काठमाडौं– रौतहटस्थित अन्नपूर्ण सुगर मिलले उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने जनाएको छ ।
मिलले विज्ञप्ति प्रकाशन गर्दै आइतबार (आज) देखि नै दैनिक एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो।
दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै चाँडो भुक्तानी गर्ने उसले बताएको छ। मिलका सञ्चालक राकेश अग्रवालद्वारा जारी विज्ञप्तीमा गत वर्ष किसानलाई १८ करोड भुक्तानी गरिएको र बाँकी रकम दैनिक एक करोडका दरले भुक्तानी गरिने जनाइएको छ ।
त्यस्तै राकेश अग्रवाल नै सञ्चालक रहेको नवलपरासीको इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्न बाँकी छ । गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडाैंमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनरत उखु किसानहरु अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भइरहेको छ ।