शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ०.६ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण 

०.६ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण 

विश्व बैंकले सन् २०२१ (आर्थिक वर्ष २०७७÷७८) मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– विश्व बैंकले सन् २०२१ (आर्थिक वर्ष २०७७/७८) मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ। 

विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनअनुसार कोरोना महामारी र लकडाउनले आर्थिक गतिविधिमा आएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत र २०२१ मा ०.६ आर्थिक वृद्धि हुने अनुमान गरेको हो। नेपाल सरकारले भने चालु आवमै ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

प्रतिवेदनअनुसार दक्षिण एसिया यो वर्ष हालसम्मकै मन्दीमा डुबेको छ। अनौपचारिक क्षेत्रका कामदारलाई सबैभन्दा बढी मारमा परेको छ भने लाखौं दक्षिण एसियाली चरम गरिबीमा धकेलिँदै छन्।

प्रतिवेदनले दक्षिण एसियामा अपेक्षा गरिएभन्दा तीव्र आर्थिक गिरावट हुने जनाएको छ। 

सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धि ४.५ रहने अनुमान छ। जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ। 

अघिल्ला मन्दीमा खस्कँदो लगानी र निर्यातले आर्थिक गिरावट आउँथ्यो।  तर यसपालिको अर्थिक मन्दी फरक छ। कारण निजी उपभोग, जुन परम्परागत रूपमा दक्षिण एसियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचक हो, १० प्रतिशतले घट्नेछ जसका कारण गरिबीको दर बढ्नेछ। विप्रेषणमा आएको गिरावटले पनि केही देशमा विपन्नहरूले तीव्र गतिमा आयस्रोत गुमाउने अपेक्षा छ।

‘नेपालमा कोरोनाको असर अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसलाई सबैभन्दा बढी पर्नेछ र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले भने। 

उनले उनीहरूलाई आय, सामाजिक सुरक्षा र रोजगारीसहित सहयोग गर्नका लागि शीघ्र कार्य आवश्यक रहेको उनको सुझाव छ। उनले भने, ‘साथै, भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तीय पहुँच बढाउँदै द्रुत गतिमा पुनर्लाभ प्राप्त गर्न लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनुपर्छ।’ 

नेपालमा अनौपचारिक व्यवसायमा करिब ५० प्रतिशत उद्यम पर्छन्। यी उद्यम अधिकांश श्रमजीवीहरूको कमाइको मुख्य स्रोत हुन्। यी समूहमध्ये सहरी अनौपचारिक क्षेत्रका कामदार र सहरी क्षेत्रका स्वरोजगार परिवार सबैभन्दा बढी जोखिममा छन्। 

प्रतिवेदनले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका साथै अझ बढी उत्पादक, सीप विकास र मानव पुँजीलाई टेवा पु¥याउने नीतिहरूको विकास गर्न सुझाव दिएको छ। 

दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका मुख्य अर्थशास्त्री हान्स टिमरले कोभिड–१९ ले नेपाल तथा सम्पूर्ण दक्षिण एसिया क्षेत्रमै ठूलो परिवर्तन ल्याउने र यहाँको अर्थतन्त्रमा दीर्घकालीन असर छोड्ने बताए।

उनले भने, 'विश्व अर्थतन्त्र डिजिटल प्रविधितर्फ रुपान्तरण हुँदै गएको अवस्थामा सूचना प्रविधिको क्षमताका साथै विशिष्ट पर्यटन सेवाको मागमा वृद्धि हुने सम्भावना रहेकाले विश्वव्यापी निकासी पैठारी प्रणालीमा दक्षिण एसियाको सहभागिता बढ्न सक्ने हुँदा उत्थानशील विकास भने सकारात्मक रहन सक्छ।’ 
 

प्रकाशित: Oct 08, 2020| 07:59 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्