काठमाडौं– यस वर्षको पल्सर स्पोर्टस् अवार्डमा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सहप्रायोजकका रुपमा रहने भएको छ ।
अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नगद ७ लाख र डिसको सेवा गरी झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन रहेको छ । केही वर्षयता डिस होम अवार्डको सह–प्रायोजक रहँदै आएको छ ।
डिस होमले अवार्डका १३ थान कनेक्सन (दुई वर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान, डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक बर्षको रहने कार्यक्रममा जानकारी गराइयो ।
पुस २८ गते १० विधामा अवार्ड दिइने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरीका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।
पिपल्स च्वाइस अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भइसकेको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दी इयर अवार्डसहित अन्य अवार्डकोको घोषणा अवार्ड कार्यक्रमको दिन गरिने बताइएको छ । एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई मञ्चले यो वर्ष पनि सम्मान गर्ने जनाएको छ ।
विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने मञ्चले जनाएको छ ।
अवार्डलाई सहप्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्रीवितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहेको मञ्चले जानकारी दिएको छ ।