काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा ४८.६२ प्रतिशत आवेदकको हात खाली भएको छ। आईपीओका लागि १० लाख ५१ हजार ११६ जनामध्ये २ हजार १६९ जनाको आवेदन रद्द भएको थियो।
बाँकी १० लाख ४९ हजार ४७ जनाबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता सेयरका लागि २ अर्ब ७८ करोड रुपैयाँबराबरको आवेदन परेको थियो। सो आवेदनमध्ये ५ लाख ९ हजार ४७ जना आवेदकको भने हात रित्तो भएको छ। ५ लाख ४० हजार आवेदकले मात्र न्यूनतम १० कित्ताका दरले सेयर पाएका छन्।
आज शुक्रबार आईपीओको बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार नै बाँडफाँड गरिएको हो।
कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई दिइएको हो।