बिहीबार, असोज १, २०८३

लटरम्म सुन्तला, खुसी छैनन् किसान 

अघिल्लो वर्ष किसानका हातमा सरदर ४८ रुपैयाँ प्रतिकिलो परेको थियो। अहिलेसम्मको अवस्था हेर्दा ४३ रुपैयाँमात्र परेको छ।  भाउ अझै घट्छ कि भन्ने चिन्ता छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

भारतीय सुन्तलाले बजार ओगटेको छ। चीन निर्यात गर्न अनेक अड्चन छन्। चिस्यान केन्द्र पर्याप्त नहुँदा भण्डारणमा समस्या छँदै छ। बाँदर र किराबाट जोगाएर बल्लबल्ल फलाएको सुन्तलाले उचित बजार नपाउँदा स्याङ्जाका किसान चिन्तित छन्।  

पोखरा- गत वर्ष सुन्तला उत्पादन ठिकै थियो र पनि स्याङ्जाका किसानका हातमा ६० करोड रुपैयाँ परेको थियो। यस वर्ष पोहोरभन्दा राम्रो फलेको छ। बोटका सुन्तला पाकेर पहेंलपुर भइसक्दा पनि किसान ढुक्क छैनन्। कारण सुन्तलाको बिक्री बढेन। 

कोरोना त्रास कायमै छ। गाडी कम चलेका छन्। आउजाउ पनि उतिसारो छैन। त्यसैको असर परेको छ सुन्तला बजारमा। 

८० रोपनीमा सुन्तला खेती गर्दै आएका अर्जुन चौपारीका अगुवा किसान फणिनारायण अर्याल भन्छन्, ‘बोटभरि पहेंला सुन्तला छन्, कोरोनाले बिक्री घटाएको छ, भाउ पनि सस्तिएको छ। अघिल्लो वर्ष किसानका हातमा सरदर ४८ रुपैयाँ प्रतिकिलो परेको थियो। अहिलेसम्मको अवस्था हेर्दा ४३ रुपैयाँमात्र परेको छ।  भाउ अझै घट्छ कि भन्ने चिन्ता छ।’ 

यस वर्ष पानी धेरै पर्याे। सुन्तला उत्पादन बढ्यो। दाना भने ठूला हुन सकेनन्। पानीकै कारण सुन्तला पाक्न बढी समय लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख माधव लम्साल बताउँछन्।परियोजनाअन्तर्गत जिल्लामा सुन्तला सुपर जोन सञ्चालित छ। 

ढिलोसम्म सुन्तला बोटमै रहँदा बगैंचा सरसफाइदेखि औषधिमूलोको काम पनि धकेलिन्छ। बगैंचामा मलजल र सिँचाइ गर्ने, हाँगाबिँगा काँटछाट गर्ने र नीलोतुथो लगाउने काम फल टिपेपछि गरिन्छ।  यस वर्ष यी काम ढिलो हुने सुपर जोन सञ्चालक समिति अध्यक्ष बोधराज अर्याल बताउँछन्। 

जिल्लाको सबैजसो पालिकामा सुन्तला खेती छ। तर सुपर जोनले पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुन चौपारी गाउँपालिकका वडालाई समेटेको छ। 

यी पालिकामा अन्तभन्दा सुन्तला बढी फल्ने भएकाले पहिल्यै पकेट क्षेत्रका घोषणा गरिएको थियो। त्यसैका आधारमा सुपर जोनले काम गर्दै आएको छ। 

जिल्लाभर दुई हजार हेक्टरभन्दा बढीमा सुन्तला खेती हुँदै आएको छ। जसमध्ये सुपर जोनअन्तर्गत एक हजार ३०० हेक्टर पर्छ। ८०० हेक्टरमा सुन्तला फलिरहेको छ भने ५०० हेक्टरमा बिरुवा लगाइएको छ। 

सुपर जोनमा तीन हजार ५०० हाराहारीमा किसान आबद्ध छन्। स्याङ्जामा प्रतिहेक्टर साढे १२ टन सुन्तला फल्छ। पोहोर सुपर जोनभित्र मात्रै करिब १० हजार टन सुन्तला फलेको कार्यालय प्रमुख लम्सालले बताए। 

जिल्लामा फलेकोमध्ये २० प्रतिशत सुन्तला आन्तरिक रुपमै खपत हुन्छ। बाँकी बुटवल, पोखरा, नारायणगढ र काठमाडौं निर्यात गरिन्छ। 
भारतीय सुन्तलाले बजार खायो 

असोज सुरुदेखि नै नेपाली बजारमा भारतीय सुन्तला छ्यापछ्यापती हुन्छ। मंसिर दोस्रो सातासम्म नेपाली बजारमा पाइने सुन्तला यस वर्ष भने पुस लाग्दा पनि उस्तै देखिएको छ। 

नेपाली सुन्तला भारत लैजान कानुनी अड्चन देखाइए पनि भारतीय सुुन्तला भने निर्बाध आयात हुन्छ। 

अगुवा किसान अर्याल सरकारी तवरबाट यस्ता विषयमा ध्यान नदिँदा किसान मारमा परेको गुनासो गर्छन्। उनी भन्छन्, ‘यताबाट लैजान प्लान्ट क्वारेन्टिनको कुरा गरिन्छ, उताबाट आउन रोकिँदैन, खै कसले हो, यो हेर्ने?’ 

