काठमाडौं– सत्तारुढ दल नेकपाका नेताहरु आफ्नो पकड बलियो बनाउन ठाउँ–ठाउँमा गुटगत भेला र बैठक गर्न थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी र सरकार अघि बढाएको भन्दै उनीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूह सक्रिय छ।
पछिल्लो समयमा पार्टीभित्र देखिएको विवादका विषयमा मातहतका कमिटीलाई प्रशिक्षण दिन र एकजुट बनाउन दाहाल–नेपाल समूहको व्यस्तता बढेको छ।
यही सिलसिलामा शुक्रबार पेरिसडाँडामा प्रदेश नम्बर १ को भेलाको आयोजना गरिएको छ। भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरेका थिए।
भेलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए अब थप कडा कदम चाल्ने निष्कर्ष निकालेको छ।
‘एक नम्बर प्रदेशका नेताकार्यकर्ता मिलेर पार्टीलाई कसरी सुदृढ र एकताबद्ध बनाउने भन्ने विषयमा छलफल भएको छ’, भेलामा सहभागी नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्धमा कसरी संगठित रुपमा प्रतिवाद गर्ने भन्ने नै निष्कर्ष रह्यो।’
उनले प्रधानमन्त्रीले पार्टी स्थायी कमिटी बैठकको निर्णयअनुसार अध्यादेश फिर्ता नलिए थप कदम अघि बढाउने निष्कर्ष निकालिएको प्रस्ट पारे।
‘गलत प्रवृत्तिविरुद्ध डटेर लड्नुपर्छ भन्ने नै हो,’ उनले भने, ‘पार्टीलाई विखण्डनतर्फ लैजाने, गलत ढंगले सञ्चालन गर्ने, एकाधिकारवादी र सर्वसत्तावादी रुपमा सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्छ भन्ने सबैको धारणा रह्यो।’
भेलामा अध्यक्षले दाहालले नीतिगत सैद्धान्तिक विषयमा व्याख्या गरेका थिए।
बैठकमा सहभागी अर्का एक नेताका अनुसार अध्यक्ष दाहालले अब ओलीको विरोधमा सशक्त रुपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए।
‘अध्यादेश फिर्ता लिने स्थायी कमिटीको निर्णय कार्यान्वयन नभए त्यसको जिम्मेवारी ओलीले लिनुपर्छ,’ दाहाललाई उधृत गर्दै ती नेताले भने, ‘तर, अहिले नै त्यसतर्फ पनि नसोचौं। सम्भवतः पार्टी कमिटी बैठकले गरेको निर्णय उहाँले कार्यान्वयन गर्नुहुन्छ होला।’
दाहालले सहभागीलाई आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र ओलीले प्र्रस्तुत गरेको प्रतिवेदनमा कुन सत्य छ र कुन असत्य छ छुट्ट्याउन भनेका थिए।
केन्द्रीय सदस्य खतिवडाले आफूहरुले प्रधानमन्त्री ओलीले प्रतिवेदनमा भनेको विषय सत्य नभएको नेताहरूलाई बताएको जानकारी दिए।
सांसद धर्मशिला चापागाईंले अध्यादेश फिर्ता लिने स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा नआउनु गम्भीर भएको नेताहरुको धारणा रहेको बताइन्।
नेताहरुले पार्टीमा पूर्व एमाले र पूर्व माओवादी भन्ने सोच राख्न नहुने विषयमा प्रस्ट पारेका थिए।
प्रदेश नम्बर १ कमिटीका सचिव सुरेश राईले पार्टीमा अहिले देखा परेको समस्याबारे नेताहरुलाई जानकारी दिन छलफल गरिएको बताए।
‘तीन शीर्ष नेताहरुको जोड भनेकै पार्टी एकतालाई जोगाउने विषयमा नै केन्द्रित थियो,’ उनले भने, ‘उहाँहरुले पार्टीभित्र देखा परेको समस्या र समाधानका विषयमा नै चर्चा गर्नुभएको हो।’
तीनैजना शीर्ष नेताहरुले पार्टी एकता कसैले चाहेर विभाजन नहुने भन्दै आफूहरु सशक्त भएर लाग्ने धारणा राखेका थिए।
वरिष्ठ नेता झलनाथ खनालले ओलीले पार्टीमा विधि, पद्धतिसमेत नमानेर अधिनायकवादी शैलीमा अघि बढिरहेको भन्दै यसलाई रोक्न आफूहरु प्रयासरत रहेको बताएका थिए।
‘केपी कमरेडले प्रस्तुत गरेको प्रतिवेदनमा परिपूर्ण लोकतन्त्रको कुरा गर्नुभएको छ। त्यो कतै दक्षिणपन्थीको रुझान हो कि भन्ने छ,’ खनाललाई उधृत गर्दै राईले भने, ‘यसमा हामी छलफल गरेर अगाडि बढ्छौं।’
अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयअनुसार सरकार अघि बढ्न नसकेको बताए।
‘पार्टीलाई पार्टीकै रुपमा अगाडि बढाउनुपर्छ, एकतालाई मजबुत बनाउन सबैले भूमिका खेल्नुपर्यो,’ नेपाललाई उधृत गर्दै राईले भने।
नेता नेपालले केपी ओलीकै कार्यशैलीका कारणले पार्टीभित्र संकट देखिएको बताएका थिए।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि पहल भइरहेका बेला एकाएक मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र तरंग पैदा भएको हो।
अध्यादेश आएपछि नेकपा नेतृत्वले कडा आपत्ति जनाएको थियो। नेकपाको बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन माग गर्दै गरिएको हस्ताक्षरसमेत फिर्ता लिने निर्णय गरेको थियो।
तर, उक्त निर्णय भएको भोलीपल्टै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दाहाल आक्रोशित बनेका थिए।
लगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्काल बैठक स्थगित गर्न र पार्टी कमिटीको निर्णय पालना गर्न भनेका थिए। त्यसपछि प्रधानमन्त्रीले बिहीबार बोलाइएको बैठक स्थगित गरेका थिए।
पार्टी कमिटीले गरेको निर्णयअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्न सक्ने अपेक्षा गरिएको थियो। तर, बैठकमा उक्त विषयले प्रवेश नै पाएनन्।
नेकपाको स्थायी कमिटीको अर्को बैठक पर्सी आइतबार बस्दै छ। आइतबारसम्म पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिएमा अबको बैठक थप जटिलतातर्फ धकेलिन सक्ने देखिएको छ।
‘अध्यादेश फिर्ता नलिएर उहाँले अर्को बार्गेनिङ गर्न खोजेको देखिएको छ,’ वरिष्ठ नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँले चलाखी गर्दै कुनै कदम चाल्न खोज्नुभयो भने त्यो उहाँकै लागि समस्या हुन सक्छ।’