काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सीधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएको छ।
नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तार गर्न बैंकक-लुम्बिनी सीधा उडानका लागि सहकार्य आवश्यक रहेकाे चेम्बरले बताएकाे छ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–थाइल्याण्डबीच विद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्धनको सभावनालाई उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवर्द्धनका लागि बैंकक-लुम्बिनीबीच सीधा हवाई सम्पर्कका लागि पहल गरिनु पर्ने बताएका छन्।
नेपालका लागि थाइल्याण्डका नवनियुक्त राजदूत भोसिता भोरासफले नेपाली व्यवसायी संस्थाहरूसँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए।
पर्यटन क्षेत्र विस्तारका लागि बुद्धिष्ट सर्किटको अवधारणा तथा बैंकक-लुम्बिनीबीचको सीधा हवाई सम्पर्कलाई सकारात्मकरूपमा लिएको बताए।
थाइल्याण्डका राजदूत भोसिताको सम्मानमा चेम्बर अफ कमर्सले कार्यक्रम गरेकाे थियाे।