म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका ४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणको तयारी थालिएको छ।
हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरिएको छ।
हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (ईआईए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव संकलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए।
बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेका छौँ’, उनले भने, ‘मनसुन अघिसम्म विद्युतगृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ। थपिएको क्षमताको ईआईए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ।’
आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ। सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ।
तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ। आउटलेटबाट विद्युतगृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।
उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ। धवलागिरि गाउँपालिका ४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका ७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए।