काठमाडौं– सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको आईपीओ भर्ने भ्याद असोज २५ गतेसम्म रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागिमात्र आवेदन दिन सक्नेछन्। कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले एक लाख ५० हजार कित्ता सेयर म्युचुअल फन्डलाई र २० हजार कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि मात्र सर्वसाधरणले निवेदन दिन पाउने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड छ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
कुनैपनि निर्जिवन बीमा कम्पनी सञ्चालनको लागि कम्पनीको चुक्तापुँजी न्यूनतम एक अर्ब हुनुपर्ने व्यवस्था बीमा समितिले गरेको छ। चुक्तापुँजी एक अर्ब पुर्याउनका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो।