काठमाडौं– संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नति गर्न सम्झौता भएको छ।
बिहीबार पर्यटन मन्त्रालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत विमानस्थल स्तरोन्नतीको लागि सम्झौता भएको हो।
सम्झौताअनुसार संघ र प्रदेश सरकारको संयुक्त लगानीमा सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गरेर १५०० मिटर पुर्याउने, टर्मिनल भवन निर्माण र अन्य आवश्यक संरचना निर्माण हुनेछ।
विमानस्थलको स्तरोन्नती गरी सुविधासम्पन्न प्रदेशस्तरीय हब विमानस्थलको रुपमा विकास गर्ने तयारी गरिएको छ।
विस्तार र स्तरोन्नतीका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको लागि संघीय सरकारको मन्त्रिपरिषदबाट निर्णय हुने छ।
जग्गा अधिग्रहणमा हुने खर्चको ५० प्रतिशत रकम संघले प्रदेश सरकालाई अनुदानको रुपमा उपलब्ध गराउने बताइएको छ।