काठमाडौं- नेपाल आयल निगमले एक वर्षमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ। पेट्रोलियम पदार्थ कारोबार गरेर निगमले एक वर्षमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो।
निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गर्दा ढुवानी रकम बचत भएको छ।
विगत वर्षका नाफा रकमको ब्याज आम्दानाीसमेत जोडेर नाफा रकम बढेको निगमका अधिकारीले बताएका छन्।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६/०७७मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको बताए।
निगमले आर्थिक वर्ष २०७५/०७६मा आठ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो। लामो समयदेखि ऋणमा रहेको निगमले आर्थिक वर्ष २०७४/०७५मा तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो।
निगमले भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म सञ्चालनमा ल्याएको पेट्रोलियम पाइपलाइनमार्फत ढुवानी गर्दा मासिक १४ करोड ७० लाख रुपैयाँ ढुवानीवापतको बचत हुने गरेको जानकारी दिएको छ।
त्यस्तै गत आर्थिक वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्रै एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।
पछिल्लो समय निगमले भण्डारण क्षमता वृद्धिदेखि झापाको चारआलीसम्म पाइपलाइन निर्माणको योजना अघि सारेको छ।
६६ अर्ब राजस्व
निगमले गत वर्ष इन्धनको कारोबार गरेबापत सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाएको छ।
गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो।
कारोना प्रभावका कारण पछिल्लो समय इन्धनको आयातमा समेत कमी अएको निगमले जनाएको छ।