काठमाडौं- नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने जनाएको छ।
बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै यी दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको बताए।
पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै ढुंगानाले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे। ‘सही सूचना सम्प्रेषण भएमात्र बजारको दिगो विकास हुन्छ, यसर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ,’ उनले भने।
ढुंगानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुआतसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए।
ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दरमात्र तय गर्न बाँकी रहेको उनको भनाइ छ।
हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्दछ।
लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।
पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।
यस्तै बोर्डका अध्यक्ष ढुंगानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताएका हुन्।