काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालय सम्हालेपछि आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्।
१४ असोजमा मन्त्री भट्टराईले विवरण सार्वजनिक गर्दै मूल्य वृद्धि नियन्त्रण रहेको, लकडाउनको समयमा पनि आपूर्ति श्रृंखलामा समस्या पर्न नदिएको बताएका हुन्।
विवरणमा गत आर्थिक वर्ष २०७६/०७७ मा ३८ अर्ब ८७ करोड विदेशी लगानी आउने प्रतिबद्घता आएका बताए। अघिल्लो वर्ष २५ अर्ब ४८ करोड मात्रै विदेशी लगानी स्वीकृत भएको थियो। कोरोना महामारीको बीचमा पनि लगानी प्रतिबद्धता बढ्नुलाई सकारात्मक मान्नुपर्ने उनको भनाइ छ।
करिब १० महिने कार्यकालको समीक्षा गर्दै मन्त्री भट्टले उत्पादन, ढुवानी र आपूर्ति शृंखलामा विशेष ध्यान दिइएकाले संकटको समयमा पनि कुनै समस्या नआएको बताएका छन्।
उनले व्यापार घाटा पनि घट्दै गएको बताए। उनले भने, ‘निर्यात यथावत भए पनि गत वर्षको तुलनामा व्यापार घाटा १६.८ प्रतिशतले कम भएको छ।’
धान र गहुँको समर्थन मूल्य तोक्दा कृषकलाई राहत मिलेको पनि मन्त्री भट्टले बताएका छन्। उनले कृषि मन्त्रालयको सहकार्यमा कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल सिधै उपभोक्ताबीच पु¥याउने प्रयास भइरहेको पनि बताए।
मन्त्री भट्टले साना ठूला जो भए पनि कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याइएको दाबी गरेका छन्।
मन्त्री भट्टका अनुसार खाद्य संकट कतै पनि छैन। केही अघि कर्णालीका दुर्गम जिल्लामा थोरै वितरणमा समस्या आए पनि समाधान भइसकेको छ।
पेट्रोलको मूल्य अटोमेसनबाट घटबढ हुने हुँदा बढ्दा जसरी घट्दा पनि चर्चा गरिनुपर्ने उनको भनाइ थियो।