही पैसा जम्मा गरे। ‘सपनाको पोको लिएर काठमाडौं आएको थिएँ तर यहाँ यति दुःख पाइयोे कुरै नगरौं’, उनी हाँस्दै भन्छन्।


उनले गाडी सोरुम, होटल, मार्केटिङ, कलेज र कास कम्पनीमा काम गरे। इमानदारीपूर्वक काम गर्दा पनि केही संस्थाले तलब नदिएको गुनासो उनको छ। उनी भन्छन्, ‘साथीसँग मिलेर बिजुली बजारमा होेटल खोलें। तर साथीले धोका दिँदा होेटलमा घाटा लाग्यो। तीन–चार लाख रुपैयाँ डुब्यो।’ कास कम्पनीमा काम गर्दागर्दै उनी दुबई गए। दुबईमा उनी कम्प्युटर कम्पनीमा लेखा शाखामा काम गर्थे। पाँच वर्षपछि नेपाल फर्किएपछि फेरि कास कम्पनीमा काम गर्न थाले। 

उनलाई आफ्नो आर्थिक अवस्था सुधार गर्नु छ। छाराले आफू जस्तै दुःख नपाओस् भन्ने छ उनलाई। त्यसैले उनी फेरि एकपटक विदेश जानु छ। ‘यतैै राम्रो भयो भने नेपालमै गर्छु नत्र फेरि एक पटक विदेश जान्छु’, उनले सुनाए।

कतिपय संक्रमितकोे अक्सिजन नपाएर ज्यान गयो, कतिपयकोे अक्सिजन पाएरै। अक्सिजनको तारतम्य मिलाउने जितनारायण भन्छन्, ‘यस्तो दर्दनाक अवस्था देख्न नपरोस्, भगवान्सँग यही प्रार्थना छ।’

प्रकाशित: Aug 03, 2021| 06:21 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।