काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिनको सम्पूर्ण दायित्व राज्यले व्यहोर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका हुन्।
कोभिड-१९ को लक्षण देखिएका नेपाली नागरिकको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने अर्थमन्त्री पौडेलको भनाइ छ।
‘भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन,’ उनले भने, ‘भ्याक्सिन ल्याउन भ्याक्सिन उत्पादन गरेका देशहरूसँग कूटनीतिक संवाद जारी राखेका छौं।’
उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्ने तयारी भइरहेको जानकारी दिए।
मापदण्डअनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने उनको भनाइ छ।
त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाईंलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए।
उनले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागिपरेको बताए।