काठमाडौं– नेपाली बजारमा सुनको मूल्य १६ दिनपछि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५०० रुपैयाँ बढेर ९० हजार ५०० पुगेको छ। सोमबार ९० हजारमा कारोबार भएको थियो।
यसअघि कात्तिक २८ गते पनि ५०० रुपैयाँले बढेर ९५ हजार २०० मा कारोबार भएको थियो। त्यसपछि चार दिन तिहारको बिदाले बजार खुल्न पाएन।
३ मंसिरमा खुलेको बजारमा १०० रुपैयाँले गिरावट आएर ९५ हजार १०० मा कारोबार भएको थियो। त्यसपछि सोमबारसम्म सुनको मूल्य लगातार ओरालो लाग्यो।
आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ बढेर ९० हजार ५० कायम छ। सोमबार तेजाबी सुन तोलाको ८९ हजार ५५० मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार एक हजार १२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १५५ पुगेको छ।