भारतमा सुन्तलासहित सबै खेती व्यावसायिक र बृहत् रुपमा हुने भएको त्यताका उत्पादन स्वाभाविक रुपमा सस्तो हुन्छ। युरिया मलसमेत अभाव हुने नेपालमा उत्पादित सुन्तला अर्गानिक हुने भए पनि बजार पाउन अझै धौधाै छ।

 

चीन निर्यातको कथा  

स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीन निर्यातका लागि नेपाल सरकार र त्यहाँका व्यापारीबीच सहमति भइसकेको छ तर यताको सरकारले आवश्यक प्रक्रिया पूरा नगर्दा काम अगाडि बढेको छैन। 

बाहिरी मुलुकमा फलफूल निर्यात गर्न लामो प्रक्रिया पार गर्नुपर्छ। बगैंचा, किसान सूचीकरण, रोगकिरा व्यवस्थापन सुनिश्चित भएपछि मात्र चीनका व्यापारीले सुन्तला लैजान्छन्। 

यस वर्ष चीनबाट यसका लागि प्राविधिकसहितको टोली आउने भनिए पनि कोभिड बहाना बनेको छ। यसका लागि पहल गर्दै आएका किसान अर्यालले भने, ‘सुन्तला निर्यातका लागि सम्झौता भइसकेको हो। प्लान्ट क्वारिन्टिनको काम भएको छैन, पहिला हाम्रो उत्पादन रोग किरामुक्त छ भन्ने प्रमाणित हुनुपर्यो।’ 

औद्योगिकीकरणमा जोड

चिस्यान केन्द्र बनाएर बेमौसममा पनि सुन्तला बजारमा पु¥याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले काम गर्दै आएको छ। पोहोरपरार संघ र प्रदेश सरकारले सञ्चालन गरेका थोरै क्षमताका चिस्यान केन्द्र बनाएका छन्। 

अहिले ठूलै क्षमताको चिस्यान केन्द्र पनि निर्माणाधीन छ। अहिले भण्डारण गरेर चैतवैशाखमा बजारमा सुन्तला पुर्याउन सके किसानले पनि राम्रो मूल्य पाउँछन्। 

यसबाहेक स्याङ्जामा सुन्तलाबाट जुस र जाम पनि बनाउन थालिएको अगुवा किसान बोधराज अर्यालले बताए। बजारमा खपत नभएको सुन्तलाबाट जाम र जुस बनाउने र सुपर जोनको लागो लगाएर जापानलगायत मुलुकमा निर्यात गर्न लागिएको उनको भनाइ छ। 

सुन्तलाको बोक्रासमेत चियाको रुपमा प्रयोग हुन्छ। अर्यालले भने, ‘सुन्तलाका बोक्रासमेत प्रशोधन गरी निर्यातका लागि पहल गरिरहेका छौं।’ सुन्तलाबाटै वाइन र ब्रान्डी बनाउनसमेत प्रयास भइरहेको उनले बतए। 

ग्रेडिङ मेसिन भित्रियो

अर्जुन चौपारीका फणिनारायण अर्यालले यो वर्ष जिल्लामै पहिलोपटक ग्रेडिङ मेसिन भित्र्याएका छन्। जसबाट आकारअनुसारका सुन्तला छुट्टिन्छन्। यसरी छुट्टिएका सुन्तलालाई आकारअनुसार नै प्याकेजिङ गरेर बजारमा पठाउन थालिएको छ। पहिलापहिला डोकामा ढुवानी हुने सुन्तला अब चिटिक्क परेका कार्टुनमा बजार पुग्छन्। पहिलो चरणमा १० र पाँच किलोका प्याकेट बनाउन लागिएको अर्यालले बताए। प्याकेजिङमा केही खर्च बढे पनि सुन्तला बिग्रने समस्या निकै कम हुन्छ। 

बाँदर र औंसा किराको बिगबिगी

स्याङ्जा, कास्की, तनहुँ र आसपास जिल्लाका सुन्तलामा जरा कुहिने रोग पहिलेदेखि नै देखिएको हो। जराका किरा लाग्ने, बोट पहेंलिँदै जाने र मर्ने समस्या छ। त्यसको समाधानका लागि अनुसन्धान र अरु काम भइरहेको छ। यस वर्ष सुन्तलामा औंसा किराको समस्या थपिएको छ। 

योसँगै बाँदरले समेत सताएको गुनासो किसानले गरेको सुपर जोन कार्यालय प्रमुख माधव लम्सालले बताए। सुपर जोनले चार वटा पालिका मात्र समेटेकाले त्योभन्दा बाहिरका सुन्तला किसान असन्तुष्ट छन्। 

जिल्लाभरका किसानलाई सहयोग पुग्ने गरी काम गर्न आफूले पहल गर्ने प्रतिबद्धता लम्सालले जनाएका छन्। 

प्रकाशित: Dec 26, 2020| 10:43 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्