काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्राइमलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
प्राइम लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबार आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।
साथै प्राइम लाइफ इन्स्योरेन्सका बिमितहरुले आफ्नो बिमा शुल्क पनि अनलाइनमार्फत तिर्न सक्ने कम्पनीले जनाएको छ ।