बिहीबार, असोज १, २०८३

सेयर काराेबारमा ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो

सेयर कारोबार गर्दा धितोपत्र व्यवसायीलाई तिर्नुपर्ने शुल्कमा ३३ प्रतिशत घटेको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ब्रोकर कमिसन (सेयर कारोबार गर्दा धितोपत्र व्यवसायीलाई तिर्नुपर्ने शुल्क) मा ३३ प्रतिशत घटाएको छ। 

धितोपत्र बजारको ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुन थालेपछि सेवोनले शुक्रबार कमिसन घटाउने निर्णय गरेको हो। 
अलनाइनमा कारोबार भएपछि ब्रोकर कम्पनीलाई कार्यभार बढी नपर्ने भएको कमिसन घटाइएको सेवोनले जनाएको छ। 

सेवोनका प्रवक्ता निरज गिरीले साना कारोबारीबापत लिँदै आएको न्यूनतम शुल्कमा ६०, सरकारी तथा संस्थागत ऋणपत्र र सामूहिक लगानी कोषको एकाइ वा अन्य धितोपत्र कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र संगिठत संस्थाको सेयर खरिदबिक्रीमा लिँदै आएको शुल्कमा ३३ प्रतिशत घटाइएको बताए। 

बोर्डका अनुसार अब ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म कारोबार गर्दा ०.४० प्रतिशत र ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबार गर्दा ०.३७ प्रतिशत कमिसन लिन पाउँछन्।

यस्तै २० लाख रुपैयाँसम्मको कारोबार गर्दा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार गर्दा ०.३० प्रतिशत र एक करोडभन्दा बढी जतिसुकै रकमको कारोबार भए पनि ०.२७ प्रतिशत मात्र कमिसन लिन पाउने व्यवस्था गरिएको छ। 

बोर्डले सरकार, सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्र खरिदबिक्री कारोबारमा धितोपत्र दलालीबापत लिने कमिसन पनि घटाएको छ। 

त्यस्तो ऋणपत्र खरिदबिक्री गर्दा पाँच लाखसम्मको कारोबारमा ०.१० प्रतिशत, पाँच लाखदेखि ५० लाखसम्मको कारोबारमा ०.०५ प्रतिशत र ५० लाखदेखि बढी रकमको ऋणपत्रको कारोबार भए पनि ०.०२ प्रतिशत कमिसन लिन पाउने व्यवस्था गरिएको छ। 

ऋणपत्र र सेयरबाहेक सामूहिक लगानी कोषको एकाइ तथा अन्य धितोपत्रको हकमा भने पाँच लाखसम्मको कारोबारमा ०.१५ प्रतिशत, पाँच लाखदेखि ५० लाखसम्म कारोबारमा ०.१२ प्रतिशत र ५० लाखभन्दा बढी रकम कारोबार भएमा ०.१० प्रतिशत शुल्क लिन पाउने व्यवस्था बोर्डले गरेको छ। 

प्रवक्ता गिरीका अनुसार धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क प्रतिकारोबार १० रुपैयाँभन्दा घटी हँुदैन। उनले आर्थिक वर्ष सकिएको एक महिनाभित्र सो आर्थिक वर्षमा धितोपत्र दलालले कुल सेवा शुल्कमा ०.६ प्रतिशत रकम नियमन शुल्कका रुपमा बोर्डलाई बुझाउनुपर्ने बताए। 

ब्रोकले कारोबार सेवा प्रदान गरेबापत उल्लिखित सेवा शुल्कबाहेक अतिरिक्त रकम लिन पाउने छैनन्। यस्तै लगानीकर्ताले धितोपत्र कारोबार दस्तुरबापतको कारोबार रकमको ०.०२ प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। 

शुल्क घटेपछि धितोपत्र बजार थप प्रतिस्पर्धी हुने विश्वास बोर्डको छ।  मंसिर १२ गते लगानीकर्ताको पाँचवटा संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गरी ब्रोकर कमिसन घटाउन माग गरेका थिए। 

मंसिर १९ गते सेयर लगानीकर्ता संघ ब्रोकर कमिसन घटाउन माग राख्दै नेपाल धितोपत्र बोर्ड घेर्न गएका थिए। 

ब्रोकर कमिसन दक्षिण एसियामै सबैभन्दा सस्तो 

ब्रोकर कमिसन घटेसँगै नेपालका ब्रोकरले दक्षिण एसियामै सबैभन्दा कम कमिसन पाउने भएका छन्। 

बोर्डको अध्ययनअनुसार श्रीलंकामा १० करोडसम्मको कारोबारमा ०.६४ प्रतिशत र त्यसमाथिको कारोबारमा ०.२५ प्रतिशतमा नघट्ने गरी आपसी सहमतिमा ब्रोकर कमिसन कायम गरिएको छ। 

पाकिस्तानमा न्यूनतम ०.२५ प्रतिशत सीमा तोकी ०.२५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म खुला छोडिएको छ भने बंगलादेशमा अधिकतम एक प्रतिशतको सीमा तोकी खुल्ला छोडिएको छ।

भारतमा अधिकतम २.५ प्रतिशतको सीमा तोकी खुला छोडिएको छ। माल्दिभ्समा ०.५ प्रतिशतदेखि १.५ प्रतिशतसम्म शुल्क लिने व्यवस्था गरिएको छ भने भुटानमा ०.६ प्रतिशतदेखि १ प्रतिशत सम्म शुल्क लिने व्यवस्था रहेको बोर्डको प्रतिवेदनमा छ।

प्रकाशित: Dec 25, 2020| 11:18 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्