काठमाडौं– चालू आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा १०.९१ प्रतिशतले घटेर ४ खर्ब ७५ अर्ब ४४ करोड रुपेयाँ पुगेको छ।
गत वर्षको पहिलो पाँच महिना (साउन–पुस) मा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ।
विभागका अनुसार पाँच महिनामा निर्यात ५.१२ प्रतिशतले बढेर ५० अर्ब ५ करोड ५६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात ४७ अर्ब ६१ करोड रुपैयाँ थियो।
त्यस्तै यस अवधिमा आयात ९.५९ प्रतिशतले कमी आएको छ। पाँच महिनामा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ आयात भएको छ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको भएको भन्सार विभागले जनाएको छ।
राजस्व असुलीमा वीरगन्ज भन्सार अगाडि
भन्सार विभागका अनुसार ५ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट १ खर्ब ६४ अर्ब २३ करोडको सामग्री आयात भएको छ भने १५ अर्ब ५८ करोड रुपैयाँको निर्यात भएको छ।
त्यस्तै भैरहवा भन्सार कार्यालयबाट पाँच महिनाको अवधिमा १ खर्ब ३ अर्ब ५० करोड रुपैयाँको आयात भएका छ भने विराटनगर भन्सार कार्यालयबाट १२ अर्ब ७४ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको छ। ५ महिनामा १६ वटा भन्सार कार्यालयबाट एक प्रतिशतभन्दा कम आयात भएको छ।
१२ भन्सार कार्यालयबाट निर्यात भएन
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २६ मध्ये १२ वटा भन्सार कार्यालयबाट एक पैसाको पनि वस्तु निर्यात हुन सकेको छैन।
५ वटा भन्सार कार्यालयले कुल निर्यात हिस्सामा १ प्रतिशतभन्दा कम योगदान दिएका छन्। वीरगन्ज भन्सार कार्यालयबाट कुल आयातको ३१.२५ प्रतिशत हिस्सा आयात भएको छ।
११२ देशसँग व्यापार घाटा
व्यापार गरेका १३६ मध्ये ११२ देशसँग नेपाललाई घाटा छ। बाँकी २४ देशसँगमात्रै नेपालको वैदेशिक व्यापार सन्तुलनमा छ। नेपालले वैदेशिक व्यापार गरेका देशमध्ये आयात र निर्यात दुवैको अग्रपंक्तिमा भारत छ।
नेपालमा भएको कुल आयातमध्ये ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ छिमेकी मुलुक भारतबाट भएको छ। भारतबाट भएको आयात कुल आयातको ६५.७८ प्रतिशत हो।
यो अवधिमा नेपालबाट भने भारततर्फ ३५ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ। नेपालको कुल वैदेशिक व्यापारमा भारततर्फ ७०.६५ प्रतिशत हिस्सा छ।
चीनसँग ९९.५ प्रतिशत घाटा
छिमेकी मुलुक चीनबाट भने समीक्षा अवधिमा ७७ अर्ब ४६ करोडको वस्तु आयात भएको छ। नेपालबाट ३८ करोड ७० लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ।