आइतबार, भदौ १४, २०८३

सूचीकृत बेरोजगारको संख्या पाँच लाख ६९ हजार

नेपालमा सूचीकृत बेरोजगारको संख्या पाँच लाख ६९ हजार ६५३ पुगेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– नेपालमा सूचीकृत बेरोजगारको संख्या पाँच लाख ६९ हजार ६५३ पुगेको छ। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक सातामा एक लाख ५३ हजार १६२ जना बेरोजगार थपिएका छन्। 

असोज १५ गतेसम्म चार लाख १६ हजार ५९१ जना जनशक्तिले आफू बेरोजगार भएको सूची दर्ता गराएको मन्त्रालयको विवरणमा उल्लेख छ। 

नेपालमा बर्सेनि पाँच लाख जनशक्ति श्रम बजारमा थपिन्छन्। अर्थविद्हरुले भने मुलुकका करिब ४० लाख जनशक्ति बेरोजगार रहेको अनुमान गरेका छन्।

मन्त्रालयले स्थानीय तहबाट प्राप्त बेरोजगारको सूचीलाई मात्र आधार बनाएको हो। 

स्थानीय तहले बेरोजगार व्यक्तिको सूची दर्ता गराएर त्यसको विवरण मन्त्रालयमा पठाउने गरेका छन्। 

पछिल्लो समय कोरोनाका कारण रोजगारी गुमाएर वैदेशिक रोजगारीबाट फर्किएका, सोही कारण नेपालमै पनि रोजगारी गुमाएकाले बेरोजगारको सूचीमा सूचीकृत हुन आवेदन दिएका छन्। 

काम नपाएर पनि स्थानीय तहमा सूचीकृत नगराउनको संख्या यो विवरणमा संलग्न नरहेको मन्त्रालयले जनाएको छ।

अहिले बेरोजगार सूचीकृत भएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिने मन्त्रालयको तयारी छ। 

मन्त्रालयका अनुसार पछिल्लो एक सातामा १२ जना गैरनेपाली नागरिकलाई नयाँ श्रम स्वीकृति दिइएको छ। हालसम्म यस्तो श्रम स्वीकृति २५५ जनाले लिएका छन्। 

४८६ गैरनेपाली नागरिकले श्रम स्वीकृति नवीकरण गराएको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो एक सातामा ३१ जनाले श्रम स्वीकृति नवीकरण गरेको मन्त्रालयले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

सरकारले एक सातामा एक हजार ६४ जनालाई वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिएको छ।  योसँगै चालु आर्थिक वर्षमा पुनः श्रम स्वीकृति लिनेको संख्या सात हजार ८३९ पुगेको छ।  

सामाजिक सुरक्षा कोषमा हालसम्म १२ हजार ८०१ रोजगारदाता प्रतिष्ठान आबद्ध भएका छन्।  पछिल्लो एक सातामा मात्र २९ वटा रोजगारदाता प्रतिष्ठान आबद्ध भएको मन्त्रालयले जनाएको छ। 

हालसम्म सुरक्षा कोषमा एक लाख ७६ हजार ४९८ जना श्रमिक सुरक्षा कोषमा सहभागी भएका छन्।  उनीहरुबाट हालसम्म कोषमा दुई अर्ब ८१ करोड ४८ लाख रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Oct 11, 2020| 09:20 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्