आइतबार, भदौ १४, २०८३

व्यवसायीको दबाबमा सरकारले मदिरा आयात खुला गर्‍यो

मदिरा आयातमा सवैभन्दा ठूलो हिस्सा विशाल ग्रुपको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं-  सरकारले विदेशी मदिराको आयातमा लागेको प्रतिबन्ध हटाएको छ। 

असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रबक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। 

यसअघि कोरोना महामारीका कारण लकडाउन भएसँगै विदेशी विनिमय सञ्चितिमा पर्ने प्रभाव रोक्न सरकारले मदिराको आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसबेला विदेशी मदिरासँगै ५० हजार डलरभन्दा महँगा सवारी साधन, मरिच लगातका वस्तुको आयातमा प्रतिबन्ध लगाइएको थिययो।

औद्योगिक प्रयोजनका लागि आवश्यक मरिचको आयात यसअघि नै खुला भइसकेको छ भने मदिरासँगै गाडी आयात पनि खुला भएको छ। 

हाल नेपालको विनिमय सञ्चिति हालसम्मकै सबैभन्दा धेरै १४ खर्ब ३६ अर्ब ५३ करोड रुपैयाँ बराबर पुगेको छ। एकातिर विदेशी विनिमय सञ्चिति पनि बढीरहेको र अर्कोतर्फ राजस्वको आम्दानी घट्दा दसंैमा सरकारी कर्मचारीहरुलाई बोनस समेत ख्वाउन समस्या हुने देखेपछि सरकारले मदिराको आयात खुल्ला गरेको अर्थमन्त्रालयका कर्मचारीहरुले बताएका छन्। 

तर, नेपालमा दसैंका बेला मदिराको खपत निकै धेरै हुने भएकोले ब्यापारिक समूहको दबाबमा सरकारले मदिराको आयात खोलेको आरोप लागेको छ। 

मदिरा आयातमा सवैभन्दा ठूलो हिस्सा विशाल ग्रुपको छ। विशाल ग्रुप अन्तर्गत रहेको ग्लोबल ट्रेनिङ कन्सर्न नेपालमा सवैभन्दा महंगा मदिराहरुको आयातकर्ता हो। त्यसैले विशाल ग्रुपको दबावका कारण सरकारले मदिराको आयातमा लगाइएको प्रतिवन्ध हटाएको अर्थमन्त्रालय निकट स्रोतले बताएको छ। 

यसअघि सरकारमा पहुँचकै कारण विशाल ग्रुपले आयात गर्ने चकलेटमा भन्सार शुल्क १० प्रतिशतले कम भएको थियो। 

विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्सर्नबाट नेपालमा जोनीवाकर ह्विस्की लगायतका विभिन्न खालका महँगा मदिरा आयात हुन्छ। विशाल अग्रवाल र आशिष अग्रवाल यसका सञ्चालक हुन्। विशाल ग्रुपकै लगानी रहेको यती ब्रुअरी मार्फत पनि नेपालमा महँगा बियरको आयात हुने गरेको छ । 

केही साताअघि मात्रै विशाल ग्रुप अन्तर्गतका वितरकले म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा लैजाँदै गरेको अवस्थामा वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले छापा मारेको थियो।
 

प्रकाशित: Oct 11, 2020| 13:52 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्