काठमाडौं– चालू आर्थिक वर्ष २०७७–०७८ को बजेट खर्चमा सुधार नभएको पाइएको छ।
कोरोना महामारीका कारण कमजोर बनेको अर्थतन्त्र चलायमान बनाउन बजेट खर्च बढ्ने अपेक्षा थियो। तर बजेट खर्च गत वर्षभन्दा बढ्न सकेको छैन।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्षको साढे पाँच महिना (साउनदेखि पुस १५ सम्म) अवधिमा गत आर्थिक वर्षको सोही अवधिकै हाराहारीमा खर्च भएको छ।
साढे ५ महिनामा कुल बजेट खर्च २५.३७ प्रतिशत भएको छ। चालू आवमा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको थियो।
बुधबारसम्म तीन खर्ब ७४ अर्ब पाँच करोड ६३ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ। उक्त खर्च कुल बजेटको २५.३७ प्रतिशत हो।
आव २०७६–०७७ को सोही अवधिमा तीन खर्ब ३७ अर्ब ६० करोड ७१ लाख रुपैयाँ अर्थात् कुल बजेटको २२ प्रतिशत खर्च भएको थियो। सो आर्थिक वर्षमा कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ थियो।
त्यस्तै चालू आवमा राजस्व संकलन ३३.३८ प्रतिशत भएको छ। सरकारले राजस्व संकलनको लक्ष्य १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ लिएको छ।बुधबारसम्म तीन खर्ब ५७अर्ब ९४ करोड १० लाख रुपैयाँ संकलन भएको छ।
गत आवको सोही अवधिमा सरकारले कुल लक्ष्यको ३०.३४ प्रतिशत राजस्व संकलन गरेको थियो। गत आवमा कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब ७० अर्ब दुई करोड ८७ लाख रुपैयाँ लिएकोमा साढे पाँच महिनामा तीन खर्ब ५४ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ संकलन भएको थियो।
प्रतिशतका आधारमा राजस्व संकलन र खर्चको अवस्थामा सामान्य सुधार देखिए पनि समग्रमा खासै सुधार नदेखिएको जानकारहरुको टिप्पणी छ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले प्रतिशतका आधारमा चालू आर्थिक वर्षमा सामान्य सुधार देखिए पनि समग्रमा सुधार भन्न नमिल्ने बताए।
‘कोभिडलगायतका समस्या भएका बेला खर्च अझै बढ्नुपर्थ्यो’, थापाले भने। यस वर्ष समग्र बजेट नै पोहोरको भन्दा कम भएकाले प्रतिशतका आधारमा सामान्य सुधार देखिएको थापाको टिप्पणी छ।
विकास खर्च ११ प्रतिशत
चालू आवको आधा समय सकिनै लाग्दासम्म विकास खर्च एक चौथाइ पनि हुन सकेको छैन।
चालू आवमा कुल विकास खर्चको ११.७५ प्रतिशतमात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
सरकारले कुल विकास (पुँजीगत) बजेट तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छुट्याएको थियो। सो शीर्षकमा बुधबारसम्म ४१ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ।
गत आवको सो अवधिमा विकास खर्च ११.३५ प्रतिशत भएको थियो। उक्त आवमा चार खर्ब आठ अर्ब ५९ लाख रुपैयाँ पुँजीगततर्फ बजेट विनियोजन गरिएको थियो। साढे ५ महिनामा ४६ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खर्च भएको थियो।
चालू र वित्तीय व्यवस्थातर्फ पनि उस्तै
चालू आवको साढे पाँच महिनामा चालू तथा वित्तीय व्यवस्थातर्फको खर्च पनि गत वर्षकै हाराहारीमा भएको छ।
उक्त अवधिमा चालु खर्च तीन खर्ब १२ अर्ब ९४ करोड ७५ लाख रुपैयाँ भएको छ। सरकारले चालू आवमा चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको थियो।
विनियोजित बजेट र खर्चअनुसार चालु आवमा कुल चालू खर्चको ३२.९८ प्रतिशत खर्च भएको छ।
गत आवको सो अवधिमा कुल चालू खर्च २८ं.७६ प्रतिशत थियो। उक्त आवमा चालूतर्फ नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फको खर्च ११.३७ प्रतिशत भएको छ।
कुल एक खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च गर्ने लक्ष्य लिएकोमा बुधबारसम्म १९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ।
गत आवको सो अवधिमा वित्तीय व्यवस्थातर्फ ९.५४ प्रतिशत बजेट खर्च भएको थियो।
गत वर्ष वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा साढे ५ महिनामा १६ अर्ब एक करोड २५ लाख रुपैयाँ खर्च भएको थियो।