काठमाडौं– तातोपानी नाकाबाट दैनिक १६ कन्टेनर नेपालतर्फ भित्रन थालेका छन्। पुस महिना लागेपछि तातोपानीबाट नेपाल आयात हुने सामग्री बोकेका कन्टेनरको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हो।
मंसिरसम्म तातोपानीबाट दैनिक ५ देखि ८ वटामात्र कन्टेनर नेपाल भित्रने गरेका थिए। जसका कारण व्यापारीहरुको अर्कौं रुपैयाँ बराबरको सामान चीनमा नै अड्किएर बसेको थियो।
तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार पुस महिना सुरु भएदेखि दैनिक १२ देखि १६ वटा कन्टेनर भित्रन थालेको छ। एक महिनामा चीनमा रोकिएका सबै कन्टेनर नेपाल प्रवेश भइसक्ने दावी उनले गरे।
उनका अनुसार चीनमा ल्होसार सुरु हुने भएको र त्यहाँ लामो विदा हुन सक्ने भएकोले सकेसम्म ल्होसार सुरु हुनुअघि नै सबै कन्टेनर नेपाल भित्र्याउने गरी स्थानीय निकायहरुले काम गरिरहेका छन्।
कोरोनाको कारण देखाउँदै करिब १० महिनादेखि चीनले दैनिक एक–दुई वटा गरी कन्टेनर पठाउने गरेको थियो। चीनमा रोकिएका कन्टेनर जतिसक्दो छिटो पठाउनका लागि नेपालको उच्चस्तरीय तहले समेत पहल गरेको थियो।
तातोपानी भन्सारका अनुसार गत मंसिरमासो भन्सारबाट ८ करोड रुपैयाँ राजस्व उठेको छ। कोरोनाअघि मासिक २५ करोड रुपैयाँसम्म भन्सार उठ्ने गरेको थियो।