काठमाडौं– रुपन्देही कोटिहवाका सूर्यप्रसाद कँडेलले काठमाडौं–बुटवल–काठमाडौं बस सेवा सञ्चालन गरेको ८ वर्ष पुग्यो। दसैं, तिहार लगायतका चाडपर्वमा हरेक वर्ष उनी दंग देखिन्थे। कारण– अन्य समयभन्दा यो समयमा यात्रु धेरै हुन्थे।
तर, यस वर्ष भने उनी निराश छन्। लामो समय बन्द रहेको यातायात सञ्चालन गर्न पाए पनि चाडबाडमा यात्रुको संख्या उत्साहजनक छैन। त्यसैले उनलाई ‘दसैं’ आएजस्तो लागेको छैन।
‘मान्छे नै छैनन्। यी हेर्नुस् न, सुनसान छ। १६ जनामात्रै यात्रु बोकेर हिँड्नु परिरहेको छ,’ उनले भने, ‘अहिलेको जस्तो तनाव कहिले नै थिएन। गाडीको किस्ता तिर्न पनि धौ धौ भइरहेको छ।’ उनले कोरोना भाइरस संक्रमणको जोखिमले यातायात क्षेत्र नराम्रोसँग प्रभावित भएको बताए।
मनिष धिमाल काठमाडौं–पोखरा बसका चालक हुन्। उनलाई पनि यसवर्ष दसैं आएको छ भन्ने कुनै आभास नै हुन सकेको छैन। संक्रमणको महामारीकै बीच पनि बस सञ्चालन गर्नु परिरहेको छ। ‘अहिले ४ हजारमा जाने ४ हजारमा आउने अवस्था छ। तेल खर्च नै उठ्दैन, गाह्रो छ। मानिस नै छैनन्,’ उनको पीडा पनि उस्तै छ।
यी दुई प्रतिनिधिमात्रै हुन्। विगतका वर्षमा दसैं नजिकिँदै जाँदा जुन किसिमको चहलपहल र उल्लास देखिन्थ्यो, त्यो छैन यसपालि। महिना दिन अघिदेखि नै उपत्यकाबाट दसैं मनाउन घर जाने मानिसको भीड बढ्थ्यो। टिकट काउन्टरमा लामो लाइन हुन्थ्यो। अग्रिम टिकट बुकिङ खुल्नेबित्तिकै गोगंबु बसपार्कमा टिकट लिन लागि ठेलमठेल हुन्थ्यो।
तर, यसपटक भने बसपार्कको दृश्य भिन्नै छ। आक्कलझुक्कल केही मानिस देखिन्छन्। घटस्थापना आइसक्दा पनि लामो दूरीका सवारीमा यात्रु छैनन्।
आधा यात्रु राखेर बस चलाउनु परेको गुनासो गर्छन् व्यवसायी। ‘अहिले दुसैं खल्लो छ। यात्रु नभएर फुसर्दिलो बस्नुपरेको छ,’ नेपालगन्ज, कोहलपुर बस काउन्टरका कर्मचारी सन्दिप गुरागाईँले भने, ‘पहिले अग्रिम टिकट काटिन्थ्यो, अहिले छैन।’
टिकट काउन्टरकै अर्का कर्मचारी जगदिश खड्का पनि पहिले दसैं आउनु अघिदेखि नै मानिसको चहलपहल हुने गरे पनि अहिले त्यस्तो अवस्था नरहेको बताउँछन्। भने, ‘बस नै नपुगेर थप्नुपर्ने अवस्था हुन्थ्यो, अहिले त्यस्तो छैन।’
११ चैतदेखि सरकारले देशैभर लकडाउन गरेपछि सार्वजनिक सवारी ग्यारेजमा थन्किएका थिए। १ असोजमा सरकारले निर्णय गरेपछि लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन्। अहिले मुस्किलले दैनिक ३ सयको हाराहारीमा गाडीहरु बसपार्कबाट छुट्ने गरेको टिकट काउन्टरका कर्मचारी बताउँछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार विगतका वर्षमा दसैंको समयमा करिब २५ लाख मानिस बसबाट घरतर्फ जाने गर्थे। ‘अहिले डेढ लाख जतिले मात्रै सार्वजनिक यातायातबाट उपत्यका छोडेका छन्,’ उनले भने।
