बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नगद लाभांशमा कडाइपछि वाणिज्य बैंकहरुको जोड बोनस सेयरमा

नगद लाभांशमा कडाइपछि वाणिज्य बैंकहरुको जोड बोनस सेयरमा

२५ वटा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– २५ वटा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेका छन्। घोषणा गरेका बैंकहरुले पुसभित्रमा नै साधारणसभा गरी तोकिएको लाभांश पारित गर्नु पर्नेछ। 

धेरैजसो बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दैछन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरण गर्न कडाइ गरेपछि सेयरधनीले सेयर बोनस पाउन लागेका हुन्। कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र उकास्नका लागि पर्याप्त पुँजी चाहिने भन्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नगद वितरणमा रोक लगाएको हो। 

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले २०७७ असारको खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा गर्न पाउने व्यवस्था गरेको छ। उक्त लाभांश असार मसान्तको निक्षेपको औसत व्याजदर भन्दा बढी हुन नहुने पनि व्यवस्था छ। कोभिड–१९ का कारण कर्जा प्रवाह पर्याप्त हुन नसक्दा वाणिज्य बैंकहरुसँग पर्याप्त तरलता छ। 

यसले गर्दा वाणिज्य बैंकहरुको निक्षेपको व्याजदर औसत ६ प्रतिशतभन्दा कम नै छ। त्यसैले पनि नगद लाभांश ६ प्रतिशतभन्दा कम दिई बोनस लाभांश बढाएका हुन्।

तर कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका इजाजतपत्र प्राप्त संस्थाको नगद लाभांश वितरणमा भने राष्ट्र बैंकले रोक लगाएको छैन। उदाहरणका लागि कुनै बैंकको चुक्तापुँजी ८ अर्ब  छ र उसले ४० करोड रुपैयाँभन्दा कम कमाएको छ भने सो बैंकलाई भने ३० प्रतिशतको क्याप हुने छैन। 

यो व्यवस्थाले बैंकको पुँजी निर्माणमा सहयोग हुने र उनीहरुसँग पर्याप्त रकम हुँदा राष्ट्र बैंकले कोभिड–१९ प्रभावित व्यवसायका लागि कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण पुनर्कर्जा नीतिमा तथा कर्जा प्रवाहमा सहज तरलता थपिने हुँदा थप रकमको जोहो गर्न नपर्ने सोचका साथ यो व्यवस्था गरेको हो। 

बोनस सेयरका कारण वाणिज्य बैंकहरुमा पुँजी थुप्रिएको तर पर्याप्त कर्जाको माग नआउँदा यसले उल्टो असर गर्ने बैंकर्स संघका एक सदस्यले बताएका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि नगद वितरणमा गरेको कडाइका कारण सवै वाणिज्य बैंकहरुले बोनस सेयरमा जोड दिएका छन्। गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश बाँड्नेमा नबिल बैंक छ। उसले ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। सबैभन्दा कम सेन्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश दिने जनाएको छ।

नगद लाभांशतर्फ भने सबैभन्दा बढी एभरेष्ट बैंकले ५.५३ र नेपाल इन्भेष्टमेन्ट बैंकले ५.५० प्रतिशत दिने निर्णय गरेका छन्। सिभिल बैंकले भने अझै लाभांशबारे निर्णय गरेको छैन। 

कुन बैंकले कति दिँदैछन् नगद लाभांश र सेयर ?

प्रकाशित: Dec 22, 2020| 09:21 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्