काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
भेटका अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा जोड दिए।
साना तथा मझौला व्यवसाय चल्न सके ठूला उद्योग स्वतः चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको उनले बताए। महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने पनि गोल्छाले जानकारी दिए।
लाखौं युवा बेरोजगार रहेको र उनीहरुको व्यवस्थापन मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरु समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसँग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराए।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा पनि जोड दिए।
राष्ट्रपतिसँगको भेटका क्रममा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो– कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोतसाधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सिर्जनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडि बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिएका थिए।
राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन्। ‘हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं। प्राकृतिक स्रोतसाधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन। तैपनि पर्याप्त लगानी आउन सकेको छैन। अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ,’ राष्ट्रपतिले भनिन्, ‘रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ, यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस्।’
चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी थिइन्। स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमात्र बाह्य लगानीसमेत आकर्षित हुने हुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिएकी थिइन्।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन लगायत शीतलनिवास पुगेका थिए।