दसैं भोलि शनिबारदेखि सुरू हुँदैछ। कोरोनाको जोखिमका कारण यस वर्ष दसैंका लागि घर जाने यात्रु निकै कम छन्। यसअघिका वर्षहरुमा यातायात व्यवसायीले महिना दिनअघि नै अग्रिम टिकट बुकिङ खुला गर्थे। अहिले त्यो अवस्था छैन।
सरकारको दोधारे चरित्रका कारण समस्या ल्याएको यातायात व्यवसायी गुनासो गर्छन्। ‘सरकारले नै दोधारे कुरा गर्छ। स्वास्थ्य मन्त्रालयले जहाँ छौं, त्यही दसैं मनाउ भन्छ। अर्काेतर्फ सरकारकै निकायहरु अग्रिम टिकट खुलाइदिनुपरो भन्छन्,’ सिटौलाले भने, ‘अन्योलको वातावरण सरकारले नै निर्माण गरेको छ।’
सरकारले स्पष्ट निर्णय नदिँदा खाली नै गाडी गुडाउनु परेको उनको गुनासो छ। उनका अनुसार उपत्यकाका विभिन्न नाका भएर साना–ठूला गरेर अघिल्ला वर्षहरुमा दैनिक ५ हजारको हाराहारीमा गाडी छुट्ने गर्थे। तर, अहिले नेपालभरमा त्यसको करिब आधामात्रै गाडी चलेका छन्। त्यसमा पनि उपत्यकाबाट दसैंका लागि छुट्ने गाडीको संख्या ४० प्रतिशतमात्रै रहेको बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल पनि कोरोना भाइरसको संक्रमणका कारण चहलपहल कम रहेको बताउँछन्। ‘अघिल्ला वर्षभन्दा यसवर्ष सवारीसाधन सञ्चालनको अवस्था न्यून छ,’ उनले भने, ‘धेरै मानिस लकडाउनअघि नै घर गइसके। कतिपय जोखिमका कारणले पनि हिँडडुल गरिरहेका छैनन्।’
महाशाखाले चाडपर्वलाई लक्षित गरेर यात्रुलाई झन्झट र दुःख नहोस् भनेर आवश्यक अनुगमन र निगरानी गरिरहेको छ। ‘हामीले सादा पोशाकमा यात्रु नै बनेर ट्राफिक प्रहरीका ८ वटा टोली परिचालन गरेका छौं,’ उनले भने, ‘यात्रुहरु भाडामा ठगिन नपरोस् भनेर अनुगमन गरिरहेका छौं।’
त्यस्तै बसपार्कलगायतका क्षेत्रमा यात्रु सहायता कक्ष राखिएको छ। टिकट काउन्टरमा कर्मचारीले परिचयपत्र र पोशाक लगाउनुपर्ने नियममा कडाइ गरिएको छ।
‘लामो दूरीको सवारीसाधनमा अनिवार्य रुपमा दुईजना चालक हुनुपर्ने भनेका छौं,’ ढकालले भने, ‘त्यो गरे–नगरेको अनुगमन गर्न हामीले प्रविधिको प्रयोग गरेका छौं।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार यस वर्षको १ असोजदेखि २८ असोजसम्म साना–ठूला यात्रुवाहक तथा मालवाहक सवारीसमेत गरेर एक लाख २४ हजार ९८१ सवारीसाधनमार्फत् ५ लाख ३६ हजार ९३ मानिस उपत्यकाबाट बाहिरिएका छन्। त्यसैगरी एक लाख २६ हजार २७० सवारी साधनमार्फत ५ लाख २ हजार ३६७ उपत्यका प्रवेश गरेका छन्। २८ दिनसम्मको तथ्यांक हेर्ने हो भने उपत्यका छाड्ने र भित्रिनेको संख्या उस्तैउस्तै छ।
गत वर्षको यही समयको तथ्यांकअनुसार ५ असोजदेखि २६ असोजसम्ममा काठमाडौं उपत्यकाबाट ३ लाख ५९ हजार ४३८ सवारीसाधनबाट ३० लाख एक हजार मानिस बाहिरिएका थिए। त्यसैगरी तीन लाख ३५ हजार ८२६ सवारीसाधनबाट १८ लाख ३५ हजार उपत्यका प्रवेश गरेका थिए।
भिडियो : गिरिप्रसाद भुसाल