मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • उपभोक्ताको ढाड भाँच्चिने गरी डण्डीको मूल्यवृद्धि, व्यवसायीले नै गरे अनुगमनको माग

Siddartha premir insuranceSiddartha premir insurance

उपभोक्ताको ढाड भाँच्चिने गरी डण्डीको मूल्यवृद्धि, व्यवसायीले नै गरे अनुगमनको माग

घर निर्माणमा प्रयोग हुने फलामे डण्डीको मूल्य अस्वाभाविक रुपमा बढेपछि उपभोक्ता मर्कामा परेका छन्।
 |  सोमबार, पुस १३, २०७७
nespernesper

प्रेम चन्द

प्रेम चन्द

सोमबार, पुस १३, २०७७

काठमाडौं– घर निर्माणमा प्रयोग हुने फलामे डण्डीको मूल्य अस्वाभाविक रुपमा बढेपछि उपभोक्ता मर्कामा परेका छन्। पछिल्लो तीन महिनामा डण्डीको मूल्य करिब ३२ प्रतिशतले बढेको छ।

triton college

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार गत असोजमा डण्डीको औसत मूल्य प्रतिक्विन्टल ७ हजार ३ सय रुपैयाँ रहेकोमा पुससम्म आइपुग्दा १० हजार ७ सय रुपैयाँ प्रतिक्विन्टलसम्म पुगेको छ। अर्थात् हिजो आइतबार उपभोक्ताले १०७ रुपैयाँ प्रतिकिलोसम्म तिरेर डण्डी किन्नुपयो।

अझै पनि मूल्य बढ्ने क्रम जारी रहेकोले सरकारी निकायले अनुगमन गरी नियन्त्रण गर्नुपर्ने अध्यक्ष कटुवाल बताउँछन्।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भए हरेक १५ दिनमा नेपालमा पनि बढ्नु स्वाभाविक हुन्थ्यो। प्रतितपत्र अनुसार १५ दिनको अन्तरालमा घटबढ हुनु स्वाभाविक भए पनि केही व्यवसायीको कार्टेलिङका कारण दिनदिनै मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन्। हाम्रो व्यवसाय गुमिरहेको छ,’ उनले भने। 

अस्वाभाविक रुपमा मूल्य बढिरहेको भन्दै अनुगमन गरी मूल्य नियन्त्रण गरिदिन सरकारसँग व्यवसायीले अनुरोध गरेको अध्यक्ष कटुवालले बताए। ‘हामीले हालैमात्र अन्तरक्रिया कार्यक्रम राखेर अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुगमन गरिदिनुपर्ने निष्कर्ष निकाल्यौं। सरकारी निकायहरुलाई भेटेर अनुगमनका लागि अनुरोध गर्ने कार्यक्रम निरन्तर नै छ,’ उनले भने।

Metro Mart
vianet

सरकारी अनुगमन फितलो हुँदा डण्डीको मूल्य अस्वाभाविक रुपमा बढेको व्यवसायीहरुले नै बताइरहँदा पनि अनुगमन गर्ने निकायले भने खासै चासो देखाएका छैनन्। बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा चासो नदेखाएर गैरजिम्मेवारीपन देखाएको आरोप उपभोक्ता अधिकारकर्मी लगाउँछन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले निर्माण सामग्रीमा अस्वाभाविक मूल्यवृद्धि भएको र गुणस्तरमा समेत उपभोक्ता ठगिनु परेको बताए। 

व्यवसायी स्वयं र उपभोक्ता अधिकारकर्मीले डण्डीलगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै अनुगमन गर्न दबाब दिन थालेपछि विभागले आवश्यक अध्ययन अघि बढाएको प्रतिक्रिया दिएको छ। बजार अनुगमनका लागि जनशक्ति कम भएको र मागअनुसार जनशक्ति नभएकै कारण अनुगमनमा सबै ठाउँ पुग्न नसकिने बताउँदै विभागले उद्योगीहरुबाट नै कागजात माग गरेको बताएको छ।

विभागका अनुगमन निर्देशक सागर मिश्रले स्टिल उद्योगहरुलाई ताकेता गरेर प्रतितपत्र, कच्चा पदार्थ खरिद गरेको बिल, डण्डी बिक्री गरेको बिललगायत कागजात माग गरिएको बताए।

‘हामीले ६–७ वटा स्टिल उद्योगबाट आवश्यक कागजात माग गरेका छौं। विगतमा गरेको खरिद–बिक्री, विगतका प्रतितपत्र, हालका प्रतितपत्र, कच्चा पदार्थ खरिदलगायत कागजात अध्ययन गरेर मात्रै मूल्य बढे–नबढेको पत्ता लगाउन सकिन्छ,’ उनले भने। कागजात अध्ययनपछि अनावश्यक मूल्यवृद्धि गरेको पाइए कारवाही गरिने मिश्रले बताए। उनका अनुसार विभागले अशोक स्टिल उद्योग, रमा स्टिल उद्योग, हुलास स्टिल उद्योग, पशुपति स्टिल उद्योगलगायतसँग कागजात मागेको छ।

प्रकाशित: Dec 28, 2020| 10:19 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्