शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होटल संघले भन्यो : सातामा दुई दिन बिदा दिएर घुम्ने वातावरण बनाऊ 

होटल संघले भन्यो : सातामा दुई दिन बिदा दिएर घुम्ने वातावरण बनाऊ 

पश्चिमाञ्चल होटल संघले सातामा दुई दिन बिदा दिने सरकारी प्रस्तावको स्वागत गरेको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

पोखरा– पश्चिमाञ्चल होटल संघले सातामा दुई दिन बिदा दिने सरकारी प्रस्तावको स्वागत गरेको छ। 

संघले यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ। 

संघले शुक्रबार विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यावहारिक र समय सान्दर्भिक रहेको जनाएको हो। 

सातामा दुई दिन बिदा दिने प्रस्तावका सम्बन्धमा पर्यटन मन्त्रालयले गठन गरेको कार्यदलले यसबारे अध्ययन गरिरहेको छ। 

‘संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौं,’ संघका अध्यक्ष विकल तुलाचनद्वारा जारी जारी विज्ञप्तिमा भनिएको छ।  

प्रस्ताव कार्यान्वयनमा आएमा पर्यटन क्षेत्र चलायमान हुने, व्यवसायी पलायन हुनबाट रोकिने, लाखौं प्रत्यक्ष तथा परोक्ष दक्ष श्रमिक रोजगारका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्था कम हुने र स्वरोजगार बनेका अन्य ठूलासाना व्यवसायीलाई समेत राहत पुग्ने अध्यक्ष तुलाचनले बताए।

विज्ञप्तिमा उल्लेख छ, ‘प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त संकटलाई जोगाउन विशेष भूमिका रहने हुँदा सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारसमक्ष अपिल गर्दछौं।’  

संघीय सरकारले पर्यटन तथा होटल व्यवसायलाई कोभिड–१९ को कारण अति प्रभावित उद्योग व्यवसायका रूपमा वर्गीकरण गरी व्यवसायलाई पुनर्जागरण र पुनरुत्थान गर्न एक खर्ब रुपैयाँको पुनर्कर्जा प्रदान गर्ने व्यवस्थाप्रति पनि संघले सकारात्मक प्रतिक्रिया दिएको छ। 

व्यवसाय बन्द हुँदा आम्दानी शून्य छ। गण्डकी प्रदेश सरकारले पर्यटकीय उद्योग प्रतिष्ठानका कामदारको पारिश्रमिक प्रदान गर्न, घरभाडा र अन्य सञ्चालन खर्चका कोष खडा गरी कर्जा उपलब्ध गराउने घोषणा गरे पनि झन्झटिलो प्रक्रियाका कारण हालसम्म व्यवसायीहरुले उक्त पुनर्कर्जा तथा कामदारको पारिश्रमिक भुक्तानीको सुविधा लिन नसकिरहेको संघले स्मरण गराएको छ।

सरकारद्वारा चालु बजेट वक्तव्यमा कोभिड–१९ बाट अति प्रभावित पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी पुनर्जागृत गर्न राष्ट्रसेवक कर्मचारी तथा संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देशदर्शनको व्यवस्था गर्ने भनिए पनि कार्यविधि आउन नसकेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारबाट २०७६ चैत ११ गते गरिएको लकडाउन २०७७ साउन ७ देखि अन्त्य भए पनि पर्यटन तथा होटल व्यवसाय हालसम्म पनि लकडाउनकै अवस्थामा रहेको पनि संघले उल्लेख गरेको छ।

होटल उद्योगमा खर्बाैं लगानी, आश्रित हजारौं श्रमिक र श्रमिकसँग निर्भर परिवार साथै पर्यटन तथा होटल उद्योगबाट निर्भर अन्य उद्योग व्यवसायको भविष्य अनिश्चित बन्दै गएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।

संयुक्त राष्ट्र संघ विश्व पर्यटन संस्थाले समेत विश्वका सम्पूर्ण राष्ट्रमा कोभिड–१९ का कारण पर्यटन तथा होटल व्यवसाय सबैभन्दा पहिले प्रभावित हुने र पुरानो लयमा आउन केही वर्ष लाग्ने भन्दै ती राष्ट्रहरुलाई पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको थियो। 

प्रकाशित: Oct 09, 2020| 08:40 